पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को बेल्जियममा विमोचन – Nepal Press

पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को बेल्जियममा विमोचन

बेल्जियम । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को बेल्जियममा विमोचन गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतले पुस्तकको सामूहिक विमोचन गरेका हुन् ।

प्रवासमा रहेर विभिन्न पेशा, व्यवसाय र सामाजिक काम गर्दै आफ्नो जीवन चलाउँदै आएकाहरूको अनुभवलाई पत्रकार गौतमले आफ्नो पुस्तकमा उतारेका छन् ।

पुस्तक विमोचन गर्दै राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा ठूलो सहयोग पुग्ने बताए । पुस्तक युरोपका नेपालीहरूको दस्ताबेजको रूपमा रहने भएकाले पनि इतिहास बन्ने उनको धारणा रहेको थियो ।

पुस्तकमार्फत विदेशमा रहने नेपालीहरूको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरूले कसरी विश्वसामु फैलाई रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवाद दिए ।

पुस्तकको बारेमा बोल्दै लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा पुस्तकमा समावेश गरिएको बताए । करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति उहाँले आभार व्यक्त गरे ।

पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरूको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति ,पारिवारिक अवस्था, वैदेशिक संघर्षलगायतका वास्तविक कथा समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूले धेरै चुनौतीका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरूका सत्य कथाहरू पुस्तकमा समावेश भएको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तकमाथि टिप्पणी गर्दै यसले युरोप भित्रका अधिकतम देशका विभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गर्नु उत्कृष्ट काम भएको भन्दै यो पुस्तक अभिलेखका रूपमा रहने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर