पूर्वाधार निर्माण सिर्जित विनाश र जोखिम न्यूनीकरणका ५ सुझाव
बाढी, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक प्रक्रियाहरू विनाश (disaster) निम्त्याउने साधनहरू हुन् । हामीले कसरी (जोखिमको ख्याल गरी वा नगरी) पूर्वाधार तथा संरचनाहरूको निर्माण गरेका छौ भन्ने कुराले विनाशको मात्रामा फरक पार्छ । आजको निर्णयले भोलि असर गर्ने भएकोले पूर्वाधार निर्माणमा जोखिम संवेदनशील (risk sensitive) हुनु अत्यन्त जरुरी छ । तसर्थ विनाश प्राकृतिक होइन हाम्रो भूगोल असंवेदनशील विकासको नतिजा हो ।
जस्तै विक्रम संवत् २०७८/७९ सालतिर देउखुरी उपत्यका तथा लुम्बिनी प्रदेशको राजधानीमा पर्ने गढवाँ गाउँपालिका (दाङ) को महादेवा खोलामा पुल निर्माण गर्ने क्रममा स्थानीयले इन्जिनियरहरूलाई यस ठाउँमा यसरी पुल निर्माण गरिदिनुभयो भने प्रत्येक वर्ष डुन्डुवा पहाड (चुरेबाट छुट्टिएको भारतको सिमानासँग जोडिएको नेपालको एक मात्र पर्वत श्रृंखलाबाट आउने वर्षाको भल गाउँ पस्न पाउँदैन भनेर सुझाए । इन्जिनयरहरूले “तपाई इन्जिनियर हो कि हामी” भनेर हकारेर स्थानीय जोखिमको हेक्कै नराखी पुल निर्माण गरे । अर्को वर्ष भल गाउँ पस्यो । त्यसैगरी दाङ जिल्लाकै राप्ती गाउँपालिकामा निर्मित दोलई खोला नजिकको अस्पताल पनि स्थानीयले त्यस क्षेत्र डुबान परिरहने कुरा जानकारी गराउँदा गराउँदै बनाइदिए अहिले अस्पताल डुबानको जोखिममा छ ।
चौथो तथा महत्त्वपूर्ण सुझाव भनेको कुनै पनि निर्माण कार्य गर्दा जोखिम तथा प्रकोप प्रभावको अध्ययन तथा आँकलन अनिवार्य र जोखिम नियन्त्रणको पूर्वतयारीको रूपमा गर्नुपर्छ । यदि मेलम्चीमा जोखिम प्रकोपको बारेमा विस्तृत अध्ययन भएको भए एकै छिनको वर्षा र पहिरोले अरबौँको खानेपानी संरचनाहरूको क्षति हुँदैन थियो होला ।
माथिका यी प्रतिनिधि उदाहरणहरू मात्र हुन । यस्ता स्थानीय भूगोल र जोखिमको ज्ञान र अध्ययनविना बनाएका हजारौं संरचनाहरू प्रत्येक वर्ष भत्किने, जोखिमलाई बढवा दिने तथा प्रकोपमा पर्ने गरेका छन् । २४० जना भन्दा बढिको ज्यान लिएको तथा अरबौँको क्षति पुर्याएको २०८१ असोज ११-१२ मा परेको पानीको भेल र बाढीले अत्यधिक क्षति गर्नुको एउटा प्रमुख कारण खोलाको किनारमा निर्माण गरिएका जोखिमयुक्त संरचनाहरू भत्किएकोले पनि हो ।
जब वर्षाको पानीले कुनै ठाउँको संरचना भत्काउँछ र बाढीमा मिसिन्छ त्यसले बाढीमा थप शक्ति (additional force) सिर्जना गर्नुको साथै खोलाको बाटोमा विभिन्न प्रकारहरूको अवरोध सिर्जना र कृत्रिम बाँध तथा पर्खाल निर्माण गर्ने भएकोले खोला अन्य बस्ती तथा वैकल्पिक मार्गबाट बग्न थाल्छ जसले झन् बढी डुबान र धनजनको क्षति गर्छ । बाढीपहिरोको भयावह रुप दशैको मुखमा गरेको क्षतिले नै देखाइसकेको छ ।
सिधा भाषामा भन्नु पर्दा प्राकृतिक रूपमा परेको वर्षाको पानीले भन्दा सयौंगुणा क्षति खोलाको छेउमा स्थानीय जोखिम र भूगोल तथा भू-गर्वको ज्ञानको प्रयोगविना निर्माण गरिएका संरचनाहरूले गर्दा हुन्छ । यस्ता जोखिमपूर्ण ठाउँमा संरचना बनाउने व्यक्ति तथा प्राविधिकहरू मात्र नभई निर्माण स्वीकृत दिने तथा अव्यवस्थित निर्माणलाई नियमन नगर्ने सरकार पनि दोषी हो । नेपाली भूगोल, भू-गर्भ, भौगोलिक विविधता, तिनका फरक-फरक जोखिमहरू र यी सबै कुराहरूलाई बुझेर काम गर्ने परिपाटी नहुनु विपद्को मूल कारण हो । अबको जोखिमरहित वा जोखिम न्यूनीकृत विकास, सहरीकरण र समाज निर्माणको लागि कस्तो बाटो लिनुपर्छ भन्नेमा मेरा पाँच सुझावहरू छन् ।
पहिलो
जसरी समुन्द्र क्षेत्रका मुलुकहरूले आफ्नो नागरिकहरूलाई पौडी खेल्न सिकाएका हुन्छन् त्यसैगरी नेपालको शिक्षा प्रणालीमा नेपाली भूगोल र भू-गर्व शास्त्रको अध्ययन अनिवार्य गर्नुपर्छ । नेपाल देश भौतिक रूपमा एक भए पनि हिमालदेखि तराईसम्मको क्षेत्र फरक-फरक भूगोल (भू-आकृति, मौसम, नदी, ढुङ्गा, माटो, वोटविरुवा, जनावर, मानव बस्ती, समाज र विकास क्रम आदि) ले बनेको छ । तराईको लागि प्रयोग गरिने इन्जिनियरिङ विधि पहाड र हिमालमा लागू नहुन सक्छ । पाश्चात्य विज्ञानद्वारा सिकिएको र सिकाइएको विधि, मोडेल तथा सूत्रहरू नेपाली भूगोल र भू-गर्भको बनावट र अवस्थिति अनुसार सामञ्जस्य (customization) गर्नु पर्ने हुन सक्छ । हाम्रो पहाडहरूको भिरालोपन, मनसुनको खण्डित र एकीकृत वर्षा र सम्भावित जोखिमहरूको ख्याल गरेर पूर्वाधारहरूको निर्माण गर्नुपर्छ ।
संरचना निर्माण गर्ने क्षेत्र भित्रका खोलानालाहरूको अवस्थिति, विगतमा भएका विपद्हरू (बाढी, पहिरो, भूकम्प, आगलागी, आदि), त्यस क्षेत्रको बस्ती विकासको इतिहास, सहरीकरणको अवस्था र भू-बनावट आदिको अध्ययनले त्यस क्षेत्रमा कस्तो खालको विपद् तथा प्रकोप आउन सक्ला भनेर वर्तमानमानै धेरै हदसम्म थाहा पाउन सकिन्छ ।
अन्य देशमा लागू गरिएको विधि तथा मोडेलहरू जस्ताको तस्तै लागू गर्दा नेपाली भूगोल नसुहाउने मात्र होइन त्यस्तो संरचना भविष्यमा जोखिम सिर्जना गर्ने साधन बन्न सक्छ । तसर्थ विद्यालय तहदेखिनै नेपाली भूगोल र भू-गर्व शास्त्रको अध्ययन गराउँदा विज्ञहरूलाई कस्तो भूगोलमा कस्तो संरचना बनाउने भन्ने हेक्का रहन्छ । “सामाजिक शिक्षा” विषयमा भूगोलको सामान्य र सीमित ज्ञान दिएर मात्र पुग्दैन । नेपाल दक्षिणदेखि उत्तरसम्म करिब २०० किलोमिटरको हाराहारीमा मात्र फैलिएको भएपनि यसको भौगोलिक विविधता हजारौं किलोमिटरमा फैलिएको भू-मध्यरेखादेखि ध्रुवीय क्षेत्रको भू-आकृति, मौसम र वनस्पतिसँग मेल खान्छ । अझ प्राविधिक विषयमा उच्च शिक्षा दिने शैक्षिक संस्थाहरूले त नेपाली भूगोलको अध्ययनमा विषेश ध्यान दिनुपर्छ ।
दोस्रो
सहर तथा बजारका खोलाहरू छेउका अव्यवस्थित बस्तीहरूको विस्तार तथा जथाभावी बालुवा-गिट्टी उत्खननमा तत्कालै नियन्त्रण गर्नुपर्छ । असोजको बाढीपहिरोको काठमाण्डौ र वरपरका क्षेत्रहरूमा अत्यधिक क्षति गर्नुको कारण खोला छेउका बस्तीहरू बगाएकोले पनि हो । काठमाडौं उपत्यकाको काठ (base of surrounding hills) तथा डोल (low land areas) क्षेत्रहरूमा अत्यधिक र अव्यवस्थित निर्माण कार्यहरू भएकाले वर्षाको पानी कहिँ पनि अडिन पाउँदैन र सिधै खोलामा आउँछ जुन खोलाले धान्न सक्दैन र बाढिको रुप लिन्छ । पहिले डोल क्षेत्रहरूमा खेतीपाती हुन्थ्यो जसले गर्दा पानी सिधै खोलामा जान पाउँदैनथ्यो र बाढीको नियन्त्रण प्राकृतिकरूपमै हुन्थ्यो । साथै जथाभावी बालुवा तथा गिट्टी उत्खनन् गर्नाले वर्षाको बेलामा माटो बग्ने र पहिरो जाने गर्छन् । रोशी खोला र नख्खु खोलाहरूले यस वर्ष क्षति गर्नुमा जथाभावी बालुवा तथा गिट्टी उत्खननको ठूलो भूमिका छ । तसर्थ असोज २०८१ को प्रकोपबाट शिक्षा लिएर सरकारले अव्यवस्थित तथा असुरक्षित बस्ती विकास र अन्य पूर्वाधारको निर्माण कार्यहरू र उत्खननलाई तत्कालै नियमन गर्नुपर्छ ।
तेस्रो
बाटो निर्माणको नाममा मध्य पहाडी क्षेत्रहरूमा जथाभावी खन्ने काम भइरहेकोले युवा अवस्थाका पहाडहरू जो कमसल हुन्छन् चिराचिरा परेका छन् जसले गर्दा पहाडका ढुङ्गा-माटो टाँसिएर बस्ने क्षमतामा कमी आईरहेको छ । डोजरे इन्जिनियरिङ र लहडमा वर्षाको पानीको निकास र भिरालोपनको स्थिरतालाई ख्याल नगरी बाटो खन्दा वर्षाको पानीले माटो बगाउने र पहिरो जाने गर्छ । वर्षाको बेलामा यस्ता बाटाहरू खोलामा परिणत हुन्छन् । ढुङगा, बालुवा, गिट्टी, पातपतिङ्गर र माटो बगाएर खोल्सामार्फत खोलामा पुगी बाढिको रुप लिन्छ । खोलामा यस्ता पदार्थहरू थुप्रिन गई खोलाको दुवै छेउमा क्षयीकरण (lateral erosion) हुन्छ र पहिरो खस्न थाल्छ ।
यसरी खोलामा पानी र पदार्थहरू मिसिन गई थप शक्ति सिर्जना गर्नुको साथै कृत्रिम बाँध तथा पर्खालको निर्माण भई खोला थुनिने वा अनियन्त्रित भएर बग्छ र तल्लो तटीय क्षेत्रका बस्तीहरूमा धनजनको ठुलो क्षति गर्छ । यस्ता घटनाहरू नेपालमा घटिसकेका छन । तसर्थ यस्ता निर्माण कार्यहरूलाई नियन्त्रण गरी उच्च प्रविधि र प्राविधिक ज्ञानको प्रयोग गरी आवाश्यकीय र आर्थिक विकासको लक्ष्य हासिल गर्ने किसिमले बाटोघाटो निर्माण गर्नुपर्छ ।
चौथो तथा महत्त्वपूर्ण सुझाव भनेको कुनै पनि निर्माण कार्य गर्दा जोखिम तथा प्रकोप प्रभावको अध्ययन तथा आँकलन अनिवार्य र जोखिम नियन्त्रणको पूर्वतयारीको रूपमा गर्नुपर्छ । यदि मेलम्चीमा जोखिम प्रकोपको बारेमा विस्तृत अध्ययन भएको भए एकै छिनको वर्षा र पहिरोले अरबौँको खानेपानी संरचनाहरूको क्षति हुँदैन थियो होला । ठूला परियोजनाहरूको सम्भाव्यताको अध्ययन (feasibility study) हुने गरेको भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो छ। अहिले वातावरण प्रभावको मूल्याङ्कन (Environmental Impact Assessment) भनेर गरिन्छ तर सम्भावित प्रकोपको ख्याल गरेको पाइँदैन । कुनै संरचनाको निर्माण गर्दा त्यहाँको स्थानीय भूगोल र समाजलाई कस्तो प्रभाव पार्न सक्छ भन्ने कुराको अध्ययन वर्तमान अवस्थाको अध्ययन गरेर धेरै हदसम्म अनुमान गर्न सकिन्छ र सोही अनुसार निर्माण संरचनाको दिगोपनाको अनुमान गर्न सकिन्छ । विपत् बाजा बजाएर आउँदैन तर पुर्वतयारीमा अहिले १ रुपैयाँ थप खर्च गर्यो भने भविष्यको १० रुपैयाँ सम्म वा त्यो भन्दा बढीको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।
संरचना निर्माण गर्ने क्षेत्र भित्रका खोलानालाहरूको अवस्थिति, विगतमा भएका विपद्हरू (बाढी, पहिरो, भूकम्प, आगलागी, आदि), त्यस क्षेत्रको बस्ती विकासको इतिहास, सहरीकरणको अवस्था र भू-बनावट आदिको अध्ययनले त्यस क्षेत्रमा कस्तो खालको विपद् तथा प्रकोप आउन सक्ला भनेर वर्तमानमानै धेरै हदसम्म थाहा पाउन सकिन्छ । स्थानीय बासिन्दा र सरकारलाई स्थानीय जोखिम प्रकोपहरूको अवस्था बुझ्न धेरै समय पनि लाग्दैन । तसर्थ जोखिम र प्रकोपको अध्ययन र आँकलन नगरी अव्यवस्थित निर्माण कार्य र विकास गर्दै जानु भनेको भोलिको दिनमा जोखिम हुने वातावरण बनाउनु हो ।
पाँचौँ
नेपाल बाढीपहिरो, भूकम्प, आगलागी तथा जलवायु परिवर्तनको प्रभावको हिसाबले जोखिमपूर्ण देश हो । तसर्थ जोखिमको बेलामा उद्धार तथा राहत वितरणको निर्णय तत्कालै गर्नुपर्ने हुन्छ र यस सम्बन्धी कार्य गर्ने निकायहरू पूर्ण तयारी अवस्थामा बस्नुपर्छ । असोजको डरलाग्दो क्षति हुनुमा सरकारले जोखिममा परेकाको उद्धार गर्न ढिलाइ गर्नाले पनि हो । काठमाडौं जस्तो सुविधा सम्पन्न सहरमा घण्टौँ गुहार माग्दामाग्दै पनि दुई जनालाई खोलाले बगाएको घटना सरकारको ढिलासुस्तीको कारणले भएको हो । जलवायु तथा मौसम विभाग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हप्ता-दस दिन अगावै भारी वर्षा र बाढीपहिरोको जोखिम हुनसक्ने कुराको जानकारी गराउँदा पनि सरकारले आफ्ना निकायहरूलाई परिचालन गर्न नसक्नु ठुलो भुल हो । तसर्थ नेपालजस्तो देशमा प्रकोपबाट बचाउने र जोखिम न्यूनीकरण गर्ने निकायहरू वर्षभरि नै तयारी अवस्थामा बस्नुपर्छ ।
अन्त्यमा, २०८१ असोज ११-१२ गतेको जस्तो वर्षा र बाढीपहिरो फेरि पनि आउन सक्छ । केही दशक लाग्ला तर त्यस्तो वर्षा हुने सम्भावना प्रबल छ । तसर्थ तीन तहका सरकारहरू र सरोकारवालाहरूले माथिका पाँच कुराहरूमा अहिले देखिनै ध्यान पुर्याएर अबको विकास कार्य जोखिमरहित वा जोखिम न्यूनिकृत समाज निर्माणको लागि नेपाली भूगोल र भू-गर्व बुझेर निर्माण कार्यको थालनी आजैबाट गर्नुपर्ने कुराको हेक्का राखौँ ।
(लेखक पौडेल साउथ एसिया इन्स्टिच्युट अफ एडभान्स स्टडिस (सियास) मा कार्यरत छन् ।)