‘दशैं आयो गुञ्जिरहँदा मेरै संगीत हो जस्तो लाग्दैन’ (भिडियो)
यसरी बनेको थियो ‘दशैं आयो’ गीत, गीतकारले लफडा गरेका थिए
काठमाडौं ।
चरिररि चरिररि रै..
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो
नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो
हो… दशैं आयो, हो… दशैं आयो
कोदो फुल्यो बारीमा लरि लै धानको बाला झुल्यो खेतैमा
कति राम्री देखिन्छ्यौ बरि लै जमरा र रातो टीकैमा
दशैं गीत भन्नासाथ धेरैको जिब्रोमा यी शब्दहरु झुण्डिन्छन् । दशैं आगमनको जनाउ घण्टी जस्तो यो गीत हरेकको घरघरमा बजेकै हुन्छ । यो गीत सुनेर दशैंको सम्झनामा रमाउने परदेशीहरु भेटिन्छन् । यही गीत बजाउँदै उल्लासका साथ घर फिरिरहेकाहरु पनि भेटिन्छन् ।
जनजिब्रोमा झुण्डिएको यो गीतको पूर्वकथा थाहा पाउन २०६० सालमा पुग्नुपर्ने हुन्छ ।
आजभन्दा २१ वर्ष अगाडि नेपाली फिल्म ‘मुगलान’ निर्माण हुँदै थियो । फिल्मको निर्माता थिए शेखर कोइराला र किशोर खनाल । निर्देशक थिए दिवंगत शिव रेग्मी । अफिस थियो बिजुलीबजारमा । एक दिन रेग्मीले बोलाएर संगीतकार सुरेश अधिकारीलाई भने, ‘यो फिल्ममा तिमीले संगीत गर ।’
अधिकारी संगीत गर्न तयार भए । फिल्ममा गीतहरुको विविधता थियो । दोहोरी गीत थियो, ‘गाईलाई चराउँदै’ । एकल नृत्य गीत थियो, ‘आज बाह्रहाते पटुकी’ । वियोगान्त गीत थियो, ‘पिठ्युमा स्याउलाको भारी बोकी’ । युगल गीत थियो, ‘मखमली पछ्यौरीले सानु’ र पर्व गीत थियो, ‘दशैं आयो’ ।
रेग्मीसँग अधिकारीले ‘हामी तीन भाइ’ फिल्ममा काम गरेका थिए । ‘हामी तीन भाइ’मा शम्भुजीत बाँसकोटाको संगीत थियो । सुटिङ पनि सकिएको थियो । तैपनि एक दिन रेग्मीले अधिकारीलाई भने, ‘तिम्रो केही न केही राख्नुपर्यो ।’
अधिकारीले पनि कुनै गीतको ब्याकग्राउन्ड बनाउने वचन दिए र एउटा टुक्रा बनाइदिए, ‘म धरतीको धूलो, तिमी ठूलो मान्छे बन्नु है ।’
‘तर संगीतकारमा मेरो नाम नराख्नुहोला, शम्भुजीत दाइले गरिसक्नु भएको छ । बरु गीतमा पाश्र्वको रुपमा म आफैं गाइदिन्छु । मलाई पारिश्रमिक पनि पर्दैन भनें’, अधिकारी सुनाउँछन्, ‘मैले पारिश्रमिक पनि लिएन । मलाई यसै पनि शिव रेग्मी दाइ एकदमै मनपर्ने निर्देशक ।’
रेग्मीले अधिकारीलाई भन्थे, ‘हेर सुरेश, हरेक कुराको सीमा छ, तर हामी स्रष्टा यति भाग्यमानी हौं कि सृजनाको कुनै पनि सीमा छैन । कस्तो सृजना गर्न सक्छौ, गर । यति भएपछि रामो भयो भने पनि त्योभन्दा अझै धेरै गर्नसक्छौ ।’
‘मुगलान’ रेग्मी-अधिकारीको पहिलो सहकार्य थियो । फिल्म सुपरहिट भयो २०६१ सालमा । फिल्ममा गीतहरु जति थिए, सबै हिट भए । अधिकारी सुनाउँछन्, ‘यो दशैंका गीत चाहिँ फेस्टिभ होला कि नहोला भन्ने अर्को चुनौती थियो ।’
यो गीतको म्युजिक ट्र्याकको निर्माण अधिकारीले नेपालमै गरे । गीतमा स्वर चाहिँ फेस्टिभ चाहियो । कसको स्वर फेस्टिभ छ त ? अधिकारीलाई उदितनारायण झाको जतिको फेस्टिभ स्वर अरुको लागेन । ‘अनि म उदित दाइकै स्वर चाहिन्छ भन्ने लागेपछि बम्बै गएँ । उहाँको स्वरमा रेकर्ड गरें ।’
गीतमा झाको अलावा जुना प्रसाईं, दीपानारायण झा र नारायण लामाको समेत स्वर छ । धेरै कलाकारको स्वर हुनुको मूल कारण नै फेस्टिभ गीत हो । फेस्टिभ गीत एकजनाले गाएको भन्दा समूहले गाएकै राम्रो सुनिने अधिकारी बताउँछन् । यो गीतको एरेन्ज अमूल कार्कीले गरेका थिए ।
अहिले पनि कतै यो गीत बजिरहँदा अधिकारीलाई आफूले कम्पोज गरेको गीत जस्तो लाग्दैन । भन्छन्, ‘यो गीत सुनिरहँदा मेरो कम्पोज हो जस्तो लाग्दैन । कतिपय गीत यस्ता हुन्छन्, जुन कहाँ हो कहाँ सुनेको जस्तो लाग्छ । सुनिसकेपछि ए साँच्ची, यो त मैले कम्पोज गरेको भन्ने हुन्छ ।’
यो गीत निर्माणमा तीन लाख लगानी लागेको अधिकारीको भनाइ छ । अनि यो गीतको शब्द चाहिँ अधिकारीकहाँ कसरी आइपुग्यो त ? गीतकारको नाममा लोकनाथ सापकोटा छ । अधिकारी भने यो गीत रेग्मी आफैंले लेखेर दिएको बताउँछन् । उनका अनुसार यो गीतका केही शब्द अधिकारी र रेग्मीले करेक्सनसमेत गरेका थिए ।
‘पछि के थाहा पाएँ भने फिल्म प्रदर्शन हुनु अगाडि प्रतिलिपि अधिकारको कार्यालयमा शिव रेग्मीले गीत चोरी गरेको भनेर उजुरी परेछ । यदि गीतकारमा आफ्नो नाम नराखे लफडा गर्ने धम्की आएपछि उहाँले आफ्नो नाम हटाएर लोकनाथको नाम राख्नुभएको कुरा धेरै पछि थाहा पाएँ’, अधिकारी सम्झिँदै भन्छन्, ‘शिव रेग्मी दाइले कसैको गीत चोरी गर्नुभएको थिएन । पोखरातिरको हलमा एकजना भाइले यस्तो दशैं गीत लेखेको छु भनेर शब्द दिएका थिएछन्, तर शब्द राम्रो नभएकाले दाइले कतै थन्काउनुभएछ । पछि शिव दाइले आफैंले लेखेर गीत बनाएपछि उहाँलाई ब्ल्याकमेलिङ गरियो भन्ने सुनेको थिएँ । फिल्मको प्रदर्शन नै रोकिदिन्छु भनेपछि शिव दाइले उहाँकै नाम होस् भनेर छाडिदिनुभएको रे ! अहिले पो मान्छेहरु जानाजान कन्ट्रोभर्सीमा पर्छन् । त्यसवेला कन्ट्रोभर्सीदेखि सबैजना डराउँथे ।’
अधिकारी रेग्मीलाई सम्झँदै भन्छन्, ‘उहाँलाई नामको खाँचो थिएन । सृजनामा तलमाथि गर्ने मान्छे पनि होइन । उहाँ आज हुनुहुन्न । जसले पनि बलेको आगो ताप्छन्, तर उहाँ जस्तो निर्देशक फेरि जन्मिऊन् भन्ने चाहन्छु ।’
रेग्मी-अधिकारीको सहकार्यमा यस्तो अवस्था आयो कि ‘पिठ्युँमा स्याउलाको भारी बोकी’ गीत कस्तो हुनुपर्छ भनेर दुवैबीच मतभेद भए । रेग्मीले भने, ‘यसो गरौं सुरेश, म पनि गीत लेखेर ल्याउँछु । तिमी पनि लेखेर ल्याऊ । अनि कुरा गरौं ।’
तीनचार दिनपछि अधिकारीले गीत लेखेर बिजुलीबजारको अफिस गए । उनले गीत पनि सुनाए ।
‘मैले गीतको शब्द सुनाएपछि शिव दाइले आफूले ल्याएको गीत टुक्राटुक्रा पार्नुभयो । अनि कागजको डल्लो बनाएर मेरो गीत लेऊ भनेर टुक्राहरु दिनुभयो’, अधिकारी भन्छन्, ‘उहाँ सृजनाको सम्मान गर्ने मान्छे हो । अरुको सृजना मारौं भन्ने खालको मान्छे होइन । सच्चा सृजनाकारले अरुको सृजनालाई आफ्नो सृजना कहिल्यै भन्दैन ।’