साफ महिला च्याम्पियनसिपको तयारी पूरा – Nepal Press

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

मंगलबार एन्फाले ललितपुरमा पत्रकार सम्मेलन गर्दै कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने आयोजना हुने महिला च्याम्पियनशिपको तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको उहाले बताउनभयो । प्रतियोगिताको अनुमानित बजेट ३ लाख ८ हजार १ सय ६० अमेरिकी डलर रहेको शाहले उल्लेख गरे ।

च्याम्पियनशिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ ।

दोस्रो खेलमा ६ गते माल्दिभ्स र समूहको तेस्रो खेलमा कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर