बाढीपहिरोबाट काभ्रेमा कृषिमा ४२ करोड बढीको क्षति – Nepal Press

बाढीपहिरोबाट काभ्रेमा कृषिमा ४२ करोड बढीको क्षति

काभ्रे । हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा ७ हजार २ सय परिवारले लगाएको बालीको प्रारम्भिक क्षतिको अनुमान अनुसार ४२ करोड ६३ लाख रहेको उक्त कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए ।

सबैभन्दा धेरै पनौती नगरपालिकामा ९ करोड ४१ लाख, धुलिखेल नगरमा ५ करोड ४८ लाख बराबरको क्षति भएको छ । उक्त कार्यालयले सार्वजनिक गरेको कृषि क्षतिको विवरणअनुसार छ सय ६९ दशमलव आठ हेक्टर क्षत्रफलको धान, ३० हेक्टरको मकैबाली तथा चार सय २७ दशमलव ७९ हेक्टर क्षेत्रफलको अन्य कृषि बालीमा क्षति पुगेको जनाइएको छ ।

यस्तै दुई हजार नौ मेट्रिकटन धान, ८४ मेट्रिकटन मकै, चार हजार दुई सय मेट्रिकटन तरकारी तथा अन्य बालीमा गरी कुल छ हजार तीन सय ७१ मेट्रिकटनमा अनुमानित गिरावट आउने उल्लेख गरिएको छ ।

यसैबीच जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपन्छी हताहत भएका अनुमान गरिएको छ । सबैभन्दा धेरै पनौती नगरमा २ हजार १०० पशुपन्छी मरेका छन् । जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख निशान्त गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट तथ्याङ्क सङ्कलन जारी छ । जिल्लाका सबै भागमा सञ्चार सम्पर्क कायम नभएका कारण यकीन विवरण प्राप्त हुन केही दिन लाग्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर