‘ज्वाईं साब’ को प्रदर्शन रोक्न माग गर्दै उजुरी, विकास बोर्ड भन्छ- चलचित्रसँग असम्वन्धित विवाद – Nepal Press

‘ज्वाईं साब’ को प्रदर्शन रोक्न माग गर्दै उजुरी, विकास बोर्ड भन्छ- चलचित्रसँग असम्वन्धित विवाद

काठमाडौं । प्रदर्शनको संघारमा रहेका दुई चलचित्र रोक्न माग गर्दै चलचित्र विकास बोर्ड र निर्माता संघमा उजुरी परेको छ । उजुरीकर्ताले आफूसँग १० लाख रुपैयाँ ठगी गरेर ती चलचित्रमा लगानी गरिएको दावी गरेका छन् ।

नरेन्द्रबहादुर नेम्वाङ नामका व्यक्तिले दिएको उजुरीमा रकम कहिले दिएको भन्ने उल्लेख छैन । उनले मौसम फिल्म्स प्रालीका तर्फबाट चलचित्र ‘निलकाँडा’ मा आफूले पनि अभिनय गर्ने र मुनाफाको आधा पाउने शर्तमा पटक–पटक गरी १० लाख रुपैयाँ दिएको बताएका छन् ।

पछि आफूलाई बेग्लै ३५ लाखको चेक दिइएको तर उक्त चेक बाउन्स भएको उनको अर्को दावी छ । आफूले पहिले दिएको १० लाख रुपैयाँ अहिले दुईवटा चलचित्रमा लगानी गरिएको उजुरीमा जनाइएको छ ।

‘मलाई ठगी गरी सो रकमले अर्कै चलचित्र ज्वाईंसाब र देववाणी निर्माण गरी हाल प्रदर्शनोन्मुख रहेको हुँदा मेरो माथि उल्लेखित रकमको कानुन बमोजिमको व्याज तथा चरित्र अभिनय समावेश गर्ने भनि सम्झौता गरिएकोमा सो समावेश नगरिँदा मेरो ख्यातिमा पुग्न गएको क्षतिको क्षतिपूर्ती समेत दिलाई भराई चलनसमेत चलाई पाउन उक्त चलचित्रहरुको प्रदर्शन र अन्य कार्यहरु तत्काल रोकी पाउन सादर निवेदन गर्दछु ।’

आफूलाई मौसम फिल्म्स प्रालिकी मिनादेवी खड्काले दिएको चेक नसाटिएको भन्दै त्यसको प्रतिलिपी उनले संलग्न गरेका छन् । तर, यस विषयमा विकास बोर्डले बुझ्दा उजुरीमा उल्लेखित विवरणहरु वास्तविकताभन्दा फरक रहेको पाइएको छ ।

नेम्वाङले आजभन्दा ८ वर्ष अगाडि निर्माण हुन लागेको चलचित्र ‘निलकाँडा’ मा अभिनय गर्नका लागि निर्देशक दिनेशराज शर्मालाई १० लाख रुपैयाँ बुझाएका थिए । उक्त चलचित्रको आधाउधि सुटिङ पनि भएको थियो । तर, चलचित्र निर्माण पूरा हुन सकेन । निर्माताको पैसा डुबाइदिएर निर्देशक शर्मा वेपत्ता भए । १० लाख तिरेर भए पनि फिल्म खेल्ने नेम्वाङको सपना अधुरो रह्यो ।

‘निलकाँडा’ मा लगानी गरेकी मिनादेवी खड्कालाई नाताले नेम्वाङकी दिदी पर्छिन् । उनीहरुबीच पहिलेदेखिको लेनदेन कारोवार रहेको बुझिएको छ । पुरानो व्यक्तिगत लेनदेनलाई अहिले नेम्वाङले चलचित्रसँग जोड्न खोजेको विकास बोर्ड स्रोतले बतायो ।

बसन्त निरौला निर्देशित ज्वाईं सा’बमा मिनादेवीको पनि लगानी देखिन्छ । उनी चलचित्रका तीन निर्मातामध्ये एक हुन् । यद्यपि, मिनाका छोरा मौसम खड्काले चलचित्रबाट आफूहरुले हात झिकिसकेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘यो चलचित्रमा हामी संलग्न छैनौं । त्यो पुरानो लेनदेनको विषय हो । ८ वर्षपछि आएर मामाले अहिले किन उजुरी दिनुभयो थाहा भएन ।’

विकास बोर्ड स्रोतका अनुसार ‘मौसम फिल्म्स’ स्थापना हुनुभन्दा ४ वर्ष अगाडि नै उक्त लेनदेन भएको थियो । त्यसैले यो चलचित्रसँग असम्वन्धित विवाद रहेको निस्कर्ष बोर्डले निकालेको छ । ‘चलचित्रसँग सम्बन्धित नरहेको देखिएपछि थप कारवाही भएन,’ स्रोतले भन्यो ।

ज्वाईंसाब आगामी २४ असोजमा रिलिज हुँदैछ । अर्को चलचित्र देववाणी भने मंसिर ७ मा रिलिज डेट घोषणा गरिएको छ । देववाणीमा पनि मिनादेवीको लगानी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर