उपचुनावमा गठबन्धन गर्ने माओवादीको नीति, कांग्रेस-एमालेबाहेकका दलसँग सहकार्य पहल गर्न परिपत्र – Nepal Press

उपचुनावमा गठबन्धन गर्ने माओवादीको नीति, कांग्रेस-एमालेबाहेकका दलसँग सहकार्य पहल गर्न परिपत्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा चुनावी गठबन्धन गर्ने बाटो खुला राखेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सोमबार स्थानीय उपनिर्वाचनबारे विशेष परिपत्र जारी गर्दै कांग्रेस एमालेबाहेक अन्य दलसँग सहकार्यको पहल गर्न पार्टी कमिटीलाई निर्देशन दिएका हुन् ।

परिपत्रमा भनिएको छ, ‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकलरूपमा चुनाव लड्ने तयारी गर्ने, यसका साथै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि पहल बढाउने ।’

उपनिर्वाचनको तयारीका लागि रिक्त रहेका वडाध्यक्षको उम्मेदवार छनोट दर्ता वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने र सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिस गर्ने र पालिकाको पार्टी सहमतिले निर्णय गर्ने, सोको जानकारी कात्तिक २५ गतेसम्म प्रदेश पार्टी कार्यालय र पार्टी केन्द्रीय कार्यालयलाई अनिवार्यरूपमा लेखी पठाउने निर्देशन दिएका छन् ।

परिपत्रमा भनिएको छ, ‘रिक्त रहेका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष लगायत पदको उम्मेदवार छनोट गर्दा सम्बन्धित पार्टी अन्तर्गतका सबै वडाहरुका प्रतिनिधि र पालिका पार्टी समितिको संयुक्त बैठक बसी सहमतिको आधारमा उम्मेदवार छनोछ गर्ने यदि सहमति हुन नसकेमा पालिका समितिको बहुमतीय प्रणालीबाट छनौट गरी प्रदेश पार्टी सभापतिलाई सिफारिस गर्ने प्रदेश पार्टी समितिले निर्णय गर्ने सो को जानकारी कात्तिक २५ गतेसम्म पार्टीको केन्द्रीय कार्यालयलाई गराउने ।’

जिल्ला समन्वय समिति प्रमुखका लागि पार्टी जिल्ला समन्वय समितिले सिफारिस गर्ने र प्रदेश समितिले निर्णय गर्ने परिपत्रमा उल्लेख छ । तर, पार्टी पंक्तिलाई जारी गरेको परिपत्र र अध्यक्ष प्रचण्डको अभिव्यक्तिमा भने तालमेल खाँदैन ।

शनिबार काठमाडौं-दोलखा सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै कहिले कांग्रेस र कहिले एमालेसँग मिल्दा माओवादीको पहिचान हराउने आशंका बढेपछि आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताएका थिए ।

उनले भनेका थिए, ‘प्रतिक्रियावादीहरूले सोचे अहिले माओवादीको संख्या घटेको छ, सरकारबाट पनि बाहिर गएपछि माओवादी धेरै कमजोर होला भन्ने सोचेका थिए । अहिले तिनीहरुको सात्तो गएको छ माओवादी देशैभरि जाग्न थाल्यो भनेर । यहाँ भएका सामाजिक संघसंस्थाको निर्वाचनमा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले हराएको छ ।’

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि एक्लै चुनाव लडेर माओवादीलाई फेरि आफ्नै पहिचानसहित स्थापित गर्ने संकल्प लिन लागेको उनको भनाइ थियो ।

प्रचण्डले पछिल्लो समय उपनिर्वाचनमा मात्रै नभई २०८४ को निर्वाचनमा पनि माओवादीले एक्लै चुनाव लड्ने दाबी गर्दै आइरहेका छन् । तर, माओवादीले समाजवादी मोर्चामा आबद्ध घटकबीच सहकार्यको प्रयास गरिरहेको छ ।

मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्। यसबाहेक अन्य सत्ता बाहिर रहेका दलहरुसँग पनि सहकार्य गर्ने नीति माओवादीले अख्तियार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर