पार्टी विभाजन रोक्न माधव नेपाललाई दुई बुँदे ज्ञापन, महाधिवेशनको म्याण्डेटविपरीतका सबै निर्णय खारेज गर्न माग – Nepal Press

पार्टी विभाजन रोक्न माधव नेपाललाई दुई बुँदे ज्ञापन, महाधिवेशनको म्याण्डेटविपरीतका सबै निर्णय खारेज गर्न माग

काठमाडौं । नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न भन्दै दुई बुँदे ज्ञापन बुझाएका छन् ।

जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताले आज माधव नेपाललाई केन्द्रीय कार्यालयमा भेटेर ज्ञापन पत्र दिएका हुन् ।

१०० बढी नेताको समर्थनमा पत्र दिइएको हो । पत्रमा ३४४ सदस्यीय केन्द्रीय कमिटी अवैध रहेको जिकिर गरिएको छ ।

पदाधिकारी र पोलिटव्युरो निर्वाचन खारेज हुनुपर्नेलगायतको माग राखिएको छ ।

पार्टीको दशौँ महाधिवेशन र त्यसयताका विभिन्न घटनाक्रम र खासगरी पदाधिकारी र पोलिटव्युरो चुनावपछि पार्टीमा निराशा र विभाजनका गम्भीर खतराहरू देखिएको उनीहरूको ठहर छ । यस्तो हुनुको दोष तीन नेताहरूलाई दिइएको छ ।

‘महाधिवेशनको मञ्चबाटै सर्वसम्मतरूपमा निर्वाचित तीनजना नेता कमरेडहरू अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले सबै प्रतिनिधिहरूका अगाडि गरेको बाचा उल्लङ्घन गर्नु रहेको छ ’ ज्ञापन पत्रमा लेखिएको छ  ।

एमालेमा रहँदा जस्तै आफू अनुकूलको नेतृत्व निर्माण गर्ने मनसाय लिएको समेत आरोप लगाइएको छ । महाधिवेशनले दिएको म्यान्डेट भन्दा बाहिर नेतृत्व गएको आरोप लगाइएको छ । ९० जनालाई महाधिवेशन हलले समर्थन गरेको अन्य बाँकी सदस्यहरूलाई १० दिनभित्र प्रस्तावित गर्न सहमति प्रदान गरेको उल्लेख गरिएको छ ।

‘प्रस्तावित सदस्यहरुलाई समर्थन गर्ने नगर्ने अधिकार महाधिवेशन प्रतिनिधिमा अन्तर्निहित हुन्छ भन्ने हेक्का नराखी जुन प्रकारले २९९ जनाको केन्द्रीय कमिटी बनाउने भन्दै हलको म्यान्डेट विपरीत ३२२ जनाको केन्द्रीय कमिटी बनाइयो र राम्रा अनि योग्य भन्दा पनि आफ्ना बनाउने कार्य भयो’, ज्ञापन पत्रमा लेखिएको छ ‘त्यसले तलको पङ्क्तिमा एक प्रकारको खैलाबैला मच्चाएको छ । ’

भूगोलमा प्रभावकारी जनमत भएका नेता कार्यकर्ताहरूलाई हराएर अपमान गरेको उनीहरुले बताएका छन् ।

‘महाधिवेशन हलले आषाढ मसान्तसम्म केन्द्रीय कमिटी टुङ्गो लगाउने म्यान्डेट दिएको थियो । भाद्र १४ गते आएर केन्द्रीय कमिटी घोषणा गरियो । यो म्यान्डेट कसले कसलाई दियो ?’ उनीहरुले प्रश्न गरेका छन् ।

९३ जनालाई यो म्यान्डेट थियो भने मनोनीत कमिटीले कसरी निर्वाचित पदाधिकारी निर्माण गर्न सक्छ ? ’ भन्दै शीर्ष नेतृत्व महाधिवेशन मञ्चमा गरेको बाचा भन्दा बाहिर जाँदा यस्तो अवस्था आएको नेताहरूको जिकिर छ ।

सर्वसम्मत रूपमा पदाधिकारी चयन हुनुपर्ने सुझाव हुँदा हुँदै मनोनीत कमिटीमा चुनाव गराउने कार्यपछि असन्तुष्टि विस्फोट भएको उनीहरूले बताएका छन् । महाधिवेशनको सम्पूर्ण प्रक्रियामा विधि र प्रक्रियाको गम्भीर उल्लङ्घन भएको पनि ज्ञापनपत्रमा बताइएको छ ।

केन्द्रीय परिषद्को बैठकबाट र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट समेत पारित विधानको भावनाविपरीत भएको उनीहरुले बताएका छन् । यसले गर्दा स्थानीय कार्यकर्ताहरूले पार्टी छोडिरहेको र योजनाबद्ध रुपमा पार्टी विभाजनको प्रयास भइरहेको उल्लेख छ ।

त्यसका लागि महाधिवेशनको म्यान्डेट विपरीत गरिएका सबै काम कारबाही खारेज गर्नु पर्ने र पार्टीभित्र उत्पन्न परिस्थितिबारे गम्भीर समीक्षा गरी पार्टीको विकास र विस्तार गर्न तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन पनि माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *