धार्मिक प्रतिवेदनले अमेरिकासँग बिच्कियो भारत, १०२ पृष्ठभित्र अरु देशबारे के भनिएको छ ? – Nepal Press

धार्मिक प्रतिवेदनले अमेरिकासँग बिच्कियो भारत, १०२ पृष्ठभित्र अरु देशबारे के भनिएको छ ?

काठमाडौं । दुई दिनअगाडि अमेरिकाले एक धार्मिक प्रतिवेदन सार्वजनिक गर्‍यो । त्यो प्रतिवेदनलाई लिएर भारत बिच्किएको छ । भारतले आफ्नो आक्रोश गोप्य रुपमा होइन, सार्वजनकि रुपमै व्यक्त गरेको छ ।

भारतको विदेश मन्त्रालयले धार्मिक प्रतिवेदनको बारेमा आलोचना गर्दै एक दिनअगाडि आफ्नो वक्तव्य सार्वजनिक गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआईएआरएफ) प्रतिवेदनमा हाम्रो धारणा प्रस्ट छ । यो संस्था राजनीतिक एजेन्डा बोक्ने पक्षपाती छ । यसले तथ्यहरुलाई तोडमोड गर्ने गर्छ र भारतबारेमा निश्चित भाष्य बनाउँछ । यो दुर्भाग्यपूर्ण प्रतिवेदन हामी अस्वीकार गर्छौं । यसले यूएससीआईएआरएफको विश्वास घुलिसात गराउँछ । हामी यूएससीआईएआरएफलाई एजेन्डा प्रेरित प्रयत्नहरुबाट अलग हुन आग्रह गर्छौं । यूएससीआईएआरएफलाई अमेरिकाकै मानव अधिकारको सम्बोधन गर्न यसको सही सदुपयोग गर्न हाम्रो आग्रह छ ।’

भारत सरकारको यो प्रतिक्रिया अहिले भारतीय तथा विश्व मिडियाहरुमा आइरहेका छन् । यसले भारत र अमेरिका जत्तिकै नजिक भए तापनि यस्ता विभिन्न कुराहरुले उनीहरुबीच दरार भएको देखाउँछ ।

भारतीय अधिकारीलाई कारबाहीको सिफारिसबाहेक के के लेखिएको छ प्रतिवेदनमा ?

१०२ पेजको प्रतिवेदनमा भारतलाई दुई पेजमा व्याख्या गरिएको छ । पेज नम्बर ३० र ३१ मा भारतबारेमा लेख्दा भारतलाई धार्मिक स्वतन्त्रता हनन भएको देशको रुपमा ‘कन्ट्री अफ पर्टिकुलर कन्सर्न’ अर्थात विशेष चासो राख्नुपर्ने देशको रुपमा दर्ज गर्न प्रतिवेदनमा माग गरिएको छ । सिफारिसमा धार्मिक स्वतन्त्रताको हनन गर्ने भारतीय अधिकारीहरुको सम्पत्ति रोक्का गर्न तथा अमेरिका प्रवेश निषेध गर्न भनिएको छ ।

अमेरिकी दूतावासलाई भारतका धार्मिक अल्संख्यकसँग सम्पर्क तथा सम्बन्ध बढाउन तथा भारत र अमेरिकाका दुई पक्षीय सहकार्यमा धार्मिक स्वतन्त्रतलाई प्राथमिकता दिन भनिएको छ ।

यस्तै भारतीय अधिकारीहरुलाई धार्मिक आस्थावानहरुलाई धरपकड अन्त्य गर्न सिफारिस गर्न आग्रह गरिएको छ ।

भारतमा भएका धार्मिक स्वतन्त्रता हननमा प्रतिवेदनले दिएका केही तर्कहरु यस्ता छन्ः

  • भारतीय जनता पार्टी (बीजेपी)को पक्षपातपूर्ण नीतिले मुस्लिम, ईसाई, दलित, शिख, यहुदी र आदिवासीलाई भएको हिंसा रोक्न सकेन ।
  • धार्मिक क्षेत्रमा काम गर्ने एनजीओहरुलाई कडा निगरानी गरियो । केही संस्थाहरु बन्द गरियो ।
  • सन् २०२३ मा ईसाईहरुमाथि ६८७ हिँसा भए ।
  • सन् २०२३ मा भारतीय सर्वोच्च अदालतले भारतको मुस्लिम बाहुल्य राज्यको स्वायत्तताको धारा ३७० खारेज गर्ने कदमलाई कायम राख्यो ।
  • भारतमा धर्मान्तरविरुद्धको कानून छ ।
  • भारतको मणिपुरमा मैतेइ समुदायबाट कुकी समुदायमा हिंसा भयो । मैतेइ हिन्दू र कुकी ईसाई हुन् । भारतीय गृहमन्त्री अमित शाहले हिंसा रोक्न सकेनन् ।
  • भारतले क्यानडामा शिख अभियानकर्मी हार्दिप सिंह निजिरलाई हत्या गर्‍यो । अमेरिकामा भएका गुरपतवान्त सिंह पान्नुनलाई हत्या प्रयास गर्‍यो ।

नेपालका छिमेकी र दक्षिण एसियाका कुन कुन देश समेटिएका छन् प्रतिवेदनमा ?

अमेरिकाको धार्मिक प्रतिवेदनमा नेपालका दुवै छिमेकी भारत र चीन समेटिएका छन् । दक्षिण एसियाका अरु तीन देश पाकिस्तान, अफगानिस्तान र श्रीलंका पनि समेटिएका छन्, तर रोचक कुरा चैँ यो छ कि धार्मिक प्रतिवेदनमा पछिल्लो समयमा विश्वभर चर्चामा रहेको बंगलादेश चैँ गयल छ ।

श्रीलंकालाई विशेष नजर लगाउनुपर्ने देशहरुको सूची अर्थात स्पेसल वाचलिस्टमा राखिएको छ । श्रीलंकासँगै जोडिएका अरु देशहरुमा अल्जेरिया, इजिप्ट, इन्डोनेसिया, इराक, कजाकिस्तान, किर्गिस्तान, मलेसिया, सिरिया, टर्की, उज्बेकिस्तान छन् । भारत, चीन, पाकिस्तान, अफगानिस्तान कन्ट्री अफ पर्टिकुलर कन्सर्न अर्थात विशेष चासो राख्नुपर्ने देशको सूचीमा छन् । सूचीमा रहेका अरु देशहरुमा अजरबैजान, बर्मा (म्यानमार), क्युबा, इरिट्रिया, इरान, निकारागुआ, नाइजेरिया, उत्तर कोरिया, रुस, साउदी अरब, ताजिकिस्तान, तुर्किमेनिस्तान र भियतनाम छन् ।


प्रतिक्रिया

One thought on “धार्मिक प्रतिवेदनले अमेरिकासँग बिच्कियो भारत, १०२ पृष्ठभित्र अरु देशबारे के भनिएको छ ?

  1. अमेरिकाको दादागिरी । यस्ता प्रतिवेदन निकाल्न अरू देश पनि स्वतन्त्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *