दशैंको किनमेल : नेपाली बजार सुनसान, भारतमा ठेलमठेल – Nepal Press

दशैंको किनमेल : नेपाली बजार सुनसान, भारतमा ठेलमठेल

सुनौली । नेपाली उद्योग व्यवसायीको चौतर्फी दबाबमा भारतबाट १ सयभन्दा बढीको सामान ल्याउनेलाई अनिवार्य भन्सार गर्नुपर्ने सरकारी नियम कागजमा सीमित भएको छ ।

सरकारले एकवर्ष अघि ल्याएको यस्तो निर्णयले नेपाली व्यापारीहरु उत्साहित भएका थिए तर सरकारको त्यो निर्णयको विरोध भएपछि भन्सार विभागले कानुनमा त्यो नियम परिवर्तन त गरेको छैन तर कार्यान्वयन पनि गरेको छैन ।

सुरुसुरुमा यो नियम ल्याउँदा सीमा क्षेत्रमै भन्सारका कर्मचारी बसेर चेक गर्ने र बढी सामान ल्याएकोलाई सिधै भन्सार पठाउने गरेका थिए तर यो विषय नेपालको भन्दा भारतीय पक्षबाटै दवावमा कमजोर भएको व्यवसायीको बुझाई छ ।

रुपन्देहीको मोतीपुरकी जानका अर्यालले सुनौलीबाट करिब १५ हजारको सामान ल्याइन् । एक वर्षअघि उनलाई १० किलो चिनी र दुई जोर कपडा ल्याउँदा भन्सारमा पठाएपछि त्यसयता सुनौली पारी गएकी थिइनन् तर अहिले भन्सारमा कडाई नभएको सूचना साथीहरुबाट पाएपछि गएर सामान ल्याएको तर सीमा क्षेत्रमा केही नगरेको बताइन् ।

‘केही प्रहरी त हुनुहुन्थ्यो, घर खर्च बताएँ केही भन्नुभएन, डर लागेको थियो’ उनले भनिन् । उनका अनुसार कपडा तथा अन्य सामान उता धेरै कम मूल्यमा पाइने भएकाले गएको तर सामानको गुणस्तर पहलिेभन्दा कम भएजस्तो उनलाई पनि लागेको छ ।

सुनौलीबाट झोलामा घरखर्चको सामान बोकेर आएकी कपिलवस्तुकी दिपिका शर्माले १२ हजार बराबरका विभिन्न सामान ल्याएको तर सिमानामा पहिलेजस्तो समस्या नभएको बताइन् ।

‘भारतको सुनौली बजारमा पुगेर दसैँका लागि सामान किनेर आएकी हुँ, तीनजना आएका हौं, कस्तो भएछ नआएको पनि धेरै भयो, आएपछि बाटा खर्च त उठाउनु पर्योभनेर किनेको हो’ उनले भनिन् । आफ्नो गाउँमा भन्दा कपडा सस्तोमा पाइने भएकाले सुनौली बजार आएको उनले बताइन् ।

भारतको सीमावर्ती क्षेत्रमा नेपाली उपभोक्तलाई लक्षित गरेर भारतीय व्यवसायीहरुले ठूलो लगानी गरेका छन् । रुपन्देहीमा मात्रै ६० किलोमिटर खुला सीमा भएकाले मुख्य नाकामा कडाई गरेपनि सहायक नाकाबाट भन्सारबिना सामानहरु आइरहेका हुन्छन् ।

त्यसो त नेपालमा रहेका ठूला घरानाका उद्योगी व्यवसायीहरुका परिवारका सदस्यहरु पनि सीमा पारीका बजारमा प्रशस्त भेटिए । परिवारका सदस्यहरुले नेपालमा बसेर सीमानामा कडाई गर भन्ने तर आफ्ना परिवारका सदस्यलाई त्यहाँ जान दिन रोक्न नसक्ने भएका कारण यस्तो भएको विश्लेषण व्यवसायीहरु नै गर्दछन् ।

अहिले नेपाली बजारमा भन्दा सीमा पारीका भारतीय बजारहरु गुल्जार देखिएका छन् । सस्तोमा सामान पाइने भएकोले लोभले धेरै नेपाली उपभोक्ता भारतीय बजार जाने र चाडपर्वमा अधिकांश सामान उतैबाट भित्राउने गरेको तर त्यसको गुणस्तरबारेमा सचेत हुन नसकेकाले समस्या भएको रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा बताउँछन् ।

भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लामा पर्ने अधिकांश बजारहरु भारतीय व्यवसायीहरु नेपाली रुपैयाँ नै चलाउँछन् भने नेपाली भाषामै उनीहरु बोलेर व्यापार गरिरहेका हुन्छन् ।

चिनी, चियापत्ती, साबुन, तेलदेखि दसैँका लागि लत्ताकपडा र अन्य सामानसमेत किन्न जानेहरूको भिड सीमा पारी निकै बढेको छ । दसैँ, तिहार, छठसम्म यस्तै भिड लाग्ने गर्दछ ।

पछिल्लो समय सुनौलीमा नेपाली ग्राहक कारणले भीडभाड बढेको सुनौलीका व्यवसायी अतुश मिश्रा बताउँछन् । चाडबाडका कारण यस्तो भएको तर पहिलेभन्दा व्यपार खस्केको उनी बताउँछन् ।

गतवर्ष नेपाल सरकारले भारतबाट १ सय रुपैयाँभन्दा बढीको सामान ल्याएमा भन्सार शुल्क लगाउने निर्देशन दिएपछि धेरै नेपाली भन्सार तिर्ने झन्झटले गर्दा सामान्य किनमेलका लागि भारतीय बजार जान छाडेका थिए । अहिले उक्त नियम फितलो भएपछि सुनौलीमा कारोबार धेरै भएको रुपन्देही उद्योग संघका अध्यक्ष सापकोटा बताउँछन् ।

सुनौली बजारमा कोभिडपछि पहिलो पटक अहिले धेरै भीडभाड भएको त्यहाँका व्यवसायीहरु बताउँछन् । रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले गत वर्ष एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाउन थालिएपछि सीमावर्ती क्षेत्र सुनौलीको व्यापार खस्किएको तर यो वर्ष भन्सारमा त्यति कडाइ नहुँदा नेपाली बजारको तुलनामा भारतीय बजार फस्टाएको उनले बताए ।

अधिकारीका अनुसार ‘नेपाली उपभोक्ताका कारण सुनौली बजारमा भरिभराउ भएपनि नेपाली व्यापारीहरूले सटर भाडा तिर्न नसक्ने अवस्थामा पुगेको दावी गरे ।

उपभोक्ताका अनुसार नेपाली बजारमा चिनीको मूल्यभन्दा भारतीय बजारमा चिनीको मूल्य प्रतिकिलो ४० रुपैयाँ कम भएकाले सबै सामानमा मूल्य कम पर्ने आंकलन व्यवसायीको रहेको हुन्छ ।

चिनी, साबुन, दालदेखि कपडाजस्ता वस्तुको मूल्य नेपाली बजारको तुलनामा सुनौलीमा सस्तो भएपनि यसको गुणस्तरका विषयमा कसैले केही नबोल्ने समस्या रहेका सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ बताउँछन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद आचार्यले सुनौलीमा सामान सस्तो पाइने भएकाले नेपाली ग्राहकहरू उता जाने गरेका तर नेपाली बजारको तुलनामा भारतीय बजारमा पाइने सामानको गुणस्तरमा फरक पर्ने तर्क गर्दछन् ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले एक सय रुपैयाँभन्दा धेरैको सामान ल्याउनेलाई राजस्व लिनुपर्ने नियम यथावत् रहेपनि चाडपर्वको बेला धेरै भीडभाड हुने भएकाले सानोसानो वस्तुमा चेकिङ बस्ने नसकेको हुनसक्ने दावी गर्छन् ।

गतवर्ष यो विषयमा सरकारले निर्णय गरेपछि भारतीय व्यवसायीको दवावमा तत्कालीन अर्थमन्त्रीसँग लगातार छलफल गरेर निर्णय सच्चाउन दवाव दिएका थिए । यो विषयमा निर्णय त सच्चाइएको छैन तर यसलाई कार्यान्वयनमा पनि नलगेर आफ्नै निर्णयको खिल्ली उडाइएको छ ।

त्यसो त सरकारको यो निर्णय विश्व व्यापार संगठनमा आवद्ध नेपालले यस्ता विषयमा अल्झेर उपभोक्तालाई सस्तो किन्न पाउने अभिकारबाट रोक्न नहुने दवाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *