युवराज सिंहको बयानले हंगामा, अष्ट्रेलियामा दीपिकाको चप्पल लगाएर पुगेका थिए एयरपोर्ट – Nepal Press

युवराज सिंहको बयानले हंगामा, अष्ट्रेलियामा दीपिकाको चप्पल लगाएर पुगेका थिए एयरपोर्ट

काठमाडौं । भारतीय क्रिकेटर युवराज सिंह विवाहअघि थुप्रै युवतीहरुसँग अफेयरमा बसेका थिए, जसमध्ये एक थिइन् अभिनेत्री दिपिका पादुकोण । युवराज र दिपिकाको अफेयर गसिपको विषय बन्दै आएको भए पनि ठोस सबुत भने केही पनि थिएन ।

हालै युवराज सिंहले एक अन्तरवार्तामा रोचक बयान दिएका छन्, जुन निकै विवादित पनि बनिरहेको छ । उनले दिपिकाको नाम नलिइकन सन् २००७ को एउटा घटना विवरण सुनाएका छन् । यदि उनले भनेको सत्य थियो भने दीपिका युवराजप्रति निकै आशक्त थिइन् भन्ने बुझ्न सकिन्छ ।

युवराजको जीवनमाथि एउटा डकुमेन्ट्री फिल्मसमेत बन्दैछ । यही सन्दर्भमा उनले अन्तरवार्तामा आफ्नो युवा कालको घटना सम्झिएका हुन् । सन् २००७/०८ मा उनी आफ्नो टिमसँगै अष्ट्रेलिया भ्रमणमा थिए । त्यसबेला दीपिका पनि फिल्म सुटिङका क्रममा अष्ट्रेलियामै थिइन् । त्यही क्रममा युवराजले सुनाएको घटना यस्तो छः

हामी एडिलेडमा अष्ट्रेलियासँग टेस्ट सिरिज खेल्दै थियौ । मैले दुई टेस्टमा राम्रो प्रदर्शन गर्न सकेको थिइनँ । ती अभिनेत्री पनि फिल्म सुटिङका लागि एडिलेड नै आएकी थिइन् । उनी मसित भेट्न र टाइम स्पेन्ड गर्न चाहन्थिन् । एक रात हामी होटलमा सँगै बस्यौं । मैले उनलाई भनेँ कि म आफ्नो खेलमा फोकस्ड हुनुपर्छ, तिमी पनि करिअरमा फोकस्ड गर ।

भोलिपल्ट बिहान हाम्रो टीम क्यानबरा जाँदै थियो । ती अभिनेत्रीले मेरो ब्याग प्याक गरिदिइन् । होटलबाट निस्किनुअघि मैले आफ्नो जुत्ता भेटिनँ । अभिनेत्रीलाई सोध्दा उनले भनिन्- जुत्ता त मैले प्याक गरिदिएँ । अब के गर्ने त ? भन्दा मेरो चप्पल लगाएर जाउ भनिन् । मसित दुईवटा विकल्प थिए । कि खाली खुट्टा एयरपोर्ट जाने, कि अभिनेत्रीको पिंक कलरको चप्पल लगाएर जाने । मैले बाध्य भएर दोस्रो विकल्प रोजेँ ।

आफ्नो ट्रलीले चप्पललाई छेक्नै प्रयास गर्दै म एयरपोर्टसम्म पुगेँ । त्यहाँ पुग्नासाथ साथीहरुले देखिएहाले । उनीहरुले ताली बजाउँदै मेरो मजाक उडाए । मैले आफ्नो परिवन्द सुनाएँ । अर्को चप्पल नकिन्दासम्म म त्यही चप्पल लगाएर एयरपोर्ट घुमिरहेको थिएँ ।

युवराज सिंंहले कतै नि दीपिकाको नाम लिएका छैनन् । तर, उनी दिपिका नै हुन् भन्ने सहजै ठहर गर्न सकिन्छ, किनकी सन् २००७ मा आफ्नो फिल्म ‘बचना ए हँसिनो’ सुटिङ गर्न दीपिका अष्ट्रेलिया गएकी थिइन् । त्यही ताका दीपिका र युवराजको अफेयरको चर्चा चलेको थियो । उनीहरुको छोटो समयमै ब्रेकअप भयो ।

दीपिका र युवराज दुवै अहिले विवाहित हुन् । युवराजले बेलायतकी युवती हेजल किचसँग विवाह गरे । उनीहरुका दुई सन्तान छन् । दिपिकाको विवाह भारतीय अभिनेता रणवीर सिंहसित भयो । उनीहरुलाई हालै पुत्रीलाभ भएको छ ।

विवाहअघि युवराज र दीपिका दुवैका थुप्रै अफेयरहरु थिए । दीपिकाभन्दा अघि युवराजको प्रेम किम शर्मासित थियो । उनले नेहा धुपिया र रिया सेन सँग पनि चक्कर चलाएका थिए । यसैगरि दीपिका सिद्धार्थ माल्या, महेन्द्रसिंह धोनी रणवीर कपुर लगायतसँग रिलेसनसीपमा बसेकी थिइन् ।

अहिले दुवैजना आआफ्नो पारिवारिक जीवन व्यतित गरिरहँदा युवराजले दिएको यो बयानलाई धेरैले आलोचना गरेका छन् । यसले दुवैको परिवारलाई अप्ठेरो पर्ने तर्क गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर