कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर – Nepal Press

कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर

धरान । केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौंलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो । सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो । यसपटकको भीषण वर्षाले कोशी प्रदेशमा पनि ठूलो क्षति पुगेको छ । कोशीसहित विभिन्न नदीमा आएको बाढीले धेरैको उठिबास लगायो । कति पुल भत्किए, कति बस्ती उजाडिए । तर, नदी किनारक्षेत्रका केही सर्वसाधारणलाई भने कोशीमा आएको बाढी अवसर पनि बनेको छ ।

बराहक्षेत्र नगरपालिका-६ का वीरवल माझी कोशी नदीबाट दाउरा झिकेर परिवारको गर्जो टार्छन् । उनले वर्षायामको बेला वर्षभरि पुग्ने दाउरा कोशीबाट संकलन गर्दै आएका थिए । आफूले बालेर उब्रिएको बेचेर गुजारा चलाउने उनको पुरानै पेसा हो । यसपटकको बाढीले धेरै दाउरा बगाएर ल्याएपछि एक वर्षलाई पुग्ने गरी जोहो गरेको माझीले सुनाए । खाना पकाउनेदेखि आफूले पालेको १५ सुँगुर र पाँच भैँसीलाई कुँडो पकाउन एक वर्षका लागि दाउराको जोहो भएकामा उनी ढुक्क छन् ।

‘यो वर्ष मनसुन सकिने बेलामा बाढी आयो । घर अलि पर भएकाले केही क्षति हुन पाएन’, माझीले भन्नुभयो, ‘यस पटकको जस्तो बाढी कोशीमा आएको मैले अहिलेसम्म देखेको थिइँन । दाउरा पनि धेरै ल्यायो ।” तीन दिनको भारी वर्षाका कारण आएको बाढीले अहिले बराह क्षेत्रका धेरैजना दाउरा संकलनमा व्यस्त छन् ।

माझीजस्तै मजदुरी गर्ने अधिकांश दसैँ खर्च जुटाउन रातदिन नभनी दाउरा संकलन गरिरहेका छन् । चतराको कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन् । नदीको भेलले बगाएर ल्याएको दाउरा सङ्कलन गरेर जीविका चलाउनेको दैनिकी यतिबेला कोशी बगरमा बितेको छ । बाढीले किनाराका बासिन्दा त्रसित बने पनि माझीजस्ता कतिपयका लागि अवसर बनेको छ ।

बराहक्षेत्र-८ की सोभा चौधरी पनि कोशीबाट दाउरा निकालेर दसैँ खर्च जुटाइरहेकी छन् । नदीबाट दाउरा निकालेर बगरमा राखेको देख्दा धेरैले सजिलो ठानेपनि ज्यानको बाजी राखेर भेलबाट दाउरा निकाल्नु चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

उनले भनिन्, “सजिलो त कहाँ छ र दाउरा निकाल्न । निकै बल लगाउनुपर्छ । निकालेर राखेको दाउरा पनि कहिलेकाहीँ भेलले फेरि बगाइदिन्छ ।”

कोशीमा बाढी आएको बेला रातिदेखि किनारमा दाउरा सङ्कलन गर्नेको भीड लाग्छ । कोशीमा राम्रोसँग पौडिन सक्ने बलिया पुरुष डुङ्गा लिएर नदीको बीचसम्म पुगेर दाउरा सङ्कलन गर्छन् । महिला र पौडिन नआउनेहरु बगर छेउमा बसेर दाउरा सङ्कलन गर्छन् ।

जोखिम मोलेर कोशीबाट निकालिएको दाउरा बजारमा प्रति ट्याक्टर १२ हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको बराहक्षेत्र-८ जितपुरका आसा चौधरी बताउँछिन् । कतिपयले बाढीले बगाएर ल्याएको दाउरा एकदिनमै तीन देखि चार ट्याक्टरसम्म सङ्कलन गर्न भ्याउँछिन् ।

‘अरुबेला जङ्गलमा साइकल लिएर दाउरा खोज्न घण्टौँ लाग्छ, अहिले बाढीले ल्याएको दाउरा सङ्कलन गर्न सके वर्ष दिनलाई ढुक्क’, उनले भनिन् । पैसाको खाँचो परेको बेला दाउरा बेचेर पैसा पनि लिन सकिने उनको भनाइ छ ।

कोशी नदीको बीचमा रहेको बराहक्षेत्र ६ र ९ कोशीटप्पुमा यतिबेला दाउराको बिस्कुन सुकाए झैँ दृश्य देखिन्छ । कोशीटप्पुका बासिन्दाको आम्दानीको मुख्य स्रोत बाढीले बगाएर ल्याएको दाउरा हो । बाढीले दाउरामात्र होइन, ठूला रुख पनि बगाएर ल्याउने गर्छ । त्यहाँका युवाहरूले समूह बनाएर ठूल्ठूला रुख चिरेर राम्रो काठ निकाली बढी मूल्यमा बिक्री गर्ने गरेको कोशीटप्पुका स्थानीयवासी सन्तोष राजवंशीले बताए ।

उनले भने, ‘माथिल्लो भेगमा वर्षा सुरू हुनासाथ यहाँका स्थानीय कोशीमा दाउरा निकाल्ने तयारीमा बसेका हुन्छौँ ।’

कतिपयले नदी किनारमा हुत्तिएर आउने माछा मारेर पनि आम्दानी गर्ने गरेका छन् । सप्तकोशी नदीको बराहक्षेत्र चतरा, सिसौलीघाट, महेन्द्रनगर, राजावास, कोशी टप्पुलगायतका कोशी किनारक्षेत्रका बासिन्दाले बाँसको टाँगोको सहायताले दाउरा निकाल्ने गर्छन् । धेरैजसोले समूह बनाएर डुङ्गाको प्रयोगबाट कोशी नदीको भङ्गालोमै पसेर दाउरा निकाल्ने गर्छन् । पूर्वी पहाडी क्षेत्रबाट नदीमा बाढीसँगै बगेर आउने उत्तिस, खयर, साल, चिलाउनेको सिङ्गै रुख र हाँगाबिँगा सङ्कलन गर्ने क्रम यहाँ वर्षौंदेखि चल्दै आएको छ ।

संगीता राई/ रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर