गोरखाका मेयर र प्रशासकीय अधिकृतले आफूखुसी कर्मचारी ल्याएको उपमेयरको आरोप – Nepal Press

गोरखाका मेयर र प्रशासकीय अधिकृतले आफूखुसी कर्मचारी ल्याएको उपमेयरको आरोप

उपमेयरसहित कांग्रेसका जनप्रतिनिधिले दिए हाजिर नगराउने चेतावनी

काठमाडौं । गोरखा नगरपालिका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले मेयर र प्रशासकीय अधिकृतले एकलौटी सरुवा गरेर कर्मचारी ल्याउने गरेको भन्दै हाजिर गर्न नदिने चेतावनी दिएका छन् ।

उपमेयर मसलीमाया थोकरसहित कांग्रेसका १५ जना कार्यपालिका सदस्यले संयुक्तरूपमा हस्ताक्षर गर्दै गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चेतावनी पत्र बुझाएका हुन् । उपप्रमुख थोकरले मेयर र प्रशासकीय अधिकृतले आफूसँग समन्वय गरेरमात्र सरुवा गर्न/गराउन पटकपटकको आग्रह बेवास्ता गरेको नेपाल प्रेसलाई बताइन् ।

यहाँका मेयर कृष्णबहादुर राना मगर माओवादीबाट निर्वाचित भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी छन् । कार्यपालिकाका २४ जना सदस्यमा कांग्रेसबाट निर्वाचित १५ जना छन् । बाँकी एमाले, माओवादी केन्द्र र नेकपा एसका छन् । प्रमुख प्रशासकीय अधिकृत बाहेकका कर्मचारी सम्बन्धित स्थानीय तहको सहमतिमा प्रदेश सरकारले सरुवा तथा कामकाजमा खटाउने व्यवस्था रहेको छ ।

पत्रमा भनिएको छ, ‘यस गोरखा नगरपालिकामा उपप्रमुखसहित बहुमत सदस्य रहेको र यस नगरपालिकामा कुनै पनि कर्मचारी सरुवा सहमतिका आधारमा सरुवा भई आउनका लागि उपप्रमुखसहितको सरुवा सहमति बेगर नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत ज्यूले छलफल नगरी एकलौटी रूपमा दिइएको सरुवा सहमतिको आधारमा कुनै पनि कर्मचारी सरुवा नगरी दिन हुन अनुरोध गरिएको छ । साथै एकलौटी तरिकाबाट दिइएको सहमतिको आधारमा सरुवा भई आएका कर्मचारीलाई हाजिर गराउन नदिने व्यहोरा समेत जानकारी गराइन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर