‘पहिलोपटक प्रि-बुकिङको अनुभव लिँदैछौं, दर्शकको गाली पनि माया नै रहेछ क्यारे’ – Nepal Press

‘पहिलोपटक प्रि-बुकिङको अनुभव लिँदैछौं, दर्शकको गाली पनि माया नै रहेछ क्यारे’

काठमाडौं । आफ्नो चलचित्र ‘छक्का पञ्जा-५’ रिलिजको मुखमा डेंगु लागेर थला परिन् चलचित्रकी निर्देशक दीपाश्री निरौला । उनी ओछ्यानमा लडिरहँदा सामाजिक सञ्जालमा ‘छक्कापञ्जा ५’ विरुद्ध ठूलै कोलाहल चलिरहेको थियो ।

अलि तंग्रिएपछि दीपाश्री हिजोबाट फेरि फिल्मको दौडधुपमा लागेकी छन् । फिल्मले सेन्सरबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएपछि उनले सन्तोषको सास फेरिन् । तर, योभन्दा ठूलो सन्तोष चाहीँ उनलाई चलचित्रको प्रि-बुकिङले दिएको छ । रिलिजको दुई दिन अगाडिबाटै देखिएको प्रि-बुकिङ लहरले ‘छक्का पञ्जा ५’ का तनावग्रस्त अनुहारहरूमा मुस्कान फर्किएको छ ।

नेपाली चलचित्र हेर्ने दर्शकले ‘प्रि बुकिङ’ गर्ने ट्रेन्ड सम्भवत: पहिलोपटक देखिएको हो । फेसबुकमा ‘छक्कापञ्जा-५’ विरुद्ध जेहाद छेडिएको देख्दा यसपालि दीपकराज एन्ड कम्पनीलाई ठूलै धक्का लाग्छ कि भन्ने आँकलन गरिएको थियो । दीपकराज स्वयम् पनि प्रतिरक्षात्मक बनेर भन्दै थिए, ‘पहिले १२ गाउँ र ज्वाइँसाब हेर्नुस्, त्यसपछि छक्कापञ्जा हेर्दा हुन्छ ।’

तर, सामाजिक सञ्जालको जनमत एउटा भ्रम हो भन्ने साबित भयो, जब ‘छक्का पञ्जा’ को बुकिङ खुल्नासाथ हलका सिटहरूमा रातो टीका देखिन थाले । कम्तीमा यो तय भएको छ कि चलचित्रले बम्पर ओपनिङ गर्नेछ । दोस्रो सातादेखिको व्यापार भने दर्शकको ‘वर्ड अफ माउथ’ मा निर्भर हुन्छ । स्मरण रहोस् कि चलचित्रले डिजिटल राइट र देश-विदेशको वितरण अधिकारबाट आफ्नो लगानी रिलिज पहिल्यै उठाइसकेको थियो । हलबाट हुने आम्दानी सबै मुनाफा हो ।

चलचित्रको प्रि-बुकिङ देखेर निकै हौसिएकी छिन् दीपाश्री । उनले प्रि-बुकिङको स्वाद पहिलोपटक चाखिरहेको बताइन् ।

‘यो भन्दा अगाडि हाम्रो कुनै पनि चलचित्रको यस्तो प्रि-बुकिङ हुन्थेन । दर्शकले हलमै गएर टिकट काट्थे । यसपालि सुखद आश्चर्यमा परियो,’ उनले भनिन् ।

‘छक्का पञ्जा ५’ कै सेरोफेरोमा दीपाश्रीसँग गरिएको कुराकानीः

– फिल्म रिलिजको संघारमा बिरामी पर्नुभयो, अहिले कस्तो छ ?

फिल्मको दौडधुपबीच १६ गतेबाट असहज महसुस भएको थियो । १७ गतेबाट ओछ्यान नै परेँ । डेंगुले अरुलाई जस्तै मलाई पनि गाह्रो नै पार्‍यो । उठ्न खुट्टै टेकिँदैनथ्यो । तैपनि मेरो प्लेटलेट्स १ लाख ६० हजार भएकाले पुरै थला परेको चाहीँ थिइनँ ।

अहिले अलि आराम भएको छ । हिजोबाट बाहिर निस्किएँ । माग्नुले सुत्नै दिएन नि (हाँस्दै) ।

– तपाईं बिरामी हुँदा फेसबुकमा छक्कापञ्जाविरुद्ध भइरहेको हल्लाखल्लाबारे अपडेट हुनुहुन्थ्यो ?

फेसबुक धेरै चलाउन सक्ने अवस्था त थिएन । आँखै खोल्न गाह्रो हुन्थ्यो । तर पनि अपडेट त भइरहेकै थिएँ ।

– सामाजिक सञ्जालमा आइरहेको गालीगलौजले तपाईँलाई कत्तिको मानसिक तनाव भयो ?

पीर त लागि नै हाल्छ । यतिका वर्षदेखि फिल्म बनाइरहेको, ब्याक टु ब्याक हिट फिल्म दिइरहेको मान्छेलाई हतोत्साही गरेर विस्थापित गर्न किन खोजिएको होला भन्ने लाग्थ्यो । आखिर हामीले गल्ती के नै गरेको थियौं र यस्तो गाली खानलाई । मैले त भगवानको नाम लिँदै बसेँ । हामीले सत्कर्म गरेका छौं भने परिणाम पक्कै राम्रो आउँछ भन्ने आत्मविश्वास चाहीँ थियो । हामी ‘स्ट्रङ’ हुनुपर्छ भन्ने भनेर एक-अर्कालाई हौसला दिइरहेका थियौं ।

अहिले पनि मेरो चिन्ता भनेको यस्तो प्रवृत्तिले नेपाली चलचित्रलाई कहाँ पुर्याउँछ भन्ने हो । हामीले त झेल्यौं, सबैले झेल्न सक्छन् भन्ने छैन ।

– तपाईंहरूमाथि यति तीव्र आक्रमण किन भयो होला जस्तो लाग्छ ?

त्यो त म पनि बुझ्न सकिरहेको छैन । हुन त वर्ल्डवाइड नै यस्तै हो । जो सफल छ, उसैको खुट्टा तान्ने प्रयास हुन्छ । जो पावरफुल छ, उसलाई कमजोर बनाउन खोजिन्छ । भारतमा पनि शाहरूख खान, सलमान खानहरूको कति धेरै आलोचना भइरहेको हुन्छ । आलोचना गर्नेहरू थोरै भए पनि आवाज चर्को सुनिन्छ । हाम्रो हकमा पनि त्यही भएको हो ।

– सामाजिक सञ्जालको माहोल हेर्दा यसपालि चैँ फिल्म चिप्लिने भो भन्ने डर लागेन ?

छक्कापञ्जालाई गाली आएको अहिलेमात्र होइन । हामीले ६ एकान ६ देखि नै गाली खान थालेका हौं । तर, कहिले पनि विचलित भएनौं । चलचित्र हलमा लागेपछि सधैँ दर्शकले अथाहा माया दिनुभएको छ । त्यसैले यसपालि पनि आशा मारेका थिएनौं । हामीलाई आफ्नो प्रोडक्टमा विश्वास छ ।

– फिल्म राम्रो छ भन्ने विश्वास हुँदाहुँदै प्रिमियर गर्न चाहीँ किन डराउनुभएको ?

डराएको होइन । हामीले अहिलेसम्म कुनै पनि चलचित्रको प्रिमियर गरेका छैनौं । चलचित्र भनेको दर्शकका लागि हो । त्यसैले सीधै दर्शकलाई देखाएर उनीहरूको प्रतिक्रिया लिन्छौं । दर्शक सन्तुष्ट भएमा हामीलाई अरु कुराले फरक पर्दैन ।

चलचित्रको ट्रेलरले त राम्रो प्रतिक्रिया पाएन नि । किन कमजोर ट्रेलर फ्याँक्नुभएको ?

कमजोर छ भन्ने मान्दिनँ । ट्रेलर पहिलेजस्तो छैन भनिरहेका छन् । तर, पहिले पनि हाम्रो कुनै पनि चलचित्रका ट्रेलरले प्रशंसा पाएका छैनन् । तर, चलचित्र दर्शकले मन पराए । ट्रेलर हिट भएर चलचित्र फ्लप हुनु भन्दा यही ठीक छ । भोलि चलचित्र हेरिसकेर दर्शकले राम्रो प्रतिक्रिया दिएनन् भने चाहीँ त्यो हाम्रोलागि सोचनीय विषय हुन्छ ।

– यसपालि पब्लिसिटीमा धेरै दौडधुप गर्नुभएको देखिएन । पब्लिसिटीविना पनि चल्छ भन्ने भएर हो ?

त्योभन्दा पनि नभ्याएर हो । हामीलाई जहिले पनि फिल्म रिलिजको बेला भ्याइनभ्याइ नै हुन्छ । डबिङ भन्यो, मिक्सिङ भन्यो, कलरिङ भन्यो, साउन्ड भन्यो, के के हो के के । बल्ल सेन्सर पास भयो । अब चाहिँ काम सकिएको छ ।

– अहिलेसम्म तपाईंहरूको टीमले बनाएका ८ वटै चलचित्र हिट भएका छन् । छक्कापञ्जा ४ ले त १६ हलमा ५१ दिन समेत मनायो । छक्कापञ्जा ५ प्रति तपाईंको अपेक्षा चाहीँ के छ ?

हामीले आफ्नो १०० प्रतिशत दिएका छौं । अहिले जुन प्रि-बुकिङको लहर देखिएको छ, त्यसले त हामीलाई उत्साहितमात्रै होइन कि आश्चर्यमै पारेको छ । फर्स्ट टाइम हो, हाम्रो चलचित्रमा दर्शकले यति धेरै रातो टीका लगाइदिनुभएको । प्रि-बुकिङको अनुभव नै थिएन । जति धेरै गाली, त्यति धेरै माया भन्याजस्तो भयो ।

पहिलेका चलचित्रमा त हलमै गएर टिकट काट्नुहुन्थ्यो । हिन्दी फिल्मको मात्रै प्रि-बुकिङको कुरा सुनिन्थ्यो । अहिले सबैतिरबाट आक्रामक प्रि-बुकिङको रिपोर्टहरू आइरहेको छ । यो देखेर मलाई त दर्शकको गाली पनि माया नै रहेछ भन्ने लाग्न थाल्यो । हाम्रो लागि मात्र नभएर समस्त नेपाली चलचित्र क्षेत्रकै लागि खुशीको समाचार हो यो ।

– छक्कापञ्जासँगै रिलिज हुन लागेका १२ गाउँ र ज्वाइँसाबको विषयमा के भन्नुहुन्छ ?

दुवै फिल्म चल्नुपर्छ । स्वस्थ प्रतिस्पर्धा सबै ठाउँमा जरुरी छ । उहाँहरूको पनि चलोस्, हाम्रो पनि चलोस् । बाध्यताले भिड्नुपरेको हो । अरुको नचल्दा खुशी हुने मान्छे होइनौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *