प्रदर्शनका कारण इस्लामावादको जनजीवन प्रभावित – Nepal Press

प्रदर्शनका कारण इस्लामावादको जनजीवन प्रभावित

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकले प्रदर्शनका क्रममा सडक कब्जा गर्ने प्रयास गरेपछि शनिबार पाकिस्तानको राजधानी इस्लामावादको सामान्य जनजीवन प्रभावित बनेको छ ।

पाकिस्तानको सत्तारूढ गठबन्धनमाथि धाँधलीको आरोप लागेको फेब्रुअरीको चुनावमा खानलाई उम्मेदवारी दिनबाट रोक लगाइएको थियो ।

निर्वाचनपछि खानविरूद्ध लगाइएका दर्जनौं कानूनी अभियोगहरूमा अदालतले खानलाई सफाइ दिएको छ, तर पूर्वप्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले नियमित प्रदर्शनका साथ सरकारको प्रदर्शनमाथि रोक लगाउने निर्देशनको अवज्ञा गरेको छ ।

उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको उनको पावरबेसबाट पीटीआई कार्यकर्ताहरू शुक्रबार इस्लामावादतर्फ जान थालेका छन्, तर उनीहरूलाई कन्टेनर अवरोध र अश्रुग्याँसको झोंकाको सामना गर्नुपरेको छ ।

अक्टोबर १५ मा सुरु हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनअघि सुरक्षाको प्रत्याभूति गर्नुपर्ने आवश्यकता औंल्याउँदै शनिबार साना र छरिएर रहेका काफिलाहरूले इस्लामावादमाथि दबाब दिएका थिए ।

‘मलाई हाम्रा सबै जनताप्रति गर्व छ’, खानले शनिबार दिउँसो सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको सन्देशमा भनिएको छ, ‘हिजो बाहिर (सडकमा) निस्कँदा र अविश्वसनीय बाधाहरू पार गर्दै तपाईंले अविचलित लचिलोपन र साहस देखाउनुभयो ।’

लाहोरमा शनिबार पनि विरोध प्रदर्शन भएको थियो, तर पूर्वी मेगासिटीलाई राजधानीसँग जोड्ने मुख्य मोटरमार्ग अवरुद्ध गरिएको थियो ।

यसैबीच एम्नेस्टी इन्टरनेसनलले सञ्चार कटौती र सडक अवरोधले जनताको अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, शान्तिपूर्ण भेला हुने र हिँडडुल गर्ने अधिकारको हनन गरेको जनाएको छ ।

‘यो प्रतिबन्ध पाकिस्तानमा विरोध प्रदर्शन गर्ने अधिकारमाथिको चिन्ताजनक दमनको एक हिस्सा हो’, अधिकारवादी समूहले भनेको छ ।

सामाजिक सञ्जाल एक्सलाई पनि चुनावपछि पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । मतदानको दिन मोबाइल इन्टरनेट पनि काटिएको थियो र पीटीआईले निर्वाचनमा व्यापक रूपमा अनियमितता भएको आरोप लगाएको थियो ।

खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रूपमा पाकिस्तानको नेतृत्व गरेका थिए । उनलाई पाकिस्तानको राजनीतिक ‘किङमेकर’ मानिएको शक्तिशाली सैन्य संस्थापनसँग सम्बन्ध विच्छेद भएपछि संसदमा अविश्वासको प्रस्ताव ल्याई अपदस्थ गरिएको थियो ।

यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र सशस्त्र लडाकू समूहबीच भएको झडपमा ६ सैनिक र त्यति नै सङ्ख्यामा सशस्त्र आक्रमणकारीको मृत्यु भएको सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त घटना प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको र त्यहाँ दुई पक्षबीच गोली हानाहान भएको इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) नामक सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर