बालविवाह रोक्न रूपन्देहीको गैँडहवा गाउँपालिकामा बालिका बीमाको सुरुवात – Nepal Press

बालविवाह रोक्न रूपन्देहीको गैँडहवा गाउँपालिकामा बालिका बीमाको सुरुवात

रुपन्देही । रूपन्देहीको गैँडहवा गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ’ अभियान अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने भएको छ । बालिकाको प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बाल विवाह रोक्नका लागि ‘गाउँपालिका अध्यक्ष बालिका बिमा योजना निर्देशिका, २०८१’ मा उल्लेख भए बमोजिम गैंडहवा गाउँपालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बिचमा सम्झौता भएको हो ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बालिका बिमा इ-टेण्डरबाट खोलेर सम्झौता गरिएको बताउँदै बालिकाका लागि बालिका बीमा गाउँपालिकामा नयाँ आयाम थपिएको बताए । उनले बालिका जन्मिएपछि बालिकालाई प्रोत्साहन होस् भनेर बीमा गरिएको बताए । बालिकालाई शिक्षित बनाउन र बाल विवाह रोक्नका लागि यसले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उपप्रमुख कृष्णप्रसाद पोख्रेलले गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाका लागि सरकारको नीतिगत व्यवस्था तथा गाउँपालिकाको दीर्घकालिन सोचका लागि बालिका बीमा गाउँपालिका र बीमा कम्पनीका बिचमा सम्झौता भएको बताए । बालिका बीमाले गाउपालिकामा जन्मिएका बालिकाको अभिभावक वुवा वा आमाको जोखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बीमा भएको बताउँदै २० वर्षभित्र बालिकाको वुवा वा आमा दुर्घटना वा अन्य कुनै पनि कारणले मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिसले बालिकालाई एक मुष्ठ भुक्तानी गरिने पोख्रेलले बताए ।

सम्झौता पत्रमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा र ति स्वास्थ्य संस्थाले सिफारिस गरेकामध्ये छोरी जन्मिएकालाई मात्र बीमा योजनामा आबद्ध गराउनुपर्नेछ । यस कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका बासिन्दालाई मात्र समाबेश गराउनुपर्नेछ । २० हजार रुपैयाँ मात्र एक मुष्ठ एक पटकका लागि मात्र बीमा शुल्क दिइनेछ । बालिकाको उमेर २० वर्षसम्म पुग्दा अविवाहित रहेको सम्बन्धित वडा कार्यालयको प्रमाणसहित गाउँपालिकाको सिफारिसको आधारमा मात्र बीमीतलाई भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ ।

कम्पनी र पालिका बिचमा भएको सम्झौता अनुसार बालिकाको एक मुष्ठ २० वर्षका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडमा गाउँपालिकाले बीमा गरेको छ । यदि बालिकाको २० वर्ष अघि नै विवाह भएमा उक्त रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा शर्त राखिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ को बजेटमा बालिका बीमाका लागि जम्मा २५ लाख बजेट बिनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर