रोहिणीमा ४५० जनाले पाए जग्गाधनी प्रमाण पूर्जा – Nepal Press

रोहिणीमा ४५० जनाले पाए जग्गाधनी प्रमाण पूर्जा

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा ४ सय ५० थान जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । रोहिणी गाउँपालिका ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

आइतबार रोहिणी गाउँपालिका र नापी कार्यालय रुपन्देहीद्वारा रोहिणी–३ धकधईस्थित श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित समारोहमा ४५० थान लालपूर्जा वितरण गरिएको अध्यक्ष यादवले बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १६ जनालाई लालपूर्जा वितरण गरेका थिए । बाँकी लालपूर्जा आयोजकले वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री अधिकारीले वर्षौदेखि लालपूर्जा नपाएका जनतालाई लालपूर्जा दिन योजनाबद्ध तरिकाले लागिपरेको बताए । उनले लालपूर्जाबिहीन जनताले लालपूर्जा पाए भन्ने सन्देश दिन अभियानको रुपमा अघि बढेको बताए ।

मन्त्री अधिकारीले उखडा र बहालबिटौरी जग्गामा बसेका नागरिक पनि लालपूर्जाबाट बञ्चित भएको बताए । उनले भने, ‘जग्गाधनी प्रमाणपूर्जा दिन कानून परिवर्तन पनि गर्नुपर्ने अवस्था छ । कतिपय कानून बनाउन बाँकी छन् । कतिपय नागरिक वर्षौदेखि पर्ती जग्गामा बस्नुभएको छ । तर, उहाँहरुको आफ्नै नाममा जग्गा छैन । हामी त्यसको पनि व्यवस्थापन गर्ने गरी लागेका छौं ।’

मन्त्री अधिकारीले रुपन्देहीसहित तराईका धेरै जिल्लामा भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासी रहेका र उहाँहरुलाई छिटोछरितो रुपमा जग्गा दिनका निम्ति लागिपरेकोे बताए । उनले भने, ‘जनताले एकातर्फ लालपूर्जा नपाएको र अर्कोतर्फ सरकारको राजस्व गुमेको छ । यी सबै कुराहरुलाई मिलाउनको निम्ति योजनाबद्ध तरिकाले लागेका छौं, दशैैपछि आयोग गठन गर्छौं । ’

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले आफू निर्वाचित भएपछि जनतालाई वाचा गरेअनुसार काम गर्दै आएको बताए । उनले विगतदेखि गर्दै आएको प्रयास आज सफल भएको बताए । उनले भने, ‘गाउँब्लकमा जग्गा रहेका नागरिकहरुको लालपूर्जा नहुनु जटिल समस्याको रुपमा नै छ । यो समस्या समाधान हुँदैछ ।’

लालपूर्जा पाएपछि रोहिणी–३ लक्ष्मीनगरका हृदयराम यादवले खुसी व्यक्त गरे । उनले भने, ‘लालपूर्जा नपाउँदा धेरै समस्या थियो, पाएपछि धेरै खुसी लागेको छ । लालपूर्जा दिलाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *