सवारी जाम र लामले सिस्नेरी बगरमा यात्रुलाई सकस – Nepal Press
हेटौँडा-कुलेखानी-काठमाडौं

सवारी जाम र लामले सिस्नेरी बगरमा यात्रुलाई सकस

हेटौँडा । कुलेखानी ड्याम खोल्दा आएको बाडीले ध्वस्त बनाएको हेटौँडा– कुलेखानी– काठमाडौँ सडक अन्तरगत सिस्नेरी सडकखन्डमा  घण्टौँ जाम पर्दै मा यात्रा गर्न यात्रु बाध्य बनेका छन् ।

कुलेखानी र सिस्नेरी खोलाको भेलले गाउँ तथा सडकलाई बगरमा परिणत गरेपछि अहिले त्यहि बगरबाट काठमाडौँ– हेटौँडामा यात्रा गर्दा यात्रुहरूले कष्ट बेहोर्नु परेको छ । सिन्धुली–काठमाडौँ जोड्ने बिपी राजमार्ग सञ्चालनमा नआएपछि उक्त सडक भएर हिँड्ने सवारीसाधन अहिले हेटौँडा–कुलेखानीको मार्ग प्रयोग गर्दै काठमाडौँ भित्रने र बाहिरिने गरेका छन् । तर, यात्रा भने निकै कष्टकर बनेको यात्रुहरूको भनाइ छ ।

बुधबार बिहान काठमाडौँबाट हेटौँडा आउँदा सिस्नेरी बगरमा करिब २ घण्टा जाममा परेर कष्टकर तवरले हेटौँडा आइपुगेको मकवानपुरगढी – ४ कि सम्झना पौडेलले बताइन । सिस्नेरी सडकलाई बाढीपहिरोले ठूलो असर गरेको अवस्थामा प्रदेश सरकारले ९ दिनपछि सामान्य मर्मत तथा ठाउँ ठाउँमा डाइभर्सन बनाएर सञ्चालनमा ल्याएको थियो ।

तर जीर्ण सडकको कारण यात्रा निकै डरलाग्दो बनेको इन्द्रसरोबरका स्थानीय सञ्चारकर्मी आशबहादुर तामाङले बताए । थकित यात्रु र सवारी चालकको लागि जाम भएको स्थानमा चिसो पानी पिउने र खाजा खाने स्थानको समेत अभाव हुँदा दशैको यात्रा जोखिमसँगै दिक्दारीपन भएको उनले बताए ।

करिब २ किलोमिटर बगरको यात्रापछि पनि धेरै ठाउँमा पहिरोले बाटो बिगारेको कारण यात्रा निकै जोखिमपूर्ण रहेको उनको भनाइ छ ।

सिस्नेरीमात्र हैन फाखेल तर्फको यात्रा पनि कठिन र जोखिमले भरिएको काठमाडौँ बाट मोटरसाइकलमा हेटौँडा आएका सुन्दर कार्कीले बताए । पहिले पहिले २ अढाई घण्टामा हेटौँडा– काठमाडौँ ओहोरदोहोर गरेको सम्झँदै कार्कीले भने , ‘ अस्तिको बाढीले त फाखेलको सडकलाई निकै ठूलो क्षति गरेको रहेछ, सडकको अवस्था निकै जोखिमपूर्ण रहेछ, बालबाल बाचेर आउनुपर्दो रैछ । ’

No description available.

सामन्यतया ३ घन्टामा पुगिने हेटौँडा–काठमाडौँ यात्रा अहिले कम्तीमा ५–६ घण्टा लाग्ने गरेको र त्यो पनि ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने रहेको यात्रुहरूको भनाइ छ । एकातिर जाम अर्कोतिर सडकको अवस्था निकै खतरनाक, र पनि दशैँमा घर जानै पर्ने बाध्यताले अहिले आम यात्रु परेसान रहेका छन् ।

No description available.

अहिले पूर्वी नेपालबाट ठूलो संख्यामा साना सवारी हेटौँडा हुँदै काठमाडौँको लागि यिनै छोटो बाटो प्रयोग गर्दै आएका छन् । जीर्ण बाटोमा सवारी चाप अत्यधिक हुँदा दुर्घटनाको जोखिम पनि बढेको छ । सडक मर्मतको लागि प्रदेश सरकारको समन्वयमा एक दुई स्थानमा एक्स्काभेटर राखिएको भएपनि त्यो पर्याप्त भने छैन ।

 

No description available.

तस्विर सौजन्य : स्थानीय पत्रकार आशबहादुर तामाङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *