पटके कर नउठाउन प्रदेश सरकारले पठायो स्थानीय तहलाई पत्र – Nepal Press

पटके कर नउठाउन प्रदेश सरकारले पठायो स्थानीय तहलाई पत्र

विराटनगर । स्थानीय तहहरुले राजमार्गमा गैर कानूनी रूपमा पटके कर उठाएपछि पालिकाहरूले उठाउने गरेको पटके कर नउठाउन प्रदेश सरकारले पत्राचार गरेको छ ।

पालिकाहरूले गैर कानूनी रूपमा पटक कर उठाएको भन्दै यातायात व्यवसायीहरूले आन्दोलनको चेतावनी दिएपछि कर नउठाउन कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै स्थानीय सरकारहरूलाई निर्देशनसहित पत्राचार गरेको हो ।

यातायात व्यवसायीहरूले केही दिनअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पटके कर उठाउन नरोकिए आन्दोलनमा उत्रिने १५ दिने अल्टिमेटमा दिएका थिए ।

यातायात व्यवसायीको उक्त मागलाई सम्बोधन गर्दै प्रदेश सरकारले असोज १५ गते बुधवार सबै स्थानीय निकायलाई पटके कर नउठाउन लिखित निर्देशन दिएको हो ।

यातायात व्यवसायी महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार स्थानीय तहले राजमार्गका सडकमा क्षेत्राधिकार प्रयोग गर्दै मनपरी पटके कर उठाएको विरोधमा यातायात व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पटके सवारी कर पूर्णरुपमा बन्द गर्न माग गरेको थियो ।

विभिन्न पालिकाहरूले राजमार्गमा कुदिरहेका सवारी साधन रोकेर पटके कर उठाउने गरिएको यातायात व्यवसायीहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर