युएईमा महिलालक्षित राहदानी नवीकरण र स्वास्थ्य परीक्षण सेवा, एक दिनमा १ सय भन्दा धेरै लाभान्वित – Nepal Press

युएईमा महिलालक्षित राहदानी नवीकरण र स्वास्थ्य परीक्षण सेवा, एक दिनमा १ सय भन्दा धेरै लाभान्वित

आबुधावी । पासपोर्ट हराएर भिसा लगाउन नपाएकी चितवनकी रमिला गौतमले नयाँ राहदानी बनाउन यस पटक निकै सास्ती भोग्नुपर्यो । भिसा लगाउने बेला राहदानी नभेटिए जागिर गुमाउनु पर्ने डरले रमिला चिन्तामा थिइन् ।

राहदानी हराएको पुलिस रिपोर्ट बनाएकी रमिलाले फारम आफैँ भर्न नपाउँदा हैरान भएकी थिइन् । जेनतेन आफैँले भरेको फारमको मिति डिसेम्बर महिनाको थियो ।

जनवरीमा भिसा सकिन लागेकोले राहदानी नआए उनको रोजगार गुम्ने डर थियो । त्यसैले तोकिएको समयमा राहदानी नआए रोजीरोटी गुम्ने डरले उनी निकै चिन्तित थिइन् ।

तर गएको साता नेपाली दूतावास आबुधावीले फेसबुक पेजमा राखेको सूचना उनलाई उनका साथीले म्यासेज गरी पठाए । त्यो थियो नेपाली दूतावासले अत्यावश्यक जरुरी भएका महिलाहरूको लागी मात्रै भनेर सार्वजनिक बिदाको दिन आइतबार राहदानी काउन्टर खुल्ला राख्ने र सोही समय स्वास्थ्य सचेतना सहित महिलाहरूको स्वास्थ्य परीक्षण गर्ने ।

रमिला खुशी हुँदै झन्डै २ सय ५० किलोमिटर उत्तरपूर्वी राज्य रसअलखेमाबाट आइतबार आबुधावीमा रहेको नेपाली दूतावास आएर राहदानी नवीकरणका लागि आवेदन दिइन् ।

रमिला जस्तै दूतावास भन्दा झन्डै ४ सय किलोमिटर टाढा साउदी सीमा शिला बाट आएकी झापाकी अनुरगामा लामा र वीराटनगरकी कुश्मा चौधरी मात्रै होइन युएईका विभिन्न राज्यबाट आएका १ सय भन्दा धेरै महिलाले राहदानी नवीकरण मात्रै गरेनन् ,स्वास्थ्य परीक्षण समेत गराए ।

नेपाली दूतावासका स्थानीय कर्मचारी राहदानी आवेदकको फारम इनरोल्मेन्ट गर्दै थिए भने श्रम काउन्सिलर दिनबन्धु सुवेदी श्रम सम्बन्धी जानकारी , तथा युएईले ल्याएको आममाफी लगायतका विषयमा जानकारी दिइरहेका थिए । तथा परराष्ट्र सेवाका कर्मचारीहरूले राहदानी नवीकरणको प्राविधिक पक्षमा काम गरिरहेका थिए ।

आबुधावीमा रहेको लाइफलाइन अस्पतालका चिकित्सकद्वय प्राची भट्टराई र विकास यादवले महिलाहरूका लागी मानसिक समस्या तथा महिनावारीका क्रममा देखिने समस्या र समाधानका विषयमा जानकारी तथा प्रस्तुति दिएका थिए ।

दूतावासले पछिल्लो समय सेवा सुविधालाई विस्तार गरी महिलाहरूलाई समेत लक्षित गरेर अलग्गै कार्यक्रम राखेकोमा सहभागी धेरैले दूतावासको प्रशंसा गरे भने कतिपयले दूतावास सँग सहकार्य गरेर आफूहरूले पनि कम्पनीका क्याम्प क्याम्पमा सचेतना फैलाउन सहयोग गर्ने बताए ।

सार्वजनिक बिदाको दिन समेत सेवा प्रवाह गर्ने उद्देश्यले दूतावासले आइतबार महिलाका लागि मात्र सेवा दिएको दूतावासका द्वितीय सचिव भूपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यक्रममा उपस्थित सय जना भन्दा बढी महिलाले स्वास्थ्य जाँचसँगै वित्तीय साक्षरता सम्बन्धी जानकारी लिएको दूतावासले जनाएको छ । बित्तिय साक्षरताको सहजीकरण दुतावासकी उपनियोग प्रमुख रञ्जिता दाहाल र श्रमका विषयमा श्रम काउन्सुलर सुबेदीले गरेका थिए ।

पछिल्लो समय आबुधावीमा रहेको नेपाली दूतावासले राहदानी हराएका, बिग्रिएका, म्याद सकिएका तथा नवीकरण गर्न नपाएर समस्यामा परेकाहरूलाई प्राथमिकतामा राखी अतिरिक्त सेवा प्रवाह गरिरहेको नेपाली दूतावासकी नियोग उप-प्रमुख दाहालले नेपाल प्रेसलाई बताइन ।

दूतावासका तर्फबाट राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा उपनियोग प्रमुख दाहाल, श्रम काउन्सिलर सुबेदी, श्रम सहचारी अविद अन्सारी, द्वितीय सचिव घिमिरे, तिल सुनार, राहदानी फाटका डिल्ली शर्मा, वीमलेश्वर मिश्र, स्थानीय जनसम्पर्क अधिकृत इरफान आलम, रजी अन्सारी, र दस्तुर सिङ बस्नेत, हरेराम अर्याल, बालकृष्ण रन्जित लगायतले राहदानी नवीकरणको सेवामा सहजीकरण गरेका थिए । दसैंको संघारमा आयोजित कार्यक्रममा उपस्थितले शुभकामना आदान-प्रदान समेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर