सहकारी छानबिन समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन हाेस् : सभामुख घिमिरे – Nepal Press

सहकारी छानबिन समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन हाेस् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

बुधवार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन सरकारले अविलम्व कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् । उनले प्रतिनिधि सभाले प्रतिवेदन सभामा पेश हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरुलाई ठिक ढंगले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताए ।

उनले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलीय दृष्टिकोण भन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्नसक्छ भन्ने उदाहरण प्रस्तुत गरेको पनि बताए । उनले प्रतिवेदन कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्ने बताए ।

‘यसले संसदमा परिआइसकेपछि समझदारीपूर्ण ढंगबाट समग्रतामा समेटेर दलिय दृष्टिकोण र आधारमा होइन समस्यामा केन्द्रित भएर काम गर्नसक्छ र गर्दोरहेछ भन्ने कुराको उदाहरण दिएको छ । अविलम्व सरकारले यसलाई कार्यान्वयन गर्ने कामहरु गरोस् । किनभने प्रतिनिधि सभाले सरकारलाई कार्यान्वयन गर्न प्रतिवेदन बुझाएकै दिन त्यहीँबाट हस्तान्तरण गरिसकेको स्थिति छ’, उनले भने, ‘त्यसैले अब यसलाई कार्यान्वयन गर्दै नेपालमा सहकारीलाई ठिक ढंगबाट सञ्चालन गर्ने कामको जिम्मेवारी सरकारले छिट्टै पूरा गर्न सकोस् । अबको हाम्रो दायित्व आगामी दिनमा संसदको यो निष्कर्षलाई व्यवहारिक रुपबाट कार्यान्वयन गर्ने कुराले संसदले दिएको निर्णय र निष्कर्षहरुले व्यवहारिक रुप लिनसक्छ । समस्याको समाधान गर्नसक्छ र यसको एउटा यस्तो उदाहरण बन्ने छ कि कुनैपनि समस्याहरु आए भने प्रतिनिधि सभाले हल गर्नसक्छ भन्ने कुराको प्रमाणको रुपमा जान सकोस् । सरकारले त्यो तत्परता देखाउन सकोस् ।’

उपसभामुख इन्दिरा रानाले समितिले विवेकपूर्ण र न्यायोचित रुपमा सत्यतथ्यमा आधारित भएर प्रतिवेदन ल्याएको विश्वास व्यक्त गरिन् । उनले समितिले कसैप्रति लक्षित नभइ कसैको दबाबमा नपरी प्रतिवेदन ल्याएको भन्दै विश्वास व्यक्त गरिन् ।

‘मलाई लाग्छ तपाईहरुले विवेकपूर्ण, न्यायोचित, आफ्नो कार्यादेश भित्र बसेर सत्यतथ्य जे भेट्नुभयो त्यही जस्ताको तस्तै प्रतिवेदनमा उतार्नुभयो भन्ने मलाई विश्वास लागेको छ । कुनै आग्रह, पूर्वाग्रह नराखी । कसैप्रति लक्षित नभई, कसैको दबाबमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो भन्ने मेरो विश्वास छ’, उनले भनिन्, ‘तयार गरेको प्रतिवेदनले देशभरी पीडामा भएका व्यक्तिहरु(पीडित)को आँशु पुछियोस् । कसैप्रति लक्षित नभइकन सम्बन्धित वर्गहरुको लागि जुन समिति खडा गरेका छौँ उहाँहरुको आँशु पुछियोस् भन्ने मेरो शुभकामना छ ।’

उपसभामुख रानाले प्रतिवेदनले सहकारी पीडितहरुको आँशु पुछिनुपर्ने बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर