पोखरा एभेन्जर्सले मुस्ताङको लोमान्थाङबाट जर्सी सार्वजनिक गर्ने – Nepal Press

पोखरा एभेन्जर्सले मुस्ताङको लोमान्थाङबाट जर्सी सार्वजनिक गर्ने

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले आफ्नो जर्सी मुस्ताङको लोमान्थाङबाट सार्वजनिक गर्ने भएको छ ।

खेलसँगै पर्यटनलाई विकास गर्ने उद्देश्यले लोमान्थाङबाट जर्सी सार्वजनिक गर्न लागिएको एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले जानकारी दिए ।

दशैं लगत्तै लोमान्थाङ पुगेर जर्सी सार्वजनिक गर्ने तयारी गरिएको म्यानेजमेन्ट डाइरेक्टर श्रेष्ठले बताए । ‘यसअघि जहाजमार्फत जाने कुरा थियो । अहिले सडकमार्फत नै सम्भव हुने जिल्लालाई समेटेर जाने तयारी गरेका छौं । सम्भवत दशैं लगत्तै उक्त कार्यक्रम गर्छौं,’ उनले भने ।

उक्त कार्यक्रममा नसमेटिएका जिल्लामा पनि अन्य कार्यक्रममार्फत समेटिने श्रेष्ठले बताए । उनले अक्सनपछि क्यालेन्डर बनाएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘पहिलो चरणमा एक हप्ते कार्यक्रममा तय गरेका छौं । त्यसमा नसमेटिएका जिल्लालाई कुनै न कुनै रुपमा प्रतिनिधित्व गराउँछौं । अक्सनपछि क्यालेन्डर बनाएर अगाडी बढ्छौं ।’

आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलका लागि पोखरा एभेन्जर्स नेपाल टी ट्वान्टी क्रिकेट प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको छ । एभेन्जर्सको मार्की खेलाडीको रुपमा कुशल भुर्तेल छन् । ८ फ्रेन्चाइज टोली सहभागी एनपिएलको अक्सन आइतबार काठमाडौंमा हुनेछ । अक्सनमा १४२ खेलाडी सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *