गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फलाई दुबईले सातै दिन र जजिराले तीन दिन उडान भर्ने – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फलाई दुबईले सातै दिन र जजिराले तीन दिन उडान भर्ने

रुपन्देही । फलाई दुबईले आगामी कार्तिक २४ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सातै दिन उडान गर्ने भएको छ ।​

फलाई दुबईले दुबई–भैरहवा र भैरहवा, काठमाडौं हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भूलले जनाएका छन् । कार्तिकदेखि फलाई दुबई भैरहवा उडान भर्न तयार रहेको जनाइएको छ ।

फलाई दुबईको जहाज दिउँसो एक बजेर ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ । भैरहवाबाट पौने ३ बजे काठमाडौं प्रस्थान गरेर साढे ३ बजे काठमाडौंमा पुग्नेछ । काठमाडौंबाट साढे ४ बजे दुबई उड्ने तालिका सार्वजनिक भएको छ । ​

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकतर्फी उडान भए पनि भैरहवाबाट दुबई जानेलाई सहज हुने छ । भैरहवाबाट दुबई जान चाहनेले काठमाडौंमा एक घण्टा ‘ट्रान्जिट’मा बस्नु पर्नेछ ।

विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुवाती उडान गरेका जजिरा एयरे पनि केही समययता उडान रोकेको थियो ।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । तर विभिन्न समस्या देखाएर बीचमा रोकेको थियो । अहिले कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ । ​

जजिराले कार्तिक १२ गते अर्थात् अक्टोबर २८ बाट कुवेत-भैरहवा-कुवेत उडान गर्न विमानस्थलबाट सोमबार नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ । हप्तामा ३ दिन जजिराको जहाज बिहान ६ बजेर २५ मिनेटमा भैरहवा आएर ७ बजेर १० मिनेटमा कुवेत उड्ने छ ।​​


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *