ब्याक स्ट्रोक पौडीका राष्ट्रिय कीर्तिमानधारी रायन – Nepal Press

ब्याक स्ट्रोक पौडीका राष्ट्रिय कीर्तिमानधारी रायन

काठमाडौं । नेपाली पौडीको पुरुष ब्याक स्ट्रोक विधामा तेन्जिन नाम्दोल रायनको लगातार वर्चस्व छ । पुरुष ५०, एक सय र २ सय मिटर ब्याक स्ट्रोकका उनी राष्ट्रिय कीर्तिमानधारी हुन् ।

हालै भएको १२ औँ राष्ट्रिय स्विमिङ च्याम्पियनसिप–एनएसए कपमा रायनले ३ स्वर्ण, एक रजत र एक कास्य जिते। एक सय मिटर ब्याक स्ट्रोकमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान पनि सुधार गरे । उनीसँग राष्ट्रिय च्याम्पियनसिप, राष्ट्रिय खेलकुददेखि दक्षिण एसियाली खेलकुदलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ ।

१८ वर्षीय रायनले स्वस्तीश्री गुरुकुलबाट यसैबाट प्लस अध्ययन पुरा गरेका छन् । आमा करि गुरुङका अनुसार रायनले सानै उमेरदेखि पौडीमा रुची राखेका थिए । ‘पौडी खेल्न मन पराउँथ्यो । ३/४ वर्षको उमेरदेखि उसले पौडी खेल्न थालेको हो’, सुटिङकी पूर्व राष्ट्रिय खेलाडी करि भन्छिन् ।

रायनले १३ वर्षको उमेरमा ५ वर्षअघि घरेलु मैदानमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुद–साग खेलेका थिए। त्यसमा उनले २ सय मिटर ब्याट स्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनी सशस्त्र प्रहरी बल–एपीएफबाट घरेलु खेलकुद प्रतियोगिता खेल्छन्। ८ औँ राष्ट्रिय खेलकुदमा उनले एउटा स्वर्ण पदक, २ वटा रजत र तीनवटा कास्य जितेका थिए । त्यहाँ उनले ५० मिटर ब्याक स्ट्रोकमा राष्ट्रिय कीर्तिमान पनि बनाए। नवौँ राष्ट्रिय खेलकुदसम्म आईपुग्दा उनी थप निख्खारिए ।

उनले त्यस संस्करणमा ३ स्वर्ण, एक रजत र दुई कास्य जिते। २ सय मिटर ब्याक स्ट्रोकमा राष्ट्रिय कीर्तिमान पनि बनाए । गत फेब्रुअरीमा उनले भारतको नयाँ दिल्लीमा भएको बिम्स्टेक अक्वाटिक च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान सुधार मात्र गरेनन्, एउटा कास्य पदक पनि जिते ।

‘म ब्याक स्ट्रोक र बटरफ्लाई दुवै खेल्छु तर ब्याक स्ट्रोकमा राम्रो नतिजा निस्किरहेको छ’, नेपाल प्रेससँग कुराकानी गर्दै रायनले भने, ‘फेमिलीको सपोर्ट अनि मेरो मिहेनतका कारण म आज यहाँसम्म आईपुगेको छु।‘ दुईवटा राष्ट्रिय खेलकुद खेलेका करिका दुवै सन्तानको खेलकुदमा रुची देखिन्छ। उनका कान्छा छोरा लन टेनिस खेल्छन् ।

‘छोराले सानै उमेरमा आफ्नो नाम राखेकोमा निकै खुशी लागेको छ । तीनवटा इभेन्टमा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा बनाएर उसले आफ्नो क्षमता देखाइसकेको छ’, करि भन्छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर