पूर्वराजाको भुटान भ्रमण ऐतिहासिक, परिणाम भविष्यमा देखिँदै जानेछन्ः राजेन्द्र लिङदेन – Nepal Press

पूर्वराजाको भुटान भ्रमण ऐतिहासिक, परिणाम भविष्यमा देखिँदै जानेछन्ः राजेन्द्र लिङदेन

‘नेपालको राजसंस्थाप्रति छिमेकीको दृष्टिकोण फेरिँदैछ, भारतको जानकारी र स्वीकृतिबिना यो भ्रमण सम्भव थिएन’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हालै ४ दिन लामो भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् । यो भ्रमणमा भुटानले शाहलाई अघोषितरूपमा ‘राजकीय सम्मान’ नै दिएको राजावादीहरूको दावी छ ।

नेपाल र भुटानबीच पछिल्लो समय कुटनीतिक सम्बन्ध खासै प्रगाढ छैन । भुटानी शरणार्थी समस्याले गर्दा दक्षिण एसियाका दुई राष्ट्रको सम्बन्ध चिसिएको थियो । सम्बन्ध सुधारका लागि दुवैले देशबाट कुनै पनि ठोस पहल भएको पाइँदैन । दुवै देशबाट उच्चस्तरीय भ्रमण आदानप्रदान ठप्पप्राय छ । यस्तोमा भुटानले महत्व दिएर पूर्वराजालाई निम्त्याउनु र राजपरिवारले न्यानो आतिथ्य प्रदान गर्नुलाई अर्थपूर्णरूपमा हेर्न सकिन्छ ।

पूर्वराजाको यो भ्रमणलाई मुलधारका राजनीतिक दल र नेताहरूले खासै चासो दिएका छैनन् । यद्यपि, राजावादी शक्ति र घटकहरु निकै उत्साहित देखिन्छन् । उनीहरूले भुटानमा नेपालका पूर्वराजाले उच्च सम्मान पाएको भन्दै यसले पनि राजसंस्थाको औचित्य पुष्टि हुने बताइरहेका छन् ।

देशको प्रमुख राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पूर्वराजाको यो भ्रमणले दूरगामी अर्थ राख्ने बताउँछन् । उनले नेपालको राजसंस्थाले अन्तर्राष्ट्रिय समुदायमा कति महत्व राख्छ भन्ने प्रष्ट भएको दावी गरे ।

नेपाल प्रेससँग कुरा गर्दै लिङदेनले भने, ‘यो भ्रमण आफैंमा ऐतिहासिक र दूरगामी महत्वको हो । दलहरूले नजरअन्दाज गर्न खोजे पनि नेपालमा राजसंस्थाको महत्व र आवश्यकता दिनानुदिन बढिरहेको छ । छिमेकीहरूले समेत नेपालमा राजसंस्थाको अभाव महसुस गर्न थालेको अर्थमा यसलाई लिन सकिन्छ ।’

लिङदेनसँग गरिएको थप प्रश्नोत्तर

– भुटान भारतको सामरिक एवं कुटनीतिक नियन्त्रणमा रहेको राष्ट्र हो । त्यहाँको कुटनीति सैद्धान्तिकरूपमा भारतले नै चलाउँछ । भुटानले भारतको जानकारी विना नेपालका पूर्वराजाको भ्रमण चाँजोपाँजो मिलाएको होला ?

भारतको जानकारीविना यो भ्रमण सम्भव छैन । भुटानको परराष्ट्र मामला भारतले हेर्छ भन्ने सार्वजनिक विषय नै हो । भुटानको राजाले औपचारिकरूपमा नै नेपालका राजालाई निमन्त्रणा गर्नु, त्यसप्रकारको राजकीय सम्मान र स्वागत हुनु एवं राजाको भ्रमण हेर्न परराष्ट्रमन्त्रीलाई नै तोक्नु, यो सबै भारतको जानकारी र सम्मतिबिना भयो होला भनेर भन्न सकिन्न ।

– भारतकै चाहना र योजनामा यो भ्रमणको तारतम्य मिलाइएको पनि हुन सक्छ ?

अनुमान त जे लगाए पनि हुन्छ । तर, भारतको जानकारी र स्वीकृतिविना यो भ्रमण सम्भव भयो होला भन्ने लाग्दैन ।

– पूर्वराजा बारम्बार भारत भ्रमणमा पनि जाने गर्नुभएको छ । त्यहाँ पनि राम्रै स्वागत र सम्मान पाएको देखिन्छ । के उहाँले राजसंस्था पुनर्वहालीका लागि अन्तर्राष्ट्रिय समर्थन खोजिरहनुभएको हो ?

त्यस्तो भन्दा पनि नेपालको राजसंस्थाप्रति छिमेकीहरूको नीतिमा परिवर्तन आउँदै गएको संकेतको रूपमा यसलाई लिनुपर्छ भन्ने मलाई लाग्छ ।

– यसलाई नेपालका गणतन्त्रवादी पार्टीहरूले कसरी बुझुन् भन्ने तपाईं चाहनुहुन्छ ?

म त कुनै विदेशी वा छिमेकीले भनिदिने भन्दा पनि नेपालका राजनीतिक दलहरूलाई निरन्तररूपमा आग्रह गरिराखेको छु, राप्रपाले आग्रह गरिराखेको छ, कि हिजो तपाईंहरूले यो देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता ल्याउँदाखेरि सुविचार नै राख्नुभएको थियो होला । राम्रै हुन्छ र देश अझै उन्नत व्यवस्थातर्फ जान्छ भन्ने नै सोच्नुभएको थियो होला । तर, हाम्रो यतिका वर्षको अभ्यासले के प्रमाणित गर्‍यो भने यो गलत भएछ । यो बाटोले एउटा टुंगोमा पुग्दैन भन्ने सबैलाई थाहा भइसक्यो । त्यसैले सबै दल र शक्तिहरुका बीचमा नयाँ सम्झौता गरेर राजादेखि माओवादीसम्म अटाउने नयाँ व्यवस्था निर्माण गरेर जानु जरुरी छ । नवीन समझदारी अहिले देशको आवश्यकता हो । कुनै दुर्घटना र द्वन्द्वविना नयाँ व्यवस्था निर्माण गरेर जानु आवश्यक छ । त्यसका लागि म दलहरूलाई आग्रह गर्छु ।

– नेपाल र भुटानबीच कुटनीति सम्बन्ध खासै प्रगाढ छैन । सरकारी स्तरबाट औपचारिक भ्रमण आदानप्रदान नभइरहेको अवस्थामा पूर्वराष्ट्रप्रमुखले सरकारलाई जानकारी नगराइकन यसरी भ्रमण गर्नु र राजनीतिक भेटवार्ताहरू गर्नु कुटनीतिकरूपमा प्रश्नयोग्य हो कि होइन ?

एकप्रकारले अलगरूपमा रहेको राजसंस्थालाई भुटानको राजसंस्थाले आमन्त्रण गर्नु र जानुलाई अन्यथा मान्नुपर्ने र कुटनीतिक मर्यादाविपरीत भन्नुपर्ने कुनै कारण छैन ।

– तर, यो भ्रमणको राजनीतिक अभिष्ट त पक्कै होला नि होइन ?

राजनीतिक अर्थ त यसले राख्छ राख्छ । तर, उहाँले राज्यको वा सरकारको प्रतिनिधत्व गर्नुभएको होइन । उहाँलाई व्यक्तिगतरूपमा आमन्त्रण गरियो । यसलाई सरकारसँग जोडेर हेर्नुपर्ने आवश्यकता छैन । यसको राजनीतिक अर्थ र महत्व त स्वभाविकरूपले नै रहन्छ नि ! यसको प्रभाव र परिणामहरू भविष्यमा देखिँदै जानेछन् । यो दूरगामी महत्व राख्ने भ्रमण हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर