बाढीपहिरोले ललितपुरमा मात्रै साढे ५३ करोडको क्षति, अन्य कुन जिल्लामा कति ? – Nepal Press

बाढीपहिरोले ललितपुरमा मात्रै साढे ५३ करोडको क्षति, अन्य कुन जिल्लामा कति ?

पाँच जिल्लामा सबैभन्दा बढी मानवीय क्षति, काभ्रेपलाञ्चोकमा मात्रै ६९ जनाले ज्यान गुमाए

काठमाडौं । लगातार ३ दिनको अविरल वर्षापछिको बाढीपहिरो तथा डुबानबाट ललितपुरं जिल्लामा मात्रै साढे ५३ करोड बराबरको सम्पतिमा क्षति गरेको छ । प्रहरी प्रधान कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार ललिपतुरमा मात्रै ५३ करोड ५१ लाख २५ हजार बराबरको धनमालको क्षति भएको हो ।

बाढी, पहिरो र डुवानबाट देशभरका ५१ जिल्लामा १ अर्ब १५ करोड ३५ लाख ३४ हजार बराबरको सम्पत्तिको क्षति हुदाँ ललितपुरमा मात्रै जम्मा क्षतिको ४६ प्रतिशत अर्थात साढे ५३ करोड भन्दा बढीको क्षति पुगेको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार ललितपुरमा १३ वटा पुल, ३६ वटा घर, १३५ वटा गोठ, १७६ वटा पशु चौपाया, ५ वटा प्रहरी कार्यालय र ५ वटा सरकारी कार्यालयमा क्षति पुग्दा साढे ५३ करोड भन्दा बढीको क्षति भएको पाइएको हो ।

दोस्रोमा सबैभन्दा बढी सिन्धुलीमा २२ करोड भन्दा बढीको क्षति

दोस्रोमा सबैभन्दा बढी क्षति सिन्धुलीमा २२ करोड ३४ लाख ८२ हजार बराबरको क्षति भएको छ । जसमा १३ वटा पुल, २७ वटा घर, २२ वटा गोठ, ६ वटा पशु चौपाया, एउटा प्रहरी कार्यालय र एउटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

तेस्रोमा सबैभन्दा बढी क्षति खोटाङमा २१ करोड ७१ लाख बराबरको क्षति पुगेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । जसमा ७ वटा पुल, ७२ वटा घर, १७ वटा गोठ, १८ वटा पशु चौपाया, एउटा प्रहरी कार्यालय र एउटा हाइड्रोपावरमा क्षति पुगेको छ । चौथोमा दोलखामा १० करोड ५० लाख बराबरको क्षति भएको छ । जसमा ७ वटा घर, एउटा गोठ, ३० वटा पशु चौपाया, एउटा सरकारी कार्यालय र एउटा हाइड्रोपावरमा क्षति पुगेको छ ।

यस्तै चिवतमा २ करोड ३६ लाख, नवलपरासी पूर्वमा १ करोड ५० लाख २५ हजार, रुपन्देहीमा १ करोड ७ लाख ६० हजार बराबरको क्षति भएको छ भने बाँकी जिल्लामा करोड भन्दा मूनी क्षेति भएको पाइएको हो । क्षतिको विवरणमा पुल, घर, गोठ, पशु चौपाया, उद्योग, विद्यालय, प्रहरी कार्यालय, सरकारी कार्यालय, हाइड्रोपावर लगायत रहेका छन् ।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी ५३ करोड ७५ लाख ४५ हजार बराबरको क्षति

प्रदेशगत रुपमा हेर्दा पनि काठमाडौं उपत्यकामा सबैभन्दा बढी ५३ करोड ७५ लाख ४५ हजार बराबरको क्षति भएको छ भने दोस्रामा बागमती प्रदेशमा ३५ करोड ६० लाख ९२ हजार बराबरको क्षति भएको छ ।

यस्तै कोशी प्रदेशमा २१ करोड ८९ लाख बराबरको क्षति हुदाँ लुम्बिनी प्रदेशमा १ करोड ८० लाख ५६ हजार, गण्डकी प्रदेशमा १ करोड ७२ लाख ३५ हजार, मधेश प्रदेशमा ५७ लाख ६ हजार बराबरको क्षति भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि एक रुपैयाँ बराबरको क्षति भएको छैन ।

 

पाँच जिल्लामा सबैभन्दा बढी मानवीय क्षति, काभ्रेपलाञ्चोकमा मात्रै ६९ जनाको मृत्यु

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो तथा डुवानमा परेर अहिलेसम्म २३२ जनाको मृत्यु भएको छ भने १६५ जना घाइते भएका छन् । अहिलेम्म २३ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार देशभरका विभिन्न स्थानबाट १७ हजार ३१ जनाको उद्दार भएको छ । प्रहरीका अनुसार नै अहिलेसम्म सबैभन्दा बढी मानवीय क्षति हुने ५ जिल्लामा काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं र सिन्धुपाल्चोक रहेका छन् ।

जसमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ६९ जनाको मृत्यु भएको छ भने दोस्रोमा ललितपुरमा ४४ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौंमा १७ र सिन्धुपाल्चोकमा १० जनाको मृत्यु भएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिममा भने मानवीय क्षति नभएको पाइएको छ ।

प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा बढी १३६ जनाको मृत्यु हुदाँ १०४ जना घाइते भएका छन् भने ९ जना बेपत्ता रहेका छन् । बागमती प्रदेशमा मात्रै १३ हजार ५५१ जनाको उद्दार भएको छ । यस्तै दोस्रोमा काठमाडौं उपत्यकामा मात्रै ६६ जनाको मृत्यु हुदाँ ३७ जना घाइते भएका छन् भने ९ जना अझै बेपत्ता रहेका छन् । काठमाडौं उपत्यकाबाट मात्रै २ हजार १५८ जनाको उद्दार भएको छ ।

प्रहरीका अनुसार कोशी प्रदेशमा १९ जनाको मृत्यु हुदाँ १४ जना घाइते भएका छन् भने ६ जना बेपत्ता रहेका छन् । कोशी प्रदेशमा २९० जनाको उद्दार भएको छ ।

मधेश प्रदेशमा ९ जनाको मृत्यु हुँदा ८ जना घाइते भएका छन् भने ३५ जनाको उद्दार भएको छ । लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु हुदाँ २ जना घाइते भएका छन् भने ९९७ जनाको उद्दार भएको छ । गण्डकी प्रदेशमा पनि मानवीय क्षति भएको छैन भने ९९७ जनाकै उद्दार भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *