ल घरतिर हिँडियो ! (फोटोफिचर) – Nepal Press

ल घरतिर हिँडियो ! (फोटोफिचर)

काठमाडौं । दसैंको सम्मुखमा परेको अविरल भीषण वर्षाका कारण देशैभर आएको बाढीपहिरोले ठाउँ-ठाउँका सडक अवरुद्ध भएपछि रोकिएको दसैंको रौनकमा केही उत्साह थपिएको छ ।

काठमाडौं-मुग्लिनको सडक खुलेको, मौसममा पनि सुधार आएपछि काठमाडौंबाट दसैं मनाउन जानेहरुको भिड बढ्न थालेको छ ।

काठमाडौंका नयाँ बसपार्क तथा विभिन्न टिकट काउन्टरमा घर जानेहरुले टिकट काटेर घर जानेको लर्को लागेको छ । हुन त अन्य वर्षहरुको तुलनामा टिकट बिक्री भने नभएको यातायात व्यवसायीहरु बताउँछन् । तर पनि मौसम सुधारसँगै मानिसहरु आफ्नो गाउँघरतिर प्रस्थान गरिरहेका देखिएको छ ।

नयाँ बसपार्क पुग्दा हजारौंको संख्यामा दसैं मनाउन बस चढेको देखियो । उनीहरुको मुहारमा पनि अब चाडबाड मनाउन पाइने भयो भन्ने उत्साह पनि देखिन्थ्यो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९, सानो मोटरसाइकलमा आठ हजार दुई सय ८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार चार सय ३५ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।

घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उनले भने, ‘विद्यालय बिदा सुरु भएको र काठमाडौँ छोडेर घर जानेको पनि भीड बढ्न थालेको छ । नयाँ बसपार्कमा भीड बढ्न थालेपछि हामीले सुरक्षाकर्मीको सङ्ख्या पनि थपेका छौँ ।’

त्यस्तै, सडक भत्केका स्थानमा पनि वैकल्पिक सडकको व्यवस्था गर्ने स्थानीय तहहरुले तयारी गरिरहेका छन् ।

हेर्नुस् दसैंका लागि काठमाडौं छोड्दै गरेका पाइलाहरुः

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर