गाडीसहित मान्छे बगाएपछि घाघरा खोलामा पुल निर्माण माग गर्दै स्थानीयले बुझाए ज्ञापनपत्र – Nepal Press

गाडीसहित मान्छे बगाएपछि घाघरा खोलामा पुल निर्माण माग गर्दै स्थानीयले बुझाए ज्ञापनपत्र

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० का स्थानीयले घाघरा खोलामा पुल निर्माणको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीयले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाबाट पक्की पुल निर्माण गर्नुपर्नेमा होचो कजवे बनाइएको र यो हरेक दृष्टिकोणले अनपयुक्त रहेको बताएका छन् ।

‘यस घाघरा खोलाले धेरै मोटरसाइकल बगाइसकेको छ । २०८१ असोज १२ गते शनिबार बिहान दुध बोकेको गाडी खोलाले बगायो र दुईजना मानिसले ज्यान गुमाउनुपर्‍यो, ’स्थानीय सुखेन्द्र कुमार शाक्यले भने । यो घटनाले यहाँका स्थानीयबासी धेरै नै आतंकित भएको उनले बताए ।

समस्या समाधानका लागि पटकपटक विमानस्थल आयोजनासँग लिखित र मौखिक रुपमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको शाक्यले बताए । उनले यस विषयमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को वडा कार्यालयबाट पनि पहल भएको जानकारी दिए । उनले नागरिकको हित र सुविधाका लागि यशाशिघ्र पुल बनाउनुपर्ने माग गरे ।

‘यस खोलामा आयोजनाको योजना अनुसार पुल नै बन्ने कुरा थियो । तर, कसरी कुन आधारमा यस्तो कजवे बनाउनुभयो, हामीलाई थाहा भएन । मर्चवार तथा पश्चिमतिरको गाउँहरुमा बस्ने बासिन्दाहरु यही बाटो हुँदै आवतजावत गर्छन् । त्यस क्षेत्रबाट दुध, तरकारी तथा कृषि उपजहरु यही बाटो भएर भैरहवा ल्याउने गर्छन् । यो बाटोले भैरहवासँग सम्पर्कका लागि धेरै नै महत्वको राख्छ, ’नेकपा एमाले सिद्धार्थनगर वडा नम्बर १० कमिटीका अध्यक्ष समेत रहेका शाक्यले भने । जग्गा अधिग्रहणको समय बाटो नक्शा देखाउँदा पुल नै भएको उनले बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष सुर्जमन यादवले घाघरा खोलामा व्यवस्थित पुल नहुँदा घटना भएको बताए । उनले दुईजनाले ज्यान गुमाउनु निकै दुःखद रहेकोले तत्काल पुल बनाउनुपर्ने माग गरे ।

‘विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणका क्रममा तत्कालिन विमानस्थल आयोजना प्रमुख ओम शर्माले स्थानीयका घर बनाउने लगायत विभिन्न आश्वासन दिए । तर, ती आश्वासनमा मात्रै सीमित भयो, ’वडाअध्यक्ष यादवले भने ।

नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरतकुमार पोखरेलले स्थानीयबासीको माग जायज भएको बन्दै तत्काल पुल निर्माण कार्यमा ध्यान दिनुपर्ने बताए । ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी अर्यालले यो समस्या समाधान नगरी नहुने बताए ।

उनले यसमा हरेक दृष्टिकोणले सबै सरोकारवाला एकमत रहेको बताए । उनले भने, ‘यहाँहरुले उठाउनुभएको विषय विपद् व्यवस्थापनको दृष्टिकोणले संवेदनशील छ । पुल किसान, कर्मचारी, बटुवा, विद्यार्थी, पर्यटक, सबैका लागि आवश्यक छ ।’ असोज १२ गते घटना भइसकेपछि विमानस्थल प्रशासनसँग पनि कुराकानी भएको उनले बताए ।

यसबारे आफूले पर्यटनमन्त्रीसँग पनि यसबारे कुरा गर्ने प्रजिअ अर्यालले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इञ्जिनियर प्रभुराम थापाले भने, ‘समस्या समाधानका लागि अल्पकालीन रुपमा पनि के गर्न सकिन्छ रु यसबारे छलफल गरेर अघि बढ्छौं ।’

पुल निर्माणको माग गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रभुराम थापालाई ज्ञापनपत्र बुझाइएको स्थानीय विक्रम यादवले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर