महानगरका कर्मचारीले खसी फुकाइदिए, तीनवटा हराएकाे भन्दै कालबहादुरकाे आक्राेश (भिडिओ) – Nepal Press

महानगरका कर्मचारीले खसी फुकाइदिए, तीनवटा हराएकाे भन्दै कालबहादुरकाे आक्राेश (भिडिओ)

काठमाडौं । दशैँको बेला गाउँबाट काठमाडौं खसी बेच्न आएका व्यापारीले काठमाडौं महानगरपालिकाका कर्मचारीले बाँधेको खसी फुकाएर छाड्देको बताएका छन् ।

बुधबार बिहान काभ्रेपलाञ्चोकबाट काठमाडौंको भृकुटीमण्डपमा खसी बेच्न आएका व्यापारीले महानगरका कर्मचारी आएर बाँधेका खसी फुकाएर छोडिदिएपछि ३ वटा खसी हराएको गुनासो गरे । व्यापारी कालबहादुर साहले बिहान खसी ल्याएर बाँधेको र महानगरका कर्मचारी आएर यहाँ नराख भन्दै फुकाएर केही पर लगेर छोडिदिएपछि खसी हराएको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘यहाँ खसी बाँधेका थियौँ, बाँधेपछि लल गइहाल, लैजाओ भने । हामीले लगेनौँ । उहाँहरूले आएर सबै डोरी फुत्काएर छोडिदिनुभयो । ३ वटा खसी हरायो । हामी बिहान ४ बजे आइपुगेका हौँ । खसी निकालेर बाँधेका थियौँ ।’

अर्का खसी व्यापारी काभ्रेपलाञ्चोककै कृष्णप्रसाद पाण्डेले गत सालको भन्दा यस वर्ष सस्तोमा खसी बेचिरहेको बताए । गाउँमा खसी महंगो रहेको तर शहरमा सस्तो रहेको उनले सुनाए । सडक अवरुद्ध हुँदा खसी ल्याउन गाह्रो भएको भन्दै उनले अहिले जिउँदो खसीको प्रतिकिलो ६५०/६६० मा बेच्दा पनि नकिनेको गुनासो गरे ।

पाण्डेले भने, ‘पोहोरको भन्दा अहिलेको स्थितिमा गाउँमा महंगो, यहाँ सस्तो छ । पोहोर ६५०/६६० मा बेचेका थियौँ । अहिले त्यत्तिमै दिँदा पनि लैजाँदैनन् । सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भयो । भाडा पनि डबल पर्‍यो । यहाँबाट फर्काएर लगे हामीले खाल्डामै हाल्नुपर्छ । बिक्री त जसरी भए नि सिध्याएर जानुपर्छ । तर, घाटा खाएर बेच्नुपर्ने भयो ।’

काभ्रेकै व्यापारी सोनाम मोक्तानले बजारमा भाउ नरहेको बताए ।

उनी भन्छन्, ‘बजारमा खासै भाउ छैन, पहिलाको जस्तो, बेच्न पाएको छैन । बाढी, पहिरो खसेको छ, सहज छैन, ल्याउन । ३ दिन हिँडाएर ल्यायौँ काभ्रेका महाभारतबाट । लगभग १५ हजार भाडा लाग्यो । बजारको रेटमै बेचेका छौँ ।’

उपभोक्ता मानबहादुर श्रेष्ठ भने गत सालको भन्दा यस वर्ष अझै महंगो भएको गुनासो गर्छन् । उनले भने, ‘महंगो रहेछ, आवश्यक परेपछि किन्नैपर्‍यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *