लिङदेनको रणनीतिक ‘मुभ’ : धवलशम्शेर संगठन विभाग प्रमुखबाट हटाइए, राजनीतिक विभागमा मिश्र – Nepal Press

लिङदेनको रणनीतिक ‘मुभ’ : धवलशम्शेर संगठन विभाग प्रमुखबाट हटाइए, राजनीतिक विभागमा मिश्र

काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको पदीय जिम्मेवारीमा महत्वपूर्ण हेरफेर गरेका छन् । महामन्त्री डा. धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट हटाइएको छ ।

राणाले पार्टीभित्र ‘संस्थापनविराेधि धार’ को नेतृत्व गर्दै आएका छन् । उनी राप्रपाको भावी अध्यक्षका एक आकांक्षी पनि हुन् ।

पछिल्लो समय विभिन्न सवालहरुलाई लिएर पार्टी अध्यक्ष लिङ्देनसित उनको मतान्तर बढिरहेको छ । राणाकै सक्रियतामा ‘संस्थापनविरोधी गुट’ का बैठकहरु हुने गरेका छन् । संगठन विभाग प्रमुखले नै अध्यक्षलाई काउन्टर दिने खालका समानान्तर गतिविधि बढाएपछि सो जिम्मेवारीबाट मुक्त गरिएको राप्रपा स्रोतले बतायो ।

त्यसो त डा. राणा राप्रपाको आन्दोलन परिचालन कमिटीका संयोजक पनि हुन् । दोहोरो जिम्मेवारी कसैलाई पनि नदिने नीतिअनुरुप उनलाई संगठन विभाग प्रमुखबाट झिकिएको संस्थापन पक्षको दाबी छ । ‘उहाँले सडक आन्दोलनको पनि नेतृत्व गर्नुपर्ने भएकाले संगठन विभाग प्रमुखबाट हटाइएको हो’, अध्यक्ष लिङ्देननिकट स्रोतले भन्यो ।

अध्यक्ष राणा पक्षधरहरुले भने यसलाई ‘कारबाही’ का रुपमा अर्थ्याएका छन् ।

उनीनिकट एक नेताले भने, ‘आफूलाई भविष्यमा अप्ठेरो पार्न सक्ने भएकाले धवल शम्शेरजीलाई कमजोर पार्न खोजिएको हो । अध्यक्षले साँघुरो सोच लिएर पूर्वाग्रहीरुपमा कदम चाल्नुभयो ।’

राणाको पक्षमा अहिले डा. लोहनीसहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्यसम्पादन समिति सदस्य ऋषिबाबु परियार, विक्रम थापालगायतका नेताहरु छन् । आफ्नै राजनीतिक लिगेसी र बलियाे जनाधार पनि भएकाले राणा लिङदेनसँग नगल्ने उनीनिकट नेताहरूकमे दावी छ ।

राणाबाट खोसिएको संगठन विभागको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिइएको छ । लिङदेनका विश्वासपात्र उनी यसअघि राजनीतिक विभाग प्रमुख थिए ।

राजनीतिक विभागमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ल्याइएको छ, जुन अर्को महत्वपूर्ण निर्णय हो । स्रोतका अनुसार पछिल्लो समय अध्यक्ष लिङदेनलाई वरिष्ठ उपाध्यक्ष मिश्रले बलियो साथ दिइरहेका छन् । उनलाई राजनीतिक विभागको नेतृत्व दिइनु यसैको नतिजा भएको स्रोत बताउँछ ।

पार्टी एकीकरणमार्फत आएका मिश्रलाई संस्थापन पक्षले पूर्ण विश्वास गर्न सकिरहेको थिएन । पदीय हिसाबले अध्यक्षपछिको दोस्रो भए पनि उनले कुनै पनि ठोस जिम्मेवारी पाएका थिएनन् । त्यसो त वैचारिकरूपमा उनी डा. लोहनी र डा. राणाको कट्टरपन्थि लाइनमा देखिन्छन् । सरकारमा कुनै हालतमा जानु नहुने र सडक संघर्षलाई नै जोड दिनुपर्ने पक्षमा उनले निरन्तर अडान लिएका थिए । यद्यपि, अध्यक्ष लिङ्देनको नेतृत्वलाई भने उनले सदैव समर्थन र सम्मान दिइराखे ।

अहिले आएर आफ्ना केही अवधारणा र भिजनलाई राप्रपाले आत्मसात गरेपश्चात उनी संस्थापनसँग एकाकार भएका हुन् । ‘नवीन राप्रपा’ मिश्रको अवधारणा थियो । यही अवधारणा अन्तर्गत ४० वर्षमुनिका २० जनालाई युवालाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । एक नेताका अनुसार अहिले राप्रपाले अंगिकार गरेकोमध्ये करिब ३० प्रतिशत नीति र रणनीतिहरु मिश्रद्वारा अघि सारिएका छन् ।

लिङदेन र मिश्रबीच कायम भएको विश्वासकै फलस्वरुप मिश्रनिकट नेता उद्धव भेटवालले सूचना प्रविधि विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । साझा विवेकशील पार्टीबाट उनी मिश्रसँगै राप्रपामा आएका हुन् । पूर्वपत्रकार भेटवालको सूचना प्रविधिमा राम्रो पकड पनि छ ।

प्रशिक्षण विभागबाट रोशन कार्कीलाई हटाइएको छ । उनलाई चाँडै अर्को जिम्मेवारी दिइने सहमति रहेको स्रोतले बतायो । प्रशिक्षण विभागमा रहेका धु्रवबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाइएको छ । प्रशिक्षण विभाग हाललाई खाली राखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *