कांग्रेस, एमाले र माओवादी केन्द्रको सत्तास्वार्थले मुलुक बिग्रियो: राजेन्द्र लिङदेन (भिडिओ) – Nepal Press

कांग्रेस, एमाले र माओवादी केन्द्रको सत्तास्वार्थले मुलुक बिग्रियो: राजेन्द्र लिङदेन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन् । केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका ठूला दलका नेताहरुले देशलाई बिगारेको उनको जिकिर थियो ।

झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले ठूला दलहरु सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि बताए ।

राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्षभित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने उनले बताए ।

अध्यक्ष लिङदेनले राजनीतिमा भ्रष्ट र बेइमानहरुको बिगबिगी रहेको पनि बताए ।

 

उनले भने, ‘२०४६ सालदेखि अहिलेसम्म यो झन्डै ३५ वर्षको समयमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष रुपमा १८ महिना शासन चलाएकोबाहेक सबै समय यो देशमा सरकार कसले चलाएको छ ? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए पनि कसले चलाएको छ देश ? यही कांग्रेस, यही एमाले, यही माओवादीहरुले देश चलाएका छन् र बितेर गएका गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनमोहन अधिकारीबाहेक त्यही केपी ओली, त्यही प्रचण्ड र त्यही शेरबहादुर देउवाको नेतृत्वमा यो देश चलिराखेको छ । ३५ वर्षमा देशको अवस्था कहाँबाट कहाँ पुग्यो ? उनीहरु जसरी सत्ताका लागि प्रमुख दलहरु अथवा पहिलो र दोस्रो दल मिल्न सक्छन्, तर तपाईको भविष्यको लागि, देशभित्र नै रोजगारी सृजना गर्न उनीहरु मिल्न सक्दैन थिए । युवाहरुलाई यही देशमा बस्नसक्ने वातावरण बनाउन सकिने थिएन होला । म आज दाबी साथ भन्छु- राप्रपा जस्तो पार्टीले देश चलाउन पाउने हो भने ५ वर्षभित्रमा देख्न सकिने र १० वर्षभित्रमा भोग्न पाउने वातावरण निर्माण गर्न सकिनेछ । विदेश जाने सबैलाई रोक्न सकिनेछ त भन्दिनँ, तर ५ देखि १० वर्षभित्रमा ४०-५० हजार तलबका लागि कुनै पनि युवाले विदेश जान नपर्ने परिस्थिति यही देशमा निर्माण गर्न सकिन्छ र हाम्रा कुनै पनि विद्यार्थीहरुले राम्रो विषय पढ्न, गुणस्तरीय शिक्षाका लागि विदेश जाने होइन । आज जसरी बंगलादेशमा डाक्टर पढ्न हाम्रा विद्यार्थीहरु गइराखेका छन् । नेपालको डाक्टर पढ्न बंगलादेशी र भारतीयहरुलाई नेपालमा व्यवस्था मिलाउन सकिन्छ ।’

देश राजनीतिले नै बनाउने भन्दै अध्यक्ष लिङद्नले थपे, ‘आज देश बनेको छैन । राजनीतिमा भ्रष्ट र बेइमानहरुको बिगबिगी छ र आज भ्रष्टाचारीहरुले देशमा सिन्डिकेट खडा गरेर राखेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *