सडक अवरोधले चाडबाडको मुखमा यातायात व्यवसायीलाई संकट, मजदुरलाई झनै सकस – Nepal Press

सडक अवरोधले चाडबाडको मुखमा यातायात व्यवसायीलाई संकट, मजदुरलाई झनै सकस

बीपी राजमार्गमा फसे ६ सय मजदुर

विराटनगर । बाढी र पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा यातायात क्षेत्र थलिने अवस्थामा पुगेको छ । दशैँ-तिहारजस्ता मुख्य चाडबाडमा यात्रुको चाप हुने र यसको आम्दानीले वर्षभरि धान्नुपर्नेमा जताजतै राजमार्ग अवरुद्ध हुँदा संकट छाएको व्यवसायी बताउँछन् । यसको प्रत्यक्ष असर यातायात मजदुर र आश्रितसम्मलाई परेको छ ।

बाढी र पहिरो र डुबानले क्षति पुर्‍याएका धेरै सडक अझै सञ्चालनमा छैनन् । आएका पनि राजमार्ग एकतर्फीमात्रै चलिरहेका छन् ।

संघीय राजधानी काठमाडौंलाई जोड्ने महत्वपूर्ण राजमार्ग बीपी राजमार्गलाई पहिरो र बाढीले धेरै क्षति पुगेको छ । दशैँ अगाडि यो राजमार्गमा एकतर्फी रूपमा पनि चलाउन नसकिने सडक विभाग बताउँछ । अहिले यो बाटोमा वैकल्पिक मार्ग प्रयोग भइरहे पनि गाडी चलाउन समस्या रहेको व्यवसायीहरूले बताएका छन् । आम्दानीबेगर किस्ता भने तिरिरहनुपर्ने भन्दै उनीहरूले सरकारबाट राहतको अपेक्षा गरेका छन् ।

यसैगरी बल्खुदेखि सिस्नेरी हुँदै उपत्यकाबाट बाहिरिने सडक पनि पूर्णरूपमा सञ्चालनमा ल्याउन समस्या देखिएको छ ।

काठमाडौंबाट निस्कने नागढुंगा-मुग्लिन सडक खण्ड आंशिक सञ्चालनमा आए पनि सबैभन्दा बढी जोखिम यहिँ छ । कतिखेर पहिरो झर्ने त्राहीत्राहीमा यात्रा गर्नुपर्ने बाध्यता छ । यो सडक पनि पूर्णरूपमा सञ्चालन नहुँदा काठमाडौं आउजाउ गर्ने सवारी अवरोध भइरहेको छ ।

सडकहरूको अवस्थाले यो दशैँमा उपत्यकाबाट बाहिर जाने ३० प्रतिशतमात्रै सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आउने सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलानाथ खनालले बताए ।

उनले भने, ‘बाढी र पहिरोका कारण सबै भन्दा बढी यातायात व्यवसायी र मजदुर प्रताडित भएका छन् । एकतर्फी रूपमा सडक सञ्चालनमा आए पनि बाटोका कारण एक दिनमा पुग्ने सवारी दुई दिनमा मात्रै गन्तव्यमा पुग्छन् । यात्रा आवधि बढ्दा लागत पनि बढ्छ । सवारी साधनमा त क्षति पुग्यो पुग्यो, मुख्य समयमा सवारी चलाउन नपाउँदा वर्षभरी घाटामा जाने अवस्था आयो ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले घाटामा गइरहेको यातायात व्यवसायमा झन् मार परेको बताउँछन् ।

स्वाँरले भने, ‘हामीले दिने सेवा पनि दशैँमा नै मुख्य हो । यस पटक दशैँमा सेवा दिन सक्ने अवस्था छैन । धेरैजसो राजमार्गमा बाढी र पहिरोका कारण भत्किएका छन् ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका २९२ वटा समिति र कम्पनीहरू आबद्ध छन् । ती समिति र कम्पनीमार्फत साना ठूला गरेर ३ लाख सार्वजनिक यातायातका सवारी सञ्चालनमा रहेका छन् ।
यस्तै ७५ हजार हाराहारी मालवाहक सवारीका साधन ती कम्पनी र समितिमा आबद्ध भएर सञ्चालनमा रहेका छन् ।

बाढी र पहिरोका कारण ती सवारीसाधन दशैँमा पनि थन्किने अवस्थामा रहेको स्वाँरले बताए ।

सार्वजनिक यातायात केन्द्रीय महासंघमा २ सय ८२ वटा यातायात कम्पनीहरू आबद्ध छन् । ती कम्पनीमार्फत करिब ५ हजार सवारी साधन उपत्यका भित्र सञ्चालनमा रहेका छन् । उपत्यका बाहिर करिब ४ हजार सार्वजनिक यतायता सवारी साधन सञ्चालनमा रहेका छन् । ती सवारीका साधनले दशैँमा यात्रुको चाप धान्दै आएका छन् ।

मजदुरका आफ्नै दु:ख

बाढी र पहिरोका कारण अहिलेसम्म देशभर ५ जना यातायात मजदुरको मृत्यु भएको छ । सडक अवरुद्ध हुँदा बीपी राजमार्गमा मात्रै ६ सय जना मजदुर फसेको र उनीहरू उद्धारको पर्खाइमा रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले बताए । पहिलो प्राथमिकता नै मजदुरको उद्धार रहेको भन्दै काभ्रेको नार्के आँपटारी, र कालढुंगाको पहिरोमा उनीहरू फसेको बताएका छन् ।

‘गाडी छाडेर हिँड्न मिलेन । बीपी राजमार्गमा ४९२ भन्दा बढी गाडी फसेको छ । काठमाडौंबाट बाहिर चल्ने सवारी १० प्रतिशतमात्रै छ । चाडबाडको बेला सवारी चल्न नसक्दा धेरैजना बेरोजगार छन्’, उनको भनाइ छ ।

उनका अनुसार बीपीमा चल्ने गाडीका मात्र २ हजार मजदुर कार्यरत छन् । यस्तै बल्खुदेखि सिस्नेरी सडकमा ८ सय बेरोजगार छन् । संगठनका अनुसार काठमाडौं-महेन्द्रनगर-धनगढी चल्ने सार्वजनिक यातायातमा ७ सय, धनगढी-नेपालगन्ज चल्ने रुटमा ५ सय पोखरमा चल्ने रुटमा ४ सय, दाङ चल्ने रुटमा ३ सय मजदुर कार्यरत छन् ।

बाढीले बगाएको तथा डुबान गरेको सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ खुर्कोट बजार क्षेत्र ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानले ३४ वटा राजमार्गको ८०५ ठाउँमा पहिरो गइ सडक अवरुद्ध भएको थियो । जसमा ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सुचारु गरिसकिएको मन्त्रालयले जनाएको छ ।

अझै ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालनमा समस्या भएको मन्त्रालयका अधिकारी बताउँछन् । बाटो सञ्चालन गर्नका लागि कतिपय स्थानमा पहिरो पन्छाउनु साथैकटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम् पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज राखेर यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ ।

सडक तथा पुलतर्फ अस्थायी यातायात चालू गर्न साढे दुईदेखि ३ अर्ब रूपैयाँ लाग्ने मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । क्षतिग्रस्त सबै पूर्वाधार स्थायीरूपमा पुन:स्थापना गर्न २० देखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

कुन कुन छन् अझै सञ्चालनमा आउन नसकेका राजमार्ग ?

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार अरनिको राजमार्गको ५ किलोमिटर क्षेत्र अझै सञ्चालनमा आउन सकेको छैन । बाढीले लार्चा कोदार खण्डको ५ किलोमिटरमा क्षति पुर्‍याएकाले लार्चामा ह्युम पाईप/पेनस्टक पाईप र लिपिङ्मा बेलीब्रिज जडान गरी अस्थायीरूपमा बाटो खुलाउने तयारी छ ।

बीपी राजमार्गको चौकीडाँडा-कालढुंगा सडक खण्डको १८ किलोमिटर सडक अवरुद्ध भएकोमा करिब १२ कीमी सडक पूर्णरूपमा बगेका कारण बीच-बीचमा गाडीहरू रोकिएका छन् रोकिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट-राकथुमको ८० कीमी खण्डका धेरै ठाउँमा पहिरो गई सडक समेत वासआउट भएकोले दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । कान्ति राजपथको घपेली-बगुवा १३ किमि र बागमती पुलको दाँया-बाँया मकवानपुर र ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइ रहेको छ । मेची राजमार्ग रमिते-फिदिम ८ किमि, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम पनि भइरहेको छ ।


प्रतिक्रिया

One thought on “सडक अवरोधले चाडबाडको मुखमा यातायात व्यवसायीलाई संकट, मजदुरलाई झनै सकस

  1. संकटको बेला छ । अकस्मात ठूलो बाढी पहिरो आयो । धनजनको ठूलो क्षती भयो । यो हुनुमा जलवायु परिवर्तन एक र जथाभावि चलाईएका क्रशर दोश्रो कारण देखिन्छन् । अब केही क्रशरसँग असुली धन्दा चलाई रहेका मिडिया सरकारले केही गरेन भनेर दैनि कोलाहल मच्चाईरहेका छन् । सरकार असिमित हुँदैन । स्रोतसाधन, जनशक्ति सीमित नै हुन्छ । सरकारले जे पनि गर्न सक्ने भए नेपाल अमेरिकाभन्दा धनी र हुन्थ्यो ।ठूलो क्षति बिस्तारै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *