विपद्मा जिम्मेवार बन्न माओवादी निकट ४ जनवर्गीय संगठनको सरकारलाई ९ बुँदे ध्यानाकर्षण – Nepal Press

विपद्मा जिम्मेवार बन्न माओवादी निकट ४ जनवर्गीय संगठनको सरकारलाई ९ बुँदे ध्यानाकर्षण

काठमाडौं । बाढीपहिरो प्रभावितप्रति जिम्मेवार र उत्तरदायी बन्न नेकपा (माओवादी केन्द्र) निकट चार जनवर्गीय संगठनले नौं बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफ्ना नौं बुदेँ माग तत्काल पुरा गर्न भन्दै ध्यानाकर्षण गराएका हुन् ।

‘देशभर अतिवृष्टि र जोखिमको पूर्व सूचनाको बाबजुद नेपाल सरकारले कुनै पूर्व तयारी नगर्ने, बाढी आई सकेपछि समेत ठोस योजनासहित उद्धारका लागि कुनै तदारुकता नदेखाउने र मुकदर्शक बन्ने गैरजिम्मेवारीपनले यो सरकार नेपाली जनताको सेवामा नरहेको, बरु आफ्ना निहित स्वार्थ पूरा गर्न र आफू निकट दलाल पुँजीपति तथा विचौलियाको हितरक्षाका लागि मात्र बनेको कुरा स्वतः पुष्टि भएको छ’, जारी विज्ञप्ति भनिएको छ ।

चार जनवर्गीय संगठनले बाढी प्रभावित क्षेत्रमा पोषिलो खाना, स्वच्छ खानेपानी, लत्ताकपडा, अस्थायी आवास, अस्थायी शौचालय लगायतका आधारभूत आवश्यकता पूर्ति गर्ने राहतका सामग्री निष्पक्षरूपमा तत्काल उपलब्ध गराउनुपर्ने तथा प्रभावित क्षेत्रमा संक्रामक रोग फैलन नदिन तत्काल स्वास्थ्य शिविर संचालन गर्न माग गरेका छन् ।

पूर्वाधारको क्षति भोगेका किसान र आम जनसमुदायलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न तथा पूर्वाधार पूनर्निमाण गर्न, मृतकलाई दिने भनिएको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन तथा घाइतेको निःशुल्क स्वास्थ्योपचार गर्न माग गरिएको छ ।

प्रमुख चाडबाडको मुखमा खाद्यान्न लगायतका उपभोग्य सामग्री, यातायात तथा हबाई टिकटको अस्वभाविक रूपमा मूल्यबृद्धि गरिएको भन्दै बजार अनुगमनमा कडाई गर्न, तत्काल महंगी नियन्त्रण गर्न, कालाबजारी गर्ने र अस्वभाविक मूल्यबृद्धि गर्ने व्यापारीलाई कारबाही गर्न संगठनको माग छ ।

साथै भीषण वर्षा हुने, बाढी पहिरो, मानिस उद्धारको आशामा घण्टौं छानामाथि बसेको र पहिरो गएको जस्ता सूचना पाउँदा पनि कुनै पहल नगर्ने गैरजिम्मेवार अधिकारी तथा कर्मचारीमाथि अबिलम्ब छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

घर डुबानमा पर्दा नष्ट भएका वा हराएका नागरिकका सरकारी र अन्य महत्ववपूर्ण कागजपत्र वा तिनका प्रतिलिपि सहज र सरल रूपले अबिलम्ब उपलब्ध गराउन तथा विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक र अध्ययन सामग्री तत्काल उपलब्ध गराउन माग गरिएको छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाली र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियारले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र बेपत्ता नागरिकको शीघ्र उद्धारको कामना गरेका छन् ।

उनीहरुले आगामी दिनमा यस्ता प्रकोप आउन नदिन आवश्यक पूर्वतयारी गर्न र विकासको मोडलबारे व्यापक छलफल चलाई पर्यावरणमैत्री विकासको कार्यक्रम र कार्ययोजना अघि सार्न पनि माग गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर