प्रसूति गृहमा मनोस्वास्थ्य ओपीडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु (भिडियो) – Nepal Press

प्रसूति गृहमा मनोस्वास्थ्य ओपीडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु (भिडियो)

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ । अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपीडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।

आइतबार सेवा शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनिवार्य रुपमा दिनुपर्ने दुई सेवा अस्पतालले सुरु गर्नु राम्रो पक्ष रहेको बताए ।

उनले भने, ‘मनोस्वास्थ्य ओपीडीले गर्भवती तथा महिलालाई सहयोग पु¥याउनेछ । नवजात शिशुहरुको परीक्षण सेवा पनि अत्यावश्यक सेवा हो ।’

मन्त्री पौडेलले यी सेवा व्यवस्थापनका लागि आवश्यक साधन स्रोतको व्यवस्थापनमा कमी हुन नदिने आश्वस्त पारे ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले गर्भधारण गरेका वा सुत्केरीमा समस्याको जोखिम बढी भएकाले मनोस्वास्थ्य ओपीडी सेवा सुरु गरिएको बताए ।

उनले भने, ‘गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याहरुले महिलाको मात्रै नभएर बच्चाको समेत शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकासमा नकारात्मक असर पर्छ । यस्तो अवस्थामा देखिने समस्यालाई समयमै पहिचान गर्न सकिएमा समाधान गर्न सकिन्छ ।’

डा. अधिकारीले नवजात शिशुमा हुनसक्ने ‘मेटाबोलिक डिसअर्डर’ पहिचान गरी समयमै उपचार गर्न र नवजात शिशुको मृत्युदर घटाउन सेवा सुरु गरिएको बताए ।

अस्पतालले गत साउनदेखि हालसम्म २०५ जना शिशुमा यो परीक्षण गरिसकेको छ । नवजात शिशु जन्मेको केही दिनभित्र गरिने ‘ब्लड स्पट टेस्ट’लाई ‘न्यु बर्न स्क्रिनिङ टेस्ट’ भनिन्छ । उक्त जाँचबाट नवजात शिशुमा हुनसक्ने विभिन्न प्रकारका वंशाणुगत समस्या पत्ता लगाउन सकिन्छ ।

उक्त परीक्षणबाट हाल ६ वटा वंशाणुगत रोग पहिचान गर्न सकिने र भविष्यमा थप साधनस्रोत थपेर अरु रोगका लागि पनि सेवा सञ्चालन गर्ने लक्ष्य छ । परीक्षणमा पोजिटिभ आएका शिशुका लागि तुरुन्त आवश्यक उपचार सुरु गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *