यात्रुलाई तर्साउने बुटवल–नारायणगढ सडक, दाउन्नेले थप्यो संकट (फोटो/भिडियो) – Nepal Press

यात्रुलाई तर्साउने बुटवल–नारायणगढ सडक, दाउन्नेले थप्यो संकट (फोटो/भिडियो)

रुपन्देही । पूर्व–पश्चिम राजमार्गको मुख्य केन्द्रमा रहेको ११४ किलोमिटर सडक हो बुटवल–नारायणगढ सडक । १७ अर्ब रुपैयाँ लगातमा २०७५ चैत ८ मा काम सुरु भएर २०७९ साउन २२ भित्र निर्माण सम्पन्न हुनुपर्ने यो सडकको काम अहिलेसम्म ५३ प्रतिशत मात्रै पूरा भएको छ । ५ वर्षमा सक्ने लक्ष्य राखेको यति महत्वपूर्ण आयोजना ६ वर्षमा ५३ प्रतिशत मात्र काम भएकाले यही गतिमा काम भए अझै कति लाग्ने कसैले आंकलन गर्नसकेको छैन ।

निर्माण सुरु भएको लामो समय यसले पूर्णता नपाउँदा यात्रु, व्यवसायी सबैले सास्ती खेप्नुपरेको छ । त्यसमाथि पछिल्लोपटक आएको पानीले सबैभन्दा अफ्ठेरो ठाउँ रहेको दाउन्ने क्षेत्रमा पटक–पटक सडक भासिँदा दशैँ मनाउन घर फर्किरहेका यात्रुले सास्तीमाथि सास्ती खेप्नु परिरहेको छ ।

अहिलेका चाडपर्वमा पनि काठमाडौंबाट यो सडकमार्फत आवतजावत गर्ने यात्रुले यो वर्ष पनि दुःख पाइरहेका छन् र अझै पाउने निश्चित छ । बुटवल–नारायणगढको दाउन्ने पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले निर्माण कम्पनीले अहिले मर्मत सम्भार मात्र गरेको जनाएका छन् । ठेकेदारले पटक पटक थपेको समयमा काम नगरेकाले यस्तो समस्या थपिएको हो । चाडपर्वको बेला जामलगायतका समस्या आउने हुँदा छिटो सडक खुलाउने गरी आफूहरू तयारी अवस्था बसेको मिश्रको भनाइ छ ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बन्ने सडकको लागतमध्ये एडीबी ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी १५ प्रतिशत रकम नेपाल सरकारकै लगानी रहेको छ ।

मिश्रका अनुसार अंग्रेजी महिना डिसेम्बरसम्ममा कम्तीमा एक लाइन भए पनि बुटवलदेखि बर्दघाटसम्म कालोपत्रे हुने आशा छ । यो क्षेत्रमा रहेका धेरै पुलहरूको करिब काम सकिएको छ । अब एक/दुई वटा सामान्य काम मात्र बाँकी छ ।

सरकारले सडक निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनलाई १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ निर्माणको ठेक्का दिएको थियो । पूर्व खण्ड (दाउन्ने–गैंडाकोट)को ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र पश्चिम खण्ड (दाउन्ने–बुटवल)को ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ लागतमा ठेक्का दिएको हो ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बन्ने सडकको लागतमध्ये एडीबी ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी १५ प्रतिशत रकम नेपाल सरकारकै लगानी रहेको छ । सडक बिस्तार शुरू हुनासाथ आएको कोभिड–१९, त्यसपछिका अनेक झन्झट र निर्माण सामग्रीको अभावका कारण पनि निर्माण कार्य लम्बिएको हो ।

अहिलेसम्म आयोजनाको दुवैतर्फ गरेर ५३ प्रतिशत काम सकिएको छ । अब मशिनले गर्नुपर्ने र कालोपत्रेको काम मात्रै बाँकी रहेकाले बर्खायाम सकिँदासाथ धमाधम काम हुने आयोजना प्रमुख मिश्रले बताए ।

सडक खण्डमा ६१ वटा पुल छन् । जसमध्ये ४१ वटा ठूला र २० वटा साना पुल बनिसकेको उनको भनाइ छ । यो राजमार्गलाई बजार क्षेत्रमा ६ लेन र बस्ती नभएको क्षेत्रमा ४ लेन बनाउन लागिएको हो । विस्तारको जिम्मा लिएको चाइना स्टेट कर्पोरेसनले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गर्दा खाल्डाखुल्डी, धूलो र हिलोले अन्य समयमा पनि सवारी सञ्चालनमा सास्ती हुँदै आएको छ ।

दाउन्ने सडकमा सामान्य पानी परे पनि हिलोले सडकमा गाडी चिप्लिने र उकालो ओरालोमा समस्या आउने अवस्था रहेको छ । अहिले त ठेकेदारले काम नै गरेका छैनन् । सडकमा जाम र पहिरोले बढ्ने ढुवानी लागत, खर्चिने समय, सास्तीको लेखा–जोखा हुनै बाँकी भए पनि यसले देशको अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याइरहेको पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल बताउँछन् ।

बुटवल–नारायणगढ सडकखण्ड दाउन्ने पूर्वीखण्डका इन्जिनियर शिव खनालले ठेकेदारले काम नगरेपछि माथिल्लो तहबाटै साविककै ठेकेदारलाई काम गराउने कि तोडेर अघि बढ्ने भन्ने कुरा भइरहेको बताउँछन् ।

शुक्रवार साँझ बर्दघाट नगरपालिका वडा नम्बर–४ मा सडक भासिएर घण्टौं रोकिएको थियो । मध्यराति १२ बजे एकतर्फी खुलेको सडक शनिवार साँझसम्म पनि यसरी नै सञ्चालित भएपनि आइतबार पुनः उस्तै समस्या दोहोरियो ।

ठूला मालबाहक सवारीसाधनका कारण सडक दबिएपछि पटक–पटक मर्मत गर्नुपरेको छ । इलाका प्रहरी कार्यालय, बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले सडक पटक–पटक दबिरहँदा गाडी दोहोरो सञ्चालनमा कठिन भइरहेको बताए ।

अविरल वर्षाका कारण सडकको रिर्टेनिङ वाल भत्काउनका साथै ४०० मिटर जति सडक पनि भासिएको थियो । यसको मर्मतका लागि मंगलवार राति सडक पूर्णरुपमा रोकेर काम गरिएको थियो । तर शनिवार फेरि सडक भासिएको छ ।

सडक भासिँदा विद्युतको हाइटेन्सन टावरसमेत ढलेको छ । मर्मत भएर शनिवार साँझ सञ्चालनमा आए पनि ठूलो पानी परेको अवस्थामा सडक भत्किने अवस्था छ । नारायणगढबाट बुटवल आउँदै गरेका यात्रु दीपेन्द्र सिजापतिले लामो समय गाडी जाममा फस्दा ठूलो समस्या भएको बताए ।

दाउन्नेदेखि दुम्कीबाससम्मको क्षेत्रमा सडक दिनहुँजसो अवरुद्ध मात्र होइन, यात्रुको ज्यानसमेत जोखिममा परेको छ । व्यवसायी नारायण घिमिरे सडक बनाउने पैसा बराबर अहिलेसम्म यो सडक भएर यात्रु बोक्ने बसको मर्मत खर्च उठेको दाबी गर्छन् ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने क्षेत्रको १५ किलोमिटर खण्डमा बेलाबेला सडक भासिने र पहिरो जाने भइरहेको छ । अरू बेला पनि यो खण्डमा एउटा सवारी बिग्रिँदा एकतर्फी यातायात सञ्चालन हुने अवस्था हुन्छ ।

पहिरो जाने, सामान्य वर्षाले पनि अचाक्ली हिलो हुने भएकाले सवारी चिप्लिने समस्या छ । राजमार्ग विस्तार सुरु भएयता यो समस्या बढ्दै गए पनि चाडबाड तथा बढी सवारीसाधनको चाप हुने बेलासमेत समस्या समाधानको प्रयास नभएको यात्रु र चालकहरूको गुनासो छ ।

पश्चिम नवलपरासीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मुख्य राजमार्गमा यातायात सञ्चालनमा समस्या आउनेबित्तिकै सडक विभाग, सुरक्षा निकाय र सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कर्पोरेसनको सहयोगमा तत्काल मर्मत गरेको बताइन् ।

दैनिक हजारौं यातायातका साधन र यात्रुहरू ठूलो जोखिम ब्यहोर्दै घण्टौंसम्म सडकमा बस्न बाध्य छन् । बुटवल–नारायणगढ सडकखण्ड रुपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्लामा पर्छ । निर्माणमा चरम ढिलासुस्ती हुँदा सडकसँग जोडिएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, विनयत्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलका दर्जनौं पालिका, बस्ती र हजारौं नागरिक प्रभावित भएका छन् ।

पाँच दशकअघि यो सडक निर्माण भएपछि बुटवलदेखि नारायणगढको दिनभरको यात्रा छोट्टिएर झण्डै साढे दुई घण्टामा पुग्नसकिने भएको थियो । तर अहिले ५ देखि ६ घन्टासम्म कष्टपूर्ण यात्रा गरिरहनुपरेको छ । चिनियाँ ठेकेदार कम्पनीले अतिरिक्त दुई अर्ब रुपैयाँ रकम मागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बताएको छ ।

कोरोना महामारी र समयमा साइड क्लियर नुहँदा आफू घाटामा गएको भन्दै निर्माण कम्पनीले अतिरिक्त पैसा मागेर काम ठप्प पारेको छ । सरकारले गएको साउन १० गते २०८२ साउनभित्र काम सम्पन्न गर्ने भनेर दोस्रोपटक म्याद थपिदिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत साता सडकको अवस्था बुझ्न यही बाटो गाडीको यात्रा गरेका थिए । उनले अब पनि निर्माणको काममा ढिलासुस्ती भए ठेक्का तोडिने बताएका थिए ।

लामो समयदेखि सडकमा यात्राको यात्रा कठिन भएपछि यो सडक प्रयोग गर्ने यात्रुले विकल्प खोज्न थालेका छन् । बर्दघाटबाट बुटवल र भैरहवा जानुपर्ने सवारी पूर्व–पश्चिम राजमार्गको विकल्पस्वरुप भित्री सडक हुँदै निस्कने गरेका छन् । भैरहवा जाने यात्रु बर्दघाटबाट दक्षिण चौपत्ता हुँदै नारायणचोक पुग्ने गर्छन् ।

त्यहाँबाट पश्चिम १३ किलोमिटर हुलाकी सडकको यात्रा गरेपछि सदरमुकाम परासी बजार पुगिन्छ । त्यसपछि २४ किमीको दूरीमा भैरहवा र बुटवल जाने यात्रु यो रुट रोज्न थालेका छन् । बर्दघाटबाट चौपत्ता, नारायण चोक हुँदै जमुनिया बजार, भटौलिया, मनहरि हुँदै परासी पुग्न सकिन्छ ।

अझ बर्दघाटबाट त्रिवेणी सडक हुँदै चौपत्ता बजारबाट जमुनिया निस्किएर हुलाकी सडक हुँदै परासी निस्कन्छन् । बर्दघाटदेखि विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबास जोड्ने गरेर सडक निर्माण अघि बढेको छ । दाउन्ने खण्डमा पहिरो तथा अन्य कारणले सडक अवरुद्ध हुँदा लामो समय रोकिनुपरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर