भारतबाट चोरी गरी ल्याएको ४१५ ग्राम सुन,धनीलाई बुझाइयो – Nepal Press

भारतबाट चोरी गरी ल्याएको ४१५ ग्राम सुन,धनीलाई बुझाइयो

डोटी । तीन महिनाअघि भारतको राजस्थानबाट एक नेपालीले चोरी गरि ल्याएको सुन प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले बिहीबार सञ्चारकर्मीहरुको उपस्थिति र जनप्रतिनिधिहरुको रोहवरमा सुनधनी महेन्द्र सिंहलाई बुझाएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका–२ का रवि सिंह भनिने कैलाश ढोलीले भारत राजस्थानको नागौर जिल्ला, किसनगढ परवतसरका महेन्द्र सिंहको घरबाट २०८१ जेठ १४ गते चोरी गरेका थिए ।

सुन र नगद समेत चोरी गरेर नेपाल आउने क्रममा २ जना नेपालीलाई भारतको पलियाबाट पक्राउ गरी भारतमै मुद्दा चलेको थियो । भारतमा पक्राउ गरेका ती व्यक्तिहरु हाल जमानतमा छुटेका भारतीय नागरिक सिंह बताउँछन् ।

भागेर नेपाल पस्न सफल भएका कैलाशको साथबाट गत असार २१ गते सुनको डल्लो ४० ग्राम, आयताकार ३७१.१८ ग्राम, र पत्थर जडान गरिएको ४.१९ ग्रामको सुनको औंठी गरी जम्मा ४१५.३७ ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिनोद शर्माले वताए ।

चोरीमा संलग्न भनिएका कैलाश आफ्नो घरमा काम गर्ने व्यक्ति भएको बताउँदै भारतीय नागरिक सिंहले आफूहरु घुम्न गएको बेलामा डेढ किलो सुन र नगद समेत चोरी गरेर भागेको आरोप लगाए । आफ्नो चोरी भएको सुनमध्ये २ सय ग्राम भारतमा पक्राउ परेका नेपाली नागरिकहरुबाट बरामद भएको उनको भनाई छ ।

भारतबाट चोरी गरी नेपाल ल्याएएको उक्त सुन विभिन्न स्थानबाट फरक–फरक मितिमा बरामद भएको प्रहरीको भनाई छ । हाललाई बरामद भएको सुन सम्बन्धित व्यक्तिलाई बुझाइएको र बाँकी अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।

उनले प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभागको ईन्टरपोल शाखाको लिखित आदेश अनुसार उक्त सुन सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरेको जानकारी दिए ।

नेपाल प्रहरीको सहयोगमा आफूले चोरी भएको सुनको केही हिस्सा फिर्ता पाएको भन्दै भारतीय नागरिक सिंहले बाँकी सुन फिर्ता दिलाई दिन समेत आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर