‘पर्खिएका प्रचण्ड’ लाई सुनिसकेपछि… – Nepal Press

‘पर्खिएका प्रचण्ड’ लाई सुनिसकेपछि…

ललितपुर । दशैंको अवसर पारेर प्रमुक्षी दलका नेता, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सम्पादकहरूलाई होटल हिमालयमा बोलाएका थिए । मूलधार मानिएका मिडियाका सम्पादक र प्रेस सेन्टरका केही पत्रकार नेताहरूसहितको अनौपचारिक जमघटमा प्रचण्ड धैर्य, जिम्मेवार र प्रतिक्षित सुनिए ।

राजावादीदेखि प्रखर गणतन्त्रवादीसम्मका विचार बोक्ने सम्पादकहरूका आ-आफ्ना उद्देश्यमूलक प्रश्नमा तीन पटक देशको प्रधानमन्त्री भइसकेका पूर्व विद्रोही कमाण्डर प्रचण्ड विपक्षी दलको नेताभन्दा पनि आफूलाई राजनेताका रूपमा उभ्याउने प्रयास गरिरहेका थिए ।

विपत्तिको मिलेर सामना गर्ने

छलफलको शुरूमै आफू सरकारलाई गाली गर्ने पक्षमा नरहेको बताएर विषयवस्तुमा प्रवेश गरेका प्रचण्डले डेढ घण्टा लामो संवादलाई बिट मार्ने क्रममा आफू माओवादीको अध्यक्षभन्दा माथि पुगिसकेको बताए । यद्यपि उनले यो जमघटमा आफूलाई प्रधानमन्त्रीभन्दा माथि देखाउन खोजे पनि त्यही अभिव्यक्ति भने दोहोर्‍याएनन् ।

पछिल्लो समय समकालीन शीर्ष नेताहरूमध्ये प्रचण्ड सार्वजनिक बहस, जनसंवाद र सम्पादकहरूसँगको नियमित भेटघाटमा पनि चुस्त बनिरहेका छन् । प्रधानमन्त्री रहेकै समयमा पनि बेलाबेला यस्ता संवाद गरिरहने प्रचण्डले सत्ता बाहिर पुगेपछि गरेको पहिलो छलफलमा नेपालको राजनीतिक संकटका केही संकेत गरे, तर विस्तृतमा प्रवेश गर्न चाहेनन् ।

विगतमा हौसिएर वा होस्ल्याङ भएर बोल्दा आफ्ना अभिव्यक्ति विवादमा पर्ने गरेकाले पनि हो कि, प्रचण्ड सम्पादकहरूसँग तौलिएर बोलिरहेका थिए । यद्यपि उनले विश्व राजनीतिदेखि नेपालको आन्तरिक अवस्थासम्मको विश्लेषण गर्ने क्रममा ठूलै संकट नजिक आइरहेको संकेत भने गरे । साथसाथै अहिलेको सरकार समेत षड्यन्त्रबाट बनेर संकटनोन्मुख रहेको विश्लेषण सुनाए ।

सरकारलाई अप्ठेरो पार्ने, गाली गर्ने वा सरकार ढाल्ने तीनै खेलमा आफू नरहेको उनले प्रष्ट शब्दमा बताइरहँदा यति ढुक्क देखिएका छन् कि, कुनै पनि बेला माओवादी फेरि सत्तामा पुग्ने पर्खाइमा छन् । त्यसैले बरु प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेको आलोचनामा राम्रै शब्द र समय खर्चिएका प्रचण्ड कांग्रेस र मुलतः सरकारप्रति समेत नरम नै सुनिए ।

विपक्षी दलको नेताको भूमिकामा रहेका प्रचण्डले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने नेपाली परम्परा भएको बताए ।

उनले भने, ‘जतिबेला जनता सङ्कटमा छन् त्यतिबेला सबै सरकार प्रतिपक्ष मिडिया सबै मिलेर त्यसको सामना गर्ने परम्परा छ । अहिले पनि त्यही मनसायका साथ संकटको सामना गर्नुपर्छ । अझै पनि खोजकार्य बाँकी नै छ । खोजी, उद्धार राहतको काममा लाग्ने । पुनर्निर्माण र पुन:स्थापनाको चुनौती छ ।’

भूराजनीतिबारे फेरिएको बोली

सत्ताबाट हट्ने बित्तिकै आक्रोशित भएका प्रचण्ड अहिले मत्थर भइसकेका छन् । सम्पादकहरूसँगको छलफलमा उनले शुरूमै भूराजनीतिक जटिलताको व्याख्या गर्दै अहिलेको सरकार विदेशीको कारणले बनेको होइन भने । बरु विदेशीकै कारण संकटमा पर्न सक्ने संकेत उनले बुझिनेगरी नै दिए । सरकार आन्तरिक कारणले नै बनेको उनले प्रष्ट बताए ।

प्रचण्डले आफू सरकारबाहिर पुगेपछि दिएको बंगलादेश बन्न सक्ने चेतावनी समेत सच्याएका छन् । उनले यहाँको विशिष्ट अवस्थाका कारण नेपाल बंगलादेशजस्तो बन्न नसक्ने सम्पादकहरूसँग बताए । जबकी उनले जसले बंगलादेशमा शेख हसिनालाई सत्ताच्युत गर्‍यो त्यही शक्तिले आफूलाई प्रधानमन्त्रीबाट हटाएको त्यसबेला बताएका थिए ।

प्रचण्डका फेरिएका अभिव्यक्तिको संश्लेषण के हो भने, उनी भूराजनीतिक यथार्थ बुझिरहेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री बनेको दक्षिणको भूराजनीतिक शक्तिलाई मन परेको छैन । बरु त्यो शक्तिमार्फत कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब दिने प्रयास भइरहेको छ । यद्यपि बूढानीलकण्ठको ढोका अहिलेसम्म खुलेको छैन ।

अर्कोतर्फ उत्तरको शक्ति पनि चित्त दुःखाएर बसेको छ । उसले एमाले र माओवादीको सत्ता सहकार्य आगामी निर्वाचनसम्म जाओस् भनेर धेरै मेहनत गरेको थियो । एमाले-माओवादी गठबन्धन टुट्न नदिन अन्तिम क्षणसम्म गरेको प्रयास असफल भएपछि फाटेको चित्त सायद अझै पुरिएको छैन । त्यसका संकेत दुवैतिर प्रधानमन्त्रीको औपचारिक भ्रमणको चाँजोपाँजो केही सुरसार देखिन्न ।

लोकप्रियतवादी र ओलीविरोधी रिझाउँदै

भूराजनीतिक शक्ति सन्तुलनको विश्लेषण गरिरहेका प्रचण्डले आन्तरिक राजनीतिक सन्तुलनलाई पनि आफ्नो अनुकूल बनाउन कुनै प्रयास छ बाँकी राखेका छैनन् । सरकारको दुई तिहाई बहुमत पुग्न नदिनेदेखि सत्ता गठबन्धनकै नेपाली कांग्रेसप्रति नरम बन्ने नीति त्यसको प्रस्थानविन्दु हो । शेखर कोइरालालगायत कांग्रेस नेताहरूको पछिल्लो असन्तुष्टिले प्रचण्डलाई सन्तुष्ट बनाएको छ ।

सरकारविरुद्धका असन्तुष्टि, आक्रोश र निराशाका सबै आवाजलाई धुन दिने रणनीतिमा प्रचण्ड देखिन्छन् । उनले सम्पादकहरूसँग पनि नयाँ र स्वतन्त्रहरूलाई लोकतन्त्रका सुन्दर फूलको संज्ञा दिँदै उनीहरूको जगेर्ना गर्ने आफ्नो नीति रहेको सुनाए । प्रधानमन्त्री ओली र एमाले पंक्तिसँग बालेनहरूको ‘साइबर वार’ प्रति लक्षित गर्दै उनले लोकतन्त्रमा सयौं फूलहरूलाई फूल्न दिनुपर्ने बताए ।

नयाँ र स्वतन्त्रहरूमात्र होइन प्रचण्ड राजा ज्ञानेन्द्र शाहदेखि उनका समर्थक र हिन्दुवादीहरुप्रति समेत विगतमा जस्तो नकारात्मक सुनिन छाडेका छन् । सबै असन्तुष्टिहरूको संगठित आवाज बन्न खोजिरहेका प्रचण्डले पूर्वराजाको भुटान भ्रमण र उनले पाएको सम्मानलाई समेत आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भने । उनले ज्ञानेन्द्रलाई पूर्वराजा नभनी राजा नै भने, तर राजतन्त्र भने नफर्किने बताए ।

यी सबै अभिव्यक्तिबाट के बुझ्न सकिन्छ भने, प्रचण्ड अहिले समाजमा र राजनीतिमा देखिएका जति पनि पपुलिस्ट व्यक्ति र शक्तिहरू छन् उनीहरूलाई नचिढ्याउने बरु आफूप्रति नरम बनाएर ओलीविरुद्ध घेराबन्दी अझ कसिलो बनाउँदै लैजानेमा देखिन्छन् । त्यसैले पूर्वका पहिचानवादी, मधेशवादी, बालेनवादी, राजावादी, हिन्दूवादीहरुलाई समेत प्रचण्डले लोकतन्त्रका सयौं फूलको स्थान दिएका छन् ।

आफू सरकार ढाल्ने वा ढलिहालोस् भन्ने पक्षमा नरहेको बताइरहँदा प्रचण्डले अन्तिममा भने-म त जनताकै बीचमा खुसी छु तर परिस्थिति अर्कै बनिरहेको छ । तपाईँहरूलाई म अरु डिटेल अहिले बताउन चाहन्नँ, तर राजनीति फेरिँदैछ । पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनु नै संकटको कारक हो, अरु कुरामा मलाई थप बोल्न नलगाउनुस् ।

त्यसैले होला, प्रचण्ड अहिले पर्खिएको अवस्थामा देखिएका छन् ।

भिडिओमा हेर्नुहोस्- सम्पादकहरूसँग यसरी खुलेका थिए प्रचण्ड


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *