तीन दिनभित्र एउटै गीतमा एलिनाले बनाइन् २० वटा टिकटक, अभिनय पनि उत्पात ! – Nepal Press

तीन दिनभित्र एउटै गीतमा एलिनाले बनाइन् २० वटा टिकटक, अभिनय पनि उत्पात !

एलिना र विष्णुका 'टिकटक दाेहाेरी'ले फ्यानहरुलाई चस्का

काठमाडौं । फुर्सद धेरै भएर हो कि के हो, गायिका एलिना चौहानले टिकटकमा आफ्नो सक्रियता ह्वात्तै बढाएकी छन् । पछिल्ला दुई दिनमा मात्रै उनले २० वटा टिकटक भिडिओ पोस्ट गरिन्, त्यो पनि एउटै गीतमा ।

गत शनिबार एलिनाको नयाँ गीत ‘चल्दैन मनमर्जी…’ युट्युबमा रिलिज भएको थियो । ६ लाख ५५ हजार फलोअर्स रहेको उनको आफ्नै च्यानलबाट यो गीत अपलोड भएको हो । प्रेममा घात पाएकी प्रेमिकाको आक्रोश एवं बदलाभाव पोखिएको गीत निकै हृदयस्पर्शी छ र धेरैले मन पराइरहेका छन् ।

गीतका केही शब्द यस्ता छन्ः

म पत्थर फोडेर उम्रेको पिपल
चुँडाउन सोचे झैं सजिलो छैन ।
झुक्न त धेरै झुकिसकें म
तर याद गर म भाँचिएको होइन
सिन्दूरले सिउँदोमात्र रंगिने रैछ
जिन्दगानी रंगाउन माया चाहिँदो रहेछ
तिमी नबने मदन ममात्रै भन किन मुना बनूँ ?
मलाई पाउको धूलो सोच्नेभा तिम्लाई किन देउता भनूँ ?
चल्दैन मन मर्जी, अब हुन्न मर्जी
छोरी मान्छे खेलौना त होइन होइन सर जी !

गीतको भिडिओ पनि दमदार छ, जसमा पुष्प खड्का र स्मारिका ढकालले अभिनय गरेका छन् । निकेश खड्का निर्देशित भिडिओमा श्रीमानले श्रीमतीमाथि गरेको घरेलु हिंसा र त्यसका विरुद्ध श्रीमतीले लिएको एक्सन देखाइएको छ । यो म्युजिक भिडिओको भ्यूज सुरुमा सुस्त भए पनि अहिले नेपालमा युट्युबको म्युजिक ट्रेन्डिङमा उक्लिएको छ ।

अब कुरा गरौं एलिनाको टिकटकको । हुन त उनी आफूले गाएको प्रायः गीतहरुमा टिकटक बनाएर हाल्ने गर्छिन्, तर आफैंले लगानी गरेको भएर हो कि यो ‘चल्दैन मनमर्जी…’ गीतमा उनले अति धेरै लगाव देखाएकी छन् । गीतका अंश-अंशमा अभिनय बनाएर घन्टाघन्टामा पोस्ट गरिरहेकी छन् ।

एलिनाले बनाएका टिकटकहरु पनि हिट भइरहेका छन् । टिकटक भिडिओमा उनको भंगीमा र अभिनय कुनै सिद्धहस्त कलाकारको भन्दा कम देखिँदैन । यी भिडिओहरुलाई धेरैले तारिफ नै गरेका छन् । कतिपयले चाहिँ उनको वास्तविक जीवनसँग पो मेल खान्छ कि भनेर आशंकासमेत गरेका छन् ।

‘सिन्दूरले सिउँदोमात्र रंगिने रैछ, जिन्दगानी रंगाउन माया चाहिँदो रैछ…’ बोलको लाइनमा अनुहारमा चोटपटकको मेकअपसहित रुँदै बनाएको भिडिओले एलिनाका कतिपय फ्यानलाई साँच्चिकै चिन्तित बनाएको छ ।

भिडिओमा एकजनाले लेखेकी छन्, ‘सुन्दर वैवाहिक जीवन बनाउन महिलाको ठूलो भूमिका हुन्छ । आगो र पानी हुनु । यस्ता सामग्री पोस्ट गर्नु हुँदैन ।’

अर्को कमेन्ट छ, ‘विवाहपछि यो सिस्टर खुशी देखिँदैन के गर्नु । माइतीमा बसेर रमाएको जस्तो कहाँ हुन्छ र अरुको घर अनि अरुको श्रीमती भएपछि ।’

केहीले चाहिँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाएका छन् । एलिनाको समर्थनमा पनि कमेन्टहरु आएका छन् ।

एकजनाको कमेन्ट छ, ‘मान्छेहरु कति चियोचर्चाे गर्छन् है । एउटा कलाकार भएपछि जस्तो पनि एक्ट गर्नुपर्छ । रोयो भने के भो ? खुशी भयो भने अब कहिले रुनुपर्छ । उफ कस्तो खालको दुनियाँ हो ।’

त्यसो त एलिनाको निजी जीवनप्रति दर्शक र मिडियाले पहिल्यैदेखि अत्यधिक चासो राख्ने गरेका छन् । विष्णु सापकोटासँग प्रेम, विछोड र विवाहका प्रसंगले उनी निरन्तर गसिपमा छाइरहिन् । साढे ५ महिना अगाडि विवाहबन्धनमा बाँधिएको यो जोडीबीच खटपट पो आएको हो कि भन्ने चासो र चिन्ता उनका फ्यानहरुमा देखिन्छ । एलिनाका टिकटक भिडिओहरुमा विष्णुले कुनै पनि रियाक्सन नदिनु र विष्णुकै टिकटक भिडिओहरुले पनि फ्यानहरुलाई थप व्यग्र बनाएको छ ।

विष्णुले आजै ‘छक्कापञ्जा ५’ को चर्चित गीतको यो अंशमा टिकटक भिडिओ बनाएका छन्:

‘सोझी थिइ घुसघुसे स्यालै रैछे नि
मलाई फकाउँथी फकाउँदै चम्पक भइछे नि
तँलाई सम्पत्तिको स नभाको भिखारीले पाओस्
मलाई जुत्ती हान्ने खुट्टी तेरा मर्किएर जाओस्
तँलाई पिठ्यु देखाइ हिँड्ने तेरा ढाडै सड्की जाओस्
तेरा कहीँ नभाको रुपको खेती धमिराले खाओस्
मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्की जाओस्

यो भिडिओको क्याप्सनमा उनले ‘चोरको मनमा चस्को नपरोस् है’ लेख्दै हाँसेको इमोजी राखेका छन् ।

चार दिनअघि एउटा टिकटक भिडिओ राख्दै विष्णुले लेखेका थिए, ‘मिल्ने भए पुराना दिनमा फर्केर ती गलत निर्णयहरु सच्याउन मन छ ।’

एलिना र विष्णुले अरुलाई गुमराहमा पार्न सल्लाहमै यस्ता पोस्टहरु गरिरहेको भए बेग्लै कुरा, नत्र यो राम्रो संकेत पक्कै होइन ।

विवाहलगत्तै श्रीमानसँगै अस्ट्रेलिया भासिएकी एलिना एक महिना अगाडि नेपाल फर्किएकी हुन् । चार महिना अस्ट्रेलियामा बस्दा उनले त्यहीबाट केही गीतहरु रेकर्ड गराएकी थिइन् । तीमध्ये ‘मन परेको मान्छे पाइयो नि’ बोलको गीत राम्रै चल्यो, अरु खासै चलेनन् ।

दर्शकको भीड अगाडि गाउने एलिनाको तलतल पनि अस्ट्रेलियामा मेटिन सकेन । त्यसैले उनी अहिले नेपालमै बसेर आफ्नो गायन यात्रालाई निरन्तरता दिइरहेकी छन् । योबीचमा थुप्रै युट्युब च्यानलहरुलाई अन्तर्वार्तासमेत दिइन् । उनी केही दिन अगाडि मात्रै ओशो तपोवनमा ध्यान गर्न पुगेकी थिइन् । अब अस्ट्रेलिया कहिले फर्किने भनेर एलिनाले केही बताएकी छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर