एयर एसियाले थाल्यो काठमाडौं-बैंकक उडान, भैरहवामा पनि सुरू गर्ने – Nepal Press

एयर एसियाले थाल्यो काठमाडौं-बैंकक उडान, भैरहवामा पनि सुरू गर्ने

काठमाडौं । थाई एयर एसियाले बैंकक-काठमाडौं नियमित उडान सुरू गरेको छ । हिजो उक्त एयरलाइन्सले हिजो बुधबार दिउँसो थाईल्यान्डबाट पहिलो उडान भर्‍यो ।

एयर एसियाले हाललाई साताको तीन दिन मंगलबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने र अकुपेन्सिअनुसार दैनिक उडानको योजना बनाएको कम्पनीले जनाएको छ ।

थाई एयर एसियाले नेपालमा सिधा उडान सुरू गरेको अवसरमा आयोजित कार्यक्रममा एयरलाइन्सका सीईओ शान्तिशुक क्लोङचैयाले नेपाल-थाइल्याण्डबीचको हवाई सम्पर्क सञ्जालमात्रै नभई दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन उडानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यात्रुको सहुलियतका लागि प्रवर्द्धनात्मक भाडादरमा विभिन्न योजना बनाइएको भन्दै उनले भैरहवा, पोखरालगायत नेपालका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सेवा विस्तार गर्ने योजना रहेको र त्यसका लागि आवश्यक तयारी भइरहेको बताए ।

एयर एसियाको नेपालको लागि जनरल सेल्स एजेन्ट्स (जीएसए) युनिभर्सल ट्राभल एण्ड टुर्स हो । युनिभर्सल टुर्स एण्ड ट्राभलसँग एमिरेट्स एयर, कोरियन एयर, फ्लाई दुबईकोसमेत जीएसए रहेको छ ।

यो एयरलाइन्सले भैरहवाबाट समेत सातामा ४ उडानको अनुमति पाएको छ । एयरलाइन्सका केही प्रतिनिधि भैरहवा विमानस्थलको निरीक्षणमा जाने र छिट्टै नै त्यहाँ पनि उडान गर्ने योजना रहेको जीएसए प्रसर प्रसाईँले बताए ।

बुधबार साँझ आयोजित कार्यक्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले थाई एयर एसियाको नेपालमा सिधा उडानले पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास जनाए । हवाई कनेक्सनले दुई देशबीचको घनिष्ट सम्बन्धलाई थप बलियो बनाउन सघाउ पुग्ने उनको अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर