कोशीमा पुल र सडकमा मात्र साढे ५ अर्ब बढीको क्षति, मर्मतका लागि तत्काल १ अर्ब चाहिने (भिडिओ) – Nepal Press
मनसुनको कहर

कोशीमा पुल र सडकमा मात्र साढे ५ अर्ब बढीको क्षति, मर्मतका लागि तत्काल १ अर्ब चाहिने (भिडिओ)

विराटनगर । असोज ११-१२ को वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण कोशी प्रदेशमा पुल र सडकमा मात्रै साढे ५ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रकोपले १०१ वटा सडक, १५ वटा पुल र २५ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

१४ जिल्लाका सडकमा ४ अर्ब ६३ करोड ५० लाख रूपैयाँ बराबरको क्षति पुगेको मन्त्री भूपेन्द्र राईले बताए । उनले ४१ वटा सडक, दुईवटा सडक पुल र आठ वटा झोलुङ्गे पुलमा पूर्ण क्षति भएको जानकारी दिए । त्यसैगरी १ अर्ब २ करोड ५० लाख रूपैयाँ बराबरका ६० वटा सडक, १५ पक्की पुल र १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको राईले जानकारी दिए ।

उनले बाढी र पहिरोले पूर्ण तथा आंशिक क्षति पुगेका संरचनाको पुनः निर्माण गर्न ५ अर्ब ६६ करोड लाग्ने बताए । क्षति पुगेका सडक, पक्की पुल र झोलुङ्गे पुल अस्थायीरूपमा सञ्चालन गर्न तत्काल १ अर्ब २ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।

पुलतर्फ उदयपुर र खोटाङमा सबैभन्दा बढी ६४ करोड ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

पक्की पुलतर्फ भोजपुर-धनकुटामा ५५ करोड, पाँचथर-ताप्लेजुङमा ३६ करोड, सोलुखुम्बु-ओखलढुङ्गामा २८ करोड ५ लाख, झापा-इलाममा १५ करोड, सङ्खुवासभा-तेह्रथुममा ५२ लाख र सुनसरी-मोरङमा २७ लाख रुपैयाँ बराबरको पूर्ण तथा आंशिकरूपमा क्षति भएको छ ।

मन्त्री राईले क्षति पुगेका केही सडक र पुल मर्मत थालिएको र दशैँअघि नै सञ्चालनको तयारी रहेको बताए ।

सडकतर्फ सबैभन्दा बढी इलाममा क्षति छ । त्यसपछि खोटाङ जोड्ने पक्की पुल र झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ । दसैँअघि नै यी दुई जिल्लामा सडक सुचारु गर्न पहल भइरहेको उनले सुनाए ।

मन्त्री राईले कोशी प्रदेशका केही योजना निर्माणमा ढिलाइ भइरहेकोले सार्वजनिक सुनुवाइ गरी ठेक्का रद्द गर्नेबारे निर्णय लिने तयारी भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर