एनपीएलमा कसरी भित्रिन्छन् ३२ विदेशी खेलाडी ? – Nepal Press

एनपीएलमा कसरी भित्रिन्छन् ३२ विदेशी खेलाडी ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आइतबार ८ वटा फ्रेन्चाइजले १०-१० खेलाडी खरिद गरेका छन् । टीमले ‘ए’ क्याटोगोरीका ३, ‘बी’ क्याटोगोरीका ४ र ‘सी’ क्याटोगोरीका ३ जना खेलाडी भित्र्याएका छन् ।

‘ए’ क्याटोगोरीमा बेस प्राइस १० लाख र अधिकतम मूल्य १५ लाख, ‘बी’ क्याटोगोरीमा बेस प्राइस ५ लाख र अधिकतम मूल्य १० लाख तथा ‘सी’ क्याटोगोरीमा बेस प्राइस २ लाख र अधिकतम मूल्य ५ लाख रुपैयाँ तोकिएको थियो । १० जना खेलाडी १५-१५ लाख रुपैयाँमा बिक्री भएका छन् । एकभन्दा बढी टोलीले दाबी गरेका खेलाडीहरुको हकमा गोलाप्रथाबाट विजेता टुंगो लगाइएको थियो ।

यसअघि ८ वटा फ्रेन्चाइजका ८ मार्की खेलाडी तय भएको थियो । मार्की खेलाडीले जनही २० लाख रुपैयाँ पाउनेछन् । १६ सदस्यीय टीममा अब ४ जना विदेशी खेलाडीको कोटा बाँकी छ । विदेशी खेलाडीको कोटामा एक जना एसोसियट टोलीको खेलाडी अनिवार्य गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले विदेशी खेलाडीहरु भित्र्याउन सम्बद्ध फ्रेन्चाइजहरुले नै समन्वय गरिरहेको बताए ।

‘विदेशी खेलाडी कसलाई, कतिमा ल्याउने भनेर फ्रेन्चाइजले नै तय गर्नेछन् । ल्याउने टुंगो भएपछि उनीहरुले एनपीएल आयोजकसँग समन्वय गर्नेछन्‘, लामाले भने ।

उनका अनुसार विदेशी खेलाडीलाई ल्याउन कुनै रकमको सीमा तोकिएको छैन । फ्रेन्चाइजले आफ्नो आर्थिक क्षमताअनुसार विदेशी खेलाडी रोज्न र ल्याउन सक्छन् ।

‘उहाँहरु पारिश्रमिकका विषयमा सम्बद्ध खेलाडीसँग कुराकानी गरेर निर्णय गर्नुहुन्छ । हामीले रकमको सीमा तोकेका छैनौं’, उनले भने ।

विदेशी खेलाडीको वर्क पर्मिटका विषयमा फ्रेन्चाइजहरुले क्यानसँग समन्वय गर्ने उनले बताए । विदेशी खेलाडीहरु कहिलेसम्म भित्र्याइसक्ने भन्ने निर्णय भइसकेको छैन । लामाले त्यसका लागि छलफल गरेर मिति तोकिने बताए ।

खेलाडीमाथि ५ करोड ९२ लाख, कर काटिन्छ कि काटिँदैन ?

आइतबार भएको अक्सनमा ८ वटा फ्रेन्चाइजले कुल ५ करोड ९२ लाख रुपैयाँ खर्च गरेका छन् । अक्सनमा एउटा फ्रेन्चाइजले ९० लाख रुपैयाँको सीमामा रहेर खेलाडी भित्र्याउनुपर्ने तोकिएको थियो ।

टीमहरुले सोहीअनुसार खेलाडी खरिद गरेका हुन् । खेलाडीलाई लगाइएको रकम कर काटेर पाउँछन् कि पूरा पाउँछन् भन्नेबारे कुनै निर्णय भएको छैन । क्यान प्रवक्ता लामाले फ्रेन्चाइजहरुसँग छलफल गरेर टुंगोमा पुग्ने बताए ।

‘कर काटेर दिने कि नकाटी पूरा रकम दिने भन्ने विषय छलफलकै क्रममा छ । यो विषय फ्रेन्चाइजहरुसँग बसेर टुंगो लगाइनेछ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *