खतरनाक आँधी फ्लोरिडा पस्दै: घर छोड्न अमेरिकी राष्ट्रपतिको अपिल, मानिसहरु भागाभाग – Nepal Press

खतरनाक आँधी फ्लोरिडा पस्दै: घर छोड्न अमेरिकी राष्ट्रपतिको अपिल, मानिसहरु भागाभाग

काठमाडौं । भीषण आँधीको त्राशले अमेरिकाको फ्लोरिडा राज्य अस्तव्यस्त बनेको छ । मानिसहरु आँधीबाट बच्न भागाभाग गरिरहेका छन् ।
हेलेन नामक आँधीले हिर्काएको दुई हप्ता नबित्दै अर्को आँधीले फ्लोरिडालाई अत्याएको हो ।

‘मिल्टन’ नाम दिइएको यो आँधीलाई अहिले क्याटेगोरी ५ मा राखिएको छ, जहाँ हावाको बेग १६५ माइल प्रतिघन्टासम्म हुन्छ । बुधबार राति आँधी उत्कर्षमा पुग्ने अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति जोइ बाइडेनले मंगलबार फ्लोरिडाका मानिसहरुले उनीहरुको जीवन मरणको अवस्था रहेको भन्दै घर छोड्न चेतावनी दिएका थिए । उक्त चेतावनीलगत्तै फ्लोरिडाका मानिसहरु कुम्लो कुटुरो बोकेर सुरक्षित स्थानतर्फ लागिरहेका छन् । राज्यले समेत मानिसहरुलाई भगाउन सहयोग गरिरहेको छ । यसअघिका आँधीमा यस्तो भागाभाग भएको थिएन ।

गभर्नर रोन डेसान्टिसले मंगलबार एक सम्बोधन गर्दै आँधीबाट जोगिन भागेकाहरुका लागि शहरबाहिर दर्जनौं सेल्टरहरु बनाइएको जानकारी दिए ।

शहरमा इन्धनको समेत अभाव सुरु भएको छ । पेट्रोल स्टेसनहरुमा लामा लामा लाइनहरु छन् । केही पेट्रो स्टेसन बन्द भइसकेका छन् ।


ह्वाइट हाउसबाट मंगलबार सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यो आँधी शताब्दीकै ठूलो हुन सक्ने चेतावनी दिए ।
‘तुरुन्तै आफ्नो बासस्थान छोडिहाल्नुस,’ उनले फ्लोरिडावासीलाई भने ।

आँधीको सामनामा जुट्नुपर्ने भएकाले ह्वाइट हाउसले बाइडेनको आसन्न जर्मनी र एंगोलाको भ्रमणसमेत रद्द गरेको छ । करिब दुई हप्ता अगाडिको हेलेन आँधीमा २२५ जनाको ज्यान गएको थियो भने सयौं हराइरहेका छन् ।

नेसनल हुरेकेन सेन्टरले हेलेनभन्दा मिल्टन आँधी भयानक हुन सक्ने जनाएको छ । हेलिन आँधीले सडकमा थुपारेका वस्तुहरु मिल्टनले हावामा उडाउन सक्ने र मानिसहरुलाई चोटपट लाग्न सक्ने सेन्टरको चेतावनी छ ।

आँधीहरुलाई हावाको बेगका आधारमा वर्गीकरण गरिन्छ । क्याटेगोरी ३ र त्योभन्दा माथिका आँधीहरु गम्भीर र खतरनाक प्रकृतिका मानिन्छ । तिनीहरुले ठूलो जनधनको क्षति गर्न सक्ने नेसनल वेदर सर्भिस बताउँछ ।

थुप्रै काउन्टीहरुमा मंगलबारदेखि नै भागदौड सुरु भएको थियो । वेस्टर्न र सेन्ट्रल फ्लोरिडामा पुल क्रस गर्दा लाग्ने दस्तुर मिनाहा गरिएको छ । मंगलबारबाट अधिकांस काउन्टीहरुमा स्कुलहरु बन्द गरिएका छन् । टान्पा र ओर्लान्डोमाले आँधी नसकिएसम्म उडान स्थगित गर्ने घोषणा गरेका छन् ।

नेसनल हुरिकेन सेन्टरले मिल्टन आँधी बुधबार राति अति नै खतरनाक हुने बताएको छ । यसले टाम्पा शहरको नजिक हान्नेछ जहाँको नगर क्षेत्रमा ३० लाखभन्दा बढी जनसंख्या छ । मौसमी भविष्यवाणी गर्नेहरुले भारी वर्षात र बाढीको समेत अनुमान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर