जब बजार अनुगमन टोलीसँगै उद्योग मन्त्री भण्डारी कालीमाटी पुगे – Nepal Press

जब बजार अनुगमन टोलीसँगै उद्योग मन्त्री भण्डारी कालीमाटी पुगे

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आइरहेको छ । विभागले १महिनाको अवधिमा १हजार बढी ठाउँमा अनुगमन गरिसकेको छ ।

विभागले आइतबार काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल बजारमा अनुगमन गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पुगे ।

अनुगमनका क्रममा अस्वाभाविक महँगी र व्यापारमा अनियमितता देखिएपछि केहि पसलहरूलाई सिल गर्न मन्त्री भण्डारीले निर्देशन दिएका थिए ।

व्यापारीले खरिद मूल्यभन्दा अत्यधिक नाफा राखेर सामान बिक्री वितरण गरेको पाइएको छ भने, बिल बिनै कारोबार गरेको पाइएको छ । केहि तरकारी र मासुजन्य पसलहरूमा सरसफाइमा पटक्कै ध्यान नदिएको पाइएको छ ।

माछा मासु अव्यवस्थित रूपले फ्रिजिङ गरिएको तथा सरसफाइ ध्यान नदिएको पाइएको हो । अनुगमन टोली जाँदा व्यापारीहरू पसल बन्द गरी भाग्ने र अनुगमन टोलीलाई असहयोग गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

बजारमा भेटिएका उपभोक्ताहरूले खरिद मूल्य भन्दा १० गुणा बढीसम्म नाफा राखेर बिक्री गरी उपभोक्ता ठग्ने कार्य भइरहेकाले यस्ता व्यापारीलाई कारबाही गर्न माग गरेका छन् ।

मन्त्री भण्डारीले गुनासो आएका ठाउँहरूमा अनुगमन गरी तत्काल कारबाही गरिरहेको बताए ।

उनले वर्षाका कारण सिर्जित प्राकृतिक विपद्को पीडा भोगिरहेका उपभोक्ता नठग्न व्यवसायीहरूलाई आग्रह गरे ।

उनले अस्वाभाविक ढंगले कानुन विपरीत व्यवसाय सञ्चालन गर्ने व्यापारीलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन समेत दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर