सरकारी बिदाभन्दा ३ दिनअघि नै राधेराधेमा लाइसेन्सको सबै काम बन्द – Nepal Press

सरकारी बिदाभन्दा ३ दिनअघि नै राधेराधेमा लाइसेन्सको सबै काम बन्द

काठमाडौं । सरकारी बिदाभन्दा ३ दिन अघिदेखि नै नयाँ लाइसेन्सको काम सरकारी कार्यालयले सूचना निकालेर नयाँ लाइसेन्सको काम रोकिदिएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, राधेराधेले दसैंको बिदाभन्दा ३ दिन अघिबाट नै नयाँ लाइसेन्सको काम रोकेको हो । काठमाडौं उपत्यकामा भएका अन्य कार्यालयहरुले नयाँ लाइसेन्सको काम गरिरहँदा राधेराधेमा भने दसैंको बिदा हुनुभन्दा ३ दिन अघि नै नयाँ लाइसेन्सको ट्रायल दिनेहरुका लागि राजस्व नै नलिने भनेर सूचना निकालेको छ ।

‘२०८१ साल असोज २१, २२ र २३ गते यस कार्यालयको अफिस भिजीट डेट प्राप्त गरी नयाँ आवेदन दर्ता (बायोमेट्रिक) गर्ने सेवाग्राहीहरुको राजस्व दसैंपछि सङ्कलन गरिने र लिखित परीक्षाको समय तोकिने छ’, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, राधेराधेले निकालेको सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र राधेराधेका सूचना अधिकारी जीवनकुमार बस्नेतले दसैं अघि आजबाट नै नयाँ लाइसेन्सको लागि ट्रायल दिनेहरुको राजस्व नलिएको बताए ।

उनले भने, ‘ट्राफिकले नै आजदेखि नयाँ लाइसेन्सको ट्रायलको लागि समय नराख्नु भनेको थियो । त्यसैले नयाँ लाइसेन्सको लागि अफिस भिजीटका लागि आएकाहरुको राजस्व नलिएको हो । दसैंको मुखमा भएर सेवाग्राहीहरु पनि आज खासै आएका छैनन् ।’

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र चाबहिल, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र ठुलोभ¥याङ र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुनामा आज पनि नयाँ लाइसेन्सको लागि ट्रायल दिनेहरुको राजस्व लिएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र चाबहिल सूचना अधिकारी मखमली गिरीले आज पनि नयाँ लाइसेन्सको लागि ट्रायल दिनेहरुको राजस्व लिएको बताइन् । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र ठूलो भर्याङ सूचना अधिकारी गौतम भण्डारीले नयाँ लाइसेन्सको लागि राजस्व लिने काम नरोकिएको बताए ।

त्यस्तै, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुनाले पनि आज नयाँ लाइसेन्सको लागि राजस्व लिएको छ । एकान्तकुनाका सूचना अधिकारी केदारप्रसाद पोखरेलले आज नयाँ लाइसेन्सको लागि राजस्व लिने काम नरोकिएको बताए ।

आज राजस्व बुझाउने सेवाग्राहीहरुको भोलि लिखित र असोज २३ गने ट्रायल हुने छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र राधेराधेमा आज अफिस भिजीटको समय भएका सेवाग्राहीले भने दसैंपछि मात्रै राजस्व बुझाउन पाउने र लिखित र ट्रायलको समय तोकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर