रमेश क्षितिजको कथा संग्रह ‘एउटा मायी नगरमा’ सार्वजनिक – Nepal Press

रमेश क्षितिजको कथा संग्रह ‘एउटा मायी नगरमा’ सार्वजनिक

काठमाडौं । साहित्यकार रमेश क्षितिजको कथा सङ्ग्रह ‘एउटा मायी नगरमा’ सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल एकेडेमीको डबलीमा पवित्रराज न्यौपानेले सङ्ग्रहको लोकार्पण गरे ।

कार्यक्रममा कथा संग्रहबारे बोल्दै लेखक कुमार नगरकोटीले यो पुस्तक नेपाली आख्यानको अनुपम उपलब्धि भएको बताए । नगरकोटीले भने, ‘यस किताबमा पढ्दै आएका कथाहरूभन्दा बेग्लै शिल्प र शैली छ ।’

किताबमा सामाजिक यथार्थदेखि अतियथार्थ, म्याजिकल रियालिज्मदेखि एआईको दुनियाँसम्मका १७ वटा फरक कथा रहेको नगरकोटीले बताए ।

लेखक क्षितिजले ४० वर्ष कविता लेखिरहँदा कथा लेखनमा आफूले जोखिम उठाएको उनले बताए ।

‘म सधैँ भीडबाट अलग रहन मन पराउने मान्छे, कथा पनि अलग लेख्ने कोसिस गरेको छु । प्रकाशक भूपेन्द्र खड्काले एक दशकदेखि नघचघचाएको भए यति चाँडै मैले यी कथा लेख्न सक्दिनथें’, उनले भने ।

समारोहमा गायक विश्व नेपाली र उनको संगीतिक समूहले रमेश क्षितिजका ‘नमाग मसँग’, ‘आफूलाई भुलिरहें’, ‘आँखाभरि हिउँचुली’, ‘अचानोलाई थाहा होला’, ‘बटुवा’, ‘दसैं सम्झें’ र किताबको शीर्ष गीत ‘एउटा मायी नगरमा’ गीतहरू प्रस्तुत गरेको थियो ।

बुकहिलले प्रकाशन गरेको १७ वटा फरक कथाहरूको यस सङ्ग्रहको मुद्रण पनि कलर थिमअनुसार आकर्षक गरिएको छ । २७२ पृष्ठको हार्ड कभर पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *