सुत्केरी स्याहार्ने ज्ञान्ती पासवान वडा सदस्य भएपछि घर चलाउन धौधौ, श्रीमानले पनि छाडे – Nepal Press

सुत्केरी स्याहार्ने ज्ञान्ती पासवान वडा सदस्य भएपछि घर चलाउन धौधौ, श्रीमानले पनि छाडे

‘अचेल काममा कसैले बोलाउँदैनन्, श्रीमानले अर्को विहे गरेर बसेका छन्’

चितवन । जनप्रतिनिधि नहुँदासम्म निकै बेफुसर्दी थिइन् ज्ञान्ती पासवान । उनी भोजभतेरमा भाँडा माझ्नेदेखि सुत्केरीका कपडा धोइदिने र तेल लगाइदिनेसम्मका कामहरु गर्थिन् । तर, अहिले उनको भूमिका र दिनचर्या फेरिएको छ ।

पासवानलाई गत स्थानीय चुनावमा नेपाली कांग्रेसले दलित वडा सदस्य उम्मेदवार बनायो । चितवनको खैरहनी-१० मा चुनाव पनि जितिन् । तर, वडा सदस्य भएपछि उनलाई घर चलाउन धौधौ परिरहेको छ ।

पासवानका अनुसार अरुका घरमा दैनिक ज्यालामा काम गर्दा महिनाको १२/१३ हजार कमाइ हुन्थ्यो । त्यही आम्दानीले आमाबुबा र छोराछोरीको खर्च धान्दै आएकी थिइन् । श्रीमानले पनि भरथेग गर्थे ।

सत्य बोल्न नडराउने कडा मिजासकी पासवान वडासदस्यमा निर्वाचित भएपछि श्रीमानले छोडेका छन् । उनले अर्को विहे गरेर बसेको पासवानले बताइन् ।

‘अर्को बिहे गरेर बसेका छन् । ३ महिनाको छोरा पनि पाइसकेको थाहा पाएको छु । उजुरी गरुँ भनेर खोज्न जाँदा कता–कता कोठा सर्छन् । अब त वास्ता गर्न पनि छोडिदिएँ’, उनले भनिन् ।

पानी चुहिएर भत्किन लागेको घर बनाउँदाको ऋण ७० हजार तिर्नै बाँकी रहेको ज्ञानीले सुनाइन् । अहिले वडाबाट उनलाई मासिक ९ हजार रूपैयाँ भत्ता आउँछ । यो रकम ऋण तिर्दैमा ठिक्क हुने उनले बताइन् ।

वडा सदस्य भएपछि पहिले गरिरहेको काममा पनि उनलाई बोलाउन छाडेका छन् ।

उनी भन्छिन्, ‘पहिले काम गरेको ठाउँमा मलाई लुगा धुन, तेल लगाइदिन बोलाउनुस् न भन्दा वडा सदस्यलाई बोलाउन लाज लाग्छ भन्छन् । मलाई काम गर्न लाज लाग्दैन भन्दा पनि बोलाउँदैनन् । अहिले त घर चलाउनै नसकिने भयो ।’

ज्ञान्तीका अनुसार उनीसँग अहिले जम्माजम्मी ७ सय रूपैयाँ छ । एक महिनाअघि बारास्थित दिदीको घर जाँदा दिदीले दिएको दुई हजार रूपैयाँबाट जोगाएको उनले बताइन् ।

‘बाराबाट फर्किएर आधा किलो मासु छोराछोरीलाई खुवाउँदा, यताउता गर्दा १३ सय रूपैयाँ सकियो,’ उनले भनिन्, ‘सिंगै दशैँ मनाउनुपर्ने छ । बाँकी ७ सयले दशैँमा दिदीको घर जाने बाटोखर्च चलाउने सोचेको छु ।’

बाआमा लिएर दिदीको घर दशैँ मान्न जाने उनको योजना छ । पोहोर दिदीले आफ्नो छोरीहरूलाई सानो भएको लुगा दिएर पठाएकी थिइन् । त्यही जोगाएर राखेको र दशैँमा लगाइदिने उनी बताउँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *