एउटा नयाँ अध्ययनको प्रारम्भ: ‘मिथिला मिथक’ – Nepal Press

एउटा नयाँ अध्ययनको प्रारम्भ: ‘मिथिला मिथक’

काठमाडौं । पत्रकारितामा धर्मेन्द्र झाका नामले चिनिने धर्मेन्द्र साहित्य र अनुसन्धानका क्षेत्रमा पनि जमेका नाम हुन् । मूलतः मैथिली र नेपालीमा कलम चलाउने साहित्यमा धर्मेन्द्र विह्वलका नामले स्थापित छन् । साहित्यमा यी दुबै भाषामा दर्जन बढी पुस्तकाकार कृति प्रकाशित छन् ।

पत्रकारका रूपमा धर्मेन्द्रले विभिन्न सञ्चारमाध्यममा आवद्ध भै सम्पादकीय नेतृत्व समालिसकेका छन् । नेपाल पत्रकार महासङ्घ (२०६५-६८) को केन्द्रीय अध्यक्षको भूमिका निर्वाहको अनुभव संगालिसकेका छन् । पत्रकारिताका प्रशिक्षकसमेत रहेका झाका पत्रकारितासम्बन्धी अनेकौं पुस्तक प्रकाशित छन् ।

आज विह्वलका बारेमा थोरै कुरा । पत्रकार झा जत्तिकै महत्वपूर्ण व्यक्तित्व हुन् साहित्यकार विह्वल । तैपनि नेपाली साहित्य क्षेत्रले उनका बारेमा धेरै जाने जस्तो गर्दैन । सायद विह्वलले धेरैजसो साहित्य रचना मैथिलीमा गर्ने भएर पनि यसो भएको होला ।

केही महिनाअघि ‘शहरक भीडमे एसगर हम’ नामक प्रयोगवादी मैथिली कविता सङ्ग्रह पाठकमाझ पस्केका विह्वलको मैथिली भाषामा हालै एक अनुसन्धानात्मक कृति मिथिला मिथक प्रकाशित भएको छ । साहित्यको सबैजसो विधामा कलम चलाउने उनी मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारका रूपमा स्थापित छन् ।

तर यस पटक भने विह्वल फरक रूप र शैलीमा प्रस्तुत भएका छन् । उनको यो पछिल्लो कृति मिथिला मिथक अनुसन्धानमा आधारित छ । यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको संकलन प्रकाशित गरेको सन्दर्भलाई अपवाद माने हो भने नेपाल र यहाँ बोलिने भाषामा मिथकबारे खासै काम हुन सकेको छैन । यस्तोमा सायद यो पुस्तक यस विषयमा नेपालमै पहिलो हुनसक्छ ।

मुख्यतया नेपालको मैथिली भाषी समाजमा किंवदन्ती र विश्वासका रूपमा जीवित मान्यताहरू, संकलन गरी यस पुस्तकमार्फत प्रस्तुत गरिएका छन् ।

मिथिला र मिथक, मिथिला, सीतायण र महाभारत, मिथिला विभूति, चाडपर्व, मन्दिर, देवदेवी र पोखरी तथा जनश्रुति तथा जनविश्वास गरी ६ अध्यायमा विभाजित पुस्तकमा १११ वटा मिथक संकलित छन् ।

लेखकका अनुसार यो अध्ययन प्रारम्भमात्र हो, अन्त्य होइन । उनी भन्छन्- मिथिला क्षेत्रमा विश्वासका रूपमा यस्ता थुप्रै सन्दर्भ छन्, जसको खोजी र अध्ययन हुनु जरूरी छ । पुस्तकका भूमिका लेखक मैथिली साहित्यका अनुसन्धानकर्ता लेखक विद्वान डा. रमानन्द झा रमणका अनुसार यस्ता सन्दर्भहरूको अध्ययनले सम्बद्ध समाजको इतिहास, सभ्यता र परम्परा बुझ्न सघाउँछ ।

विद्वान रमणले मैथिली भाषामा संकलन गरिएका यस्ता उदाहरण भारतमा पनि उपलब्ध नभएको बताएका छन् ।

अध्ययन प्रक्रियाका दृष्टिले निकै जटिल मानिने मिथक स्वयंमा इतिहास मानिँदैन, तर यिनले इतिहासको अध्ययन प्रक्रियालाई भने आधार प्रदान गर्ने विश्वास गरिन्छ । पुस्तक प्रस्तुतकर्ता विह्वलले यसमा संकलित सबै सामग्री मिथक नै हुन् भन्ने दाबी गरेका छैनन् ।

उनलाई मिथक भन्ने जस्तो जे लागेको छ ती सामग्री प्रस्तुत गरेका छन । विह्वल भन्छन्- तर यो कृतिले मिथक अध्ययनका बारेमा बहस भने प्रारम्भ गर्नेछ ।

कुल ११२ (कभरसमेत) पृष्ठको यो पुस्तक मुन्नीकुमारी मिश्रले प्रकाशित गरेकी हुन् । कलाकार आकांक्षा झाले आवरण कला तयार गरेकी यो पुस्तक मूल्यका दृष्टिले ४०० रूपैयाँ केही बढी रहेको बोध गरिए पनि महत्वका दृष्टिले भने कृति उपयोगी र संग्रहणीय रहेको कुरामा बिमति हुन सक्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर