लिस्नु युवा क्लबले जित्यो झरना रनिङ शिल्डको उपाधि – Nepal Press

लिस्नु युवा क्लबले जित्यो झरना रनिङ शिल्डको उपाधि

रुपन्देही । ३६औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि लिस्नु युवा क्लबले हात पारेको छ ।

शनिबार भएको फाइनलमा आयोजक झरना स्पोर्ट्स क्लबलाई १-० गोल अन्तरले पाखा लगाउँदै उसले ३ लाख ३१ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हो ।

उपविजेता बनेको झरना स्पोर्ट्स क्लबले १ लाख ८१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो ।

खेलको पहिलो हाफ गोलरहित रहेको थियो । दोस्रो हाफको १३औं मिनेटमा झरनाका खेलाडीले फल गरेपछि लिस्नुले पेनाल्टीको अवसर पाएको थियो । अवसरलाई गोलमा परिणत गर्दै लिस्नुका कप्तान एन्जल महर्जनले गोल गरी टीमलाई जीत दिलाए ।

सेमिफाइनलिस्ट गोर्खा ब्वाइज र जनज्योति एफसीले नगद २५-२५ हजार पुरस्कार पाए । १६ टीम सहभागी खेलमा रुपन्देहीबाहेक कपिलवस्तु, पश्चिम नवलपरासी र स्याङ्जाको वालिङबाट समेत टीमको सहभागिता रहेको थियो ।

खेलमा झरनाका जितेश गुरुङ सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । उनले नगद १५ हजार पुरस्कार पाए ।

त्यस्तै झरनाका कुलदीप क्षेत्रीले बेस्ट डिफेन्डरको उपाधि चुमे । खेलमा लिस्नुका विशाल केसी उत्कृष्ट गोलरक्षक बने । झरनाका सन्तोष खत्री उत्कृष्ट मिडफिल्डर भए भने लिस्नुका बुद्धि पुन उत्कृष्ट प्रशिक्षक भए ।

खेलमा लिस्नुका सुशील राईले उत्कृष्ट स्ट्राइकरको पुरस्कारसहित नगद १० हजार हात पारे । खेल अवधिभरि अनुशासनमा रहेर खेलेकोमा योङ स्टार मडाहाले फेयर टीमको पुरस्कार पायो ।

२०२७ सालमा स्थापना भएको झरनाले हरेक वर्ष फुटबल प्रतियोगिता गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *