रङ्गमञ्चले बदलिदिएको पवित्राको गोरेटो – Nepal Press

रङ्गमञ्चले बदलिदिएको पवित्राको गोरेटो

सात हजार तलबको लोभमा रङ्गमञ्च छिरेकी पवित्रा

‘सात हजार तलबको लोभमा रङ्गमञ्च छिरेको पनि कति चाँडो दश वर्ष भइसकेछ !’

रङ्गकर्मी पवित्रा खड्का बितेका वर्षहरू सम्झिन्छिन् । एक क्षण आँखा चिम्म गर्नु, केही सम्झिनु र आँखा खोल्नुबीचमै सकिन्छ उनको दश वर्ष !

होलसेलमा दश वर्षलाई सम्झँदाखेरि पो पवित्रालाई यस्तो लाग्ने हो । बितेका एक-एक वर्ष, एक-एक महिना, एक-एक दिन, एक-एक घण्टाको हिसाब गर्दै जाने हो भने संघर्षको छुट्टै बही तयार हुन्छ । आरोह-अवरोहलाई सुक्ष्म तवरले हेर्ने हो भने दश वर्ष सय वर्षजस्तो लाग्छ पवित्रालाई । घरिघरि उनलाई लाग्छ, ‘मेरो जीवनको ठूलो हिस्सा लगानी भएको छ यो दश वर्षमा ।’

सात हजार तलबले आकर्षित गरेपछि पुनः रङ्गमञ्च छिरेकी पवित्राको बुझाइलाई नाटकले नै फराकिलो बनाइदियो । कवि, लेखक र रङ्गमञ्चका मान्छेहरूसँग बाक्लो भेटहरू भए । नाटक गरेर सिकाइ मात्रै भएन, टिकाइ पनि भयो ।

फेरि यसो गम खान्छिन् । सोच्छिन्, ‘अहो, कति छिटो समय बितेछ । यही क्षेत्रमै भविष्य खोज्छु, जीवन खोज्छु नभनीकनै दश वर्ष कटेछ क्यार… !’

उनी फेरि रोमान्चित हुन्छिन्, ‘समग्रमा यो यात्रा रमाइलो नै छ ।’

यो दश वर्षमा २० भन्दा बढी बन्द नाटक खेलिसकिन् । बाँकी नाटकहरूका सेट डिजाइन गरिन् । लाइट डिपार्टमेन्ट हेरिन् । कचहरी नाटक लिएर देशैभर पुगिन् । ‘क्राइम पेट्रोल’ सिरिज, ‘प्रकाश’ लगायत फिल्ममा काम गरिन् ।

०००

किन नाटक खेल्दैछु ? रंगमन्चमा भविष्य बनाउन सक्छु कि सक्दिनँ ? रंगमन्चमा लागेरै जीवन चलाउन सक्छु कि सक्दिनँ ? दश वर्षअघि यी सारा सवालहरूसँग बेखबर थिइन् पवित्रा ।

योजनाबद्ध थिएन उनको रङ्गमञ्च यात्रा । रामेछापमा स्कुल पढ्दाताका नाच्ने, गाउने त हुन्थ्यो, तर अभिनयमै लाग्नेबारे कल्पेकै थिइनन् । निश्चित पेसाबाहेक अरु कामलाई पेसा मान्न तयार नै थिएन समाज (अहिले पनि छैन)। कसो कसो कल्पना समेत नगरेको क्षेत्रमा हाम फालिन् ।

अहिले आएर पवित्रालाई लाग्छ, ‘अब चाहिँ मेरो बाटो नै यही हो ।’

‘घरिघरि मलाई अर्कै पेसा लिनुपर्छ होला, यहाँ बाँच्न सकिँदैन भन्ने लाग्थ्यो । गत वर्ष तीन-चार महिना डेनमार्कमा थिएटर गरेर आएँ । त्यहाँको कलाकार सडकमा केही गरेर पनि जीवन चलाइरहेका छन् । मेरो देशमा त कति धेरै सम्भावना छ भन्ने लाग्यो,’ पवित्रा रङ्गमञ्च भन्छिन्, ‘अहिले त म थिएटरमा ट्रेनरको रूपमा काम गर्न सक्छु । नाटक निर्देशन गर्न सक्छु । कस्ट्युम डिजाइन गर्न सक्छु । साउन्डको काम गर्न सक्छु । सेट डिजाइन गर्न सक्छु । लाइट डिपार्टमेन्ट हेर्न सक्छु । अहिले त म मजाले बाँच्न सक्छु जस्तो लाग्छ ।’

पवित्रा नाटक भनेर मात्रै बस्दिनन् । फिल्म पनि खेल्छिन् । भरत नाट्यम र नेपाली शास्त्रीय नृत्य सिकेकी छन् । नृत्य पनि सिकाउन सक्छिन् । बितेको दश वर्षमा हर तरहले जीवन निर्वाहका लागि आफूलाई बहु आयामिक बनाएकी छन् ।

०००

पवित्राको नाट्य क्षेत्रमा प्रवेश पनि नाटकीय छ ।

उनी जन्मनुभन्दा दुई महिना अगावै बुवाको मृत्यु भयो । रामेछापमा आमासित हुर्किइन् । माओवादी द्वन्द्व चरमोत्कर्षमा थियो । विद्यालयहरू धमाधम बन्द हुन थालेका थिए । हुँदा हुँदा पवित्राको पनि स्कुल पनि बन्द भयो । पवित्राजस्ता थोरै हुर्केका विद्यार्थीलाई जबरजस्ती माओवादीहरूले लिएर जान्थे ।

काठमाडौंमा सानिमा थिइन् । पवित्रा सानिमाको शरणमा आइपुगिन् । काठमाडौंबाटै एसएलसी दिइन्, २०६४ सालमा । त्यो समय एसएलसी दिएकाहरूले तीन महिने कम्प्युटर सिक्थे ।

आउँदा दिनमा के गर्ने ? पवित्रासित कुनै योजना थिएन । न त भविष्यबारे नै सोचेकी थिइन् । कुन रङ मन पर्छ । कुन खाना मन पर्छ भन्ने नै थिएन । उमेर पुगेपछि विवाह गर्नुपर्छ भन्ने समाजमा हुर्किइन् ।

यहीबीचमा सानिमालाई झुट बोलिन्, ‘कम्प्युटर सिक्छु ।’ अनि एक साथीको पछि लागेर डिल्लीबजारमा नृत्य सिक्न गइन्, राजश्री डान्स सेन्टरमा । त्यहीँ पुगेपछि थाहा पाइन्, कति साथीहरू त अभिनय पनि सिक्दा रैछन् !

पवित्रालाई पनि लाग्यो, ‘अभिनय सिकेर के हुँदो रहेछ, सिकौं न त ।’

दुई-चारजना साथीहरूको पछि लागेर पवित्रा पुरानो बानेश्वरस्थित एमआर्ट थिएटर पुगिन् । त्यहाँ वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमालले अभिनय सिकाए । साथै वीरेन्द्रले फिल्म पनि बनाए, ‘सारङ्ग’ । यस फिल्ममा प्रहरीको भूमिका पनि पाइन् पवित्राले । यद्यपि यो फिल्म अहिलेसम्म प्रदर्शन भएको छैन ।

पवित्राले नाटक सिक्छ भनेर घरमा थाहा भएको थियो । एमआर्ट थिएटरमै रङ्गकर्मी रामबाबु रेग्मीसित पवित्राको भेट भयो । रामबाबुले भने, ‘शिल्पी थिएटरमा कलाकार खोजिरहेको छ, नाटक खेल्ने भए जानू ।’

पवित्रा लगायत तीन-चारजनाले हात उठाए । जानेवाला चाहिँ पवित्रा एक्लै परिन् । शिल्पी थिएटर अहिलेजस्तो ठूलो थिएन । सानो हल थियो । त्यहाँ यात्रा नाटक ‘काँचो माटो’का लागि कलाकार खोजेका रैछन् ।
दुर्भाग्य ! पवित्रा आउनुभन्दा पहिला नै एकजना केटी पुगिसकेकी रैछन् । उनैलाई नाटक टिमले लिइसकेछ ।

घिमिरे युवराज काठमाडौं बाहिर थिए । शिल्पीमा लुनिभा तुलाधार, जीवन बराल थिए । उनीहरूले पवित्रालाई भने, ‘यो नाटकमा नभएर केही हुँदैन । अर्को नाटकमा बोलाउँछौँ ।’

अलि पछि ‘के लग्यो हल्का(छाल)ले’ नाटकका लागि पवित्रालाई बोलाइयो । त्यो कचहरी नाटक गरिन् ।

घरका मान्छेले ‘नाटक नगर’ भनेर दबाब दिइरहेको थियो । पवित्रासित पनि भविष्यबारे कुनै योजना थिएन । अनि तीन-चार महिना जागिर छाडिन् । यो बीचमा भाटभटेनी सुपरमार्केट, कलंकीमा सेल्स गर्लको जागिर सुरु गरिन् । दैनिक १२ घण्टा काम गर्थिन् ।

तलब थियो, सात हजार ।

एक दिन घिमिरे युवराजले फोन गरेर भने, ‘तिमीलाई भाटभटेनीले दिएको स्यालरी शिल्पीले नै दिन्छ आऊ !

पवित्रा सुनाउँछिन्, ‘मलाई पैसाले म्याटर गर्‍यो । रङ्गमञ्च, साहित्य बुझ्ने भन्दा पनि शिल्पीले नाटक गरेर पैसा दिन्छ भन्ने कुराले शिल्पीको होस्टेल बस्न थालेँ ।’

०००

पवित्रालाई अहिलेसम्म आमाले सोधेकी छैनन्, ‘नाटक भनेको के हो ?’

पवित्रा खेलेको नाटक आमाले हेरेकी छन् । अरुले ‘कस्तो लाग्यो’ भनेर सोध्दा आमाको जवाफ हुन्छ, ‘राम्रो लाग्यो ।’

‘तपाईँ छोरीको कामले खुसी हुनुहुन्छ ?’

आमाको जवाफ हुन्छ, ‘अँ ।’

जे होस्, पवित्राले तय गरेको बाटोमा आमा खुसी छन् । पवित्रा त खुसी हुने भइहालिन् । उनी शिल्पीको पहिलो ब्याच हुन् । उनका ब्याचमेटहरु रेनुका कार्की, आरके मेहता, सरिता शाह, प्रियंका झा, किरण चाम्लिङहरू सबैले आ-आफ्नै बाटो पक्रिएर हिँडे । उनी चाहिँ शिल्पीमै निरन्तर काम गरिरहेकी छन् ।

पवित्रालाई सहयोग गर्ने राजु शाह, वीरेन्द्र, रामबाबु, लुनिभा, जीवनहरू पनि आ-आफ्नै बाटोमा छन् । जीवनले पूर्वतिर थिएटर खोलेका छन् अहिले । पवित्राको यात्रामा उनीहरू कहीँ कतै छुटे । वा उनीहरूको यात्रामा पवित्रा कहीँ कतै छुटिन् । अहिले पवित्रालाई लाग्छ, ‘एक मान्छेले अर्को मान्छेका लागि पुलको काम गरिदिँदो रहेछ ।’

०००

यो यात्राको बीच पवित्राले सम्झिइरहने कचहरी नाटक हो, ‘कल्पना उर्मिला’ ।

सात/आठ वर्षअघि यो नाटक लिएर पवित्राहरू ३५ दिन सुदूरपश्चिम र कर्णालीको यात्रामा निस्किए । उनले कर्णालीको समाज देखेकी थिइनन् । भाषा बुझ्दिन थिइन् । यही नाटक लिएर जाँदा पवित्रा त्यो समाजसँग यसरी नजिक भइन् कि उनको बुझाइको दृष्टिकोण नै बदल्यो ।

‘त्यो समाजमा पुग्नु अगाडि मलाई लाग्थ्यो, मेरो जत्तिको पीडा अरु कसैको छैन । किनभने म त बिचरा जस्ती थिएँ । सबैले टुहुरी भन्थे । यस्तो बिचरा भएर हुर्किएको भन्थे । तर, कर्णाली र सुदूरपश्चिम पुगेपछि लाग्यो, मेरो दुःख त केही होइन,’ पवित्रा सुनाउँछिन् ।

घरिघरि मलाई अर्कै पेसा लिनुपर्छ होला, यहाँ बाँच्न सकिँदैन भन्ने लाग्थ्यो । गत वर्ष तीन-चार महिना डेनमार्कमा थिएटर गरेर आएँ । त्यहाँको कलाकार सडकमा केही गरेर पनि जीवन चलाइरहेका छन् । मेरो देशमा त कति धेरै सम्भावना छ भन्ने लाग्यो

सात हजार तलबले आकर्षित गरेपछि पुनः रङ्गमञ्च छिरेकी पवित्राको बुझाइलाई नाटकले नै फराकिलो बनाइदियो । कवि, लेखक र रङ्गमञ्चका मान्छेहरूसँग बाक्लो भेटहरू भए । नाटक गरेर सिकाइ मात्रै भएन, टिकाइ पनि भयो ।

पवित्रा सुनाउँछिन्, ‘झनै कल्पना उर्मिला त मेरो थिएटर यात्राको टर्नसङ प्वाइन्ट नै भयो । मैले चाहेको जीवन यतै छ भनेर मलाई यही नाटकले टर्न गरिदियो ।’

यो बीचमा उनले घिमिरे युवराजले लेखेको, प्रवीण खतिवडाले निर्देशन गरेको ‘विमोक्ष गरिन् । उनलाई याद भइरहने नाटकहरू ‘नो एक्जिट’, ‘हिउँको पृथ्वी यात्रा’, फ्रेन्च नाटक ‘झलेन्द्र प्रसादको लीला’ लगायत हुन् ।

०००

बन्द नाटक गर्नुको मजा छँदै छ । सँगै खुल्ला नाटक गर्दा पवित्रालाई बेग्लै आनन्द मिल्छ । खुल्ला नाटक थिएटरमा सेट डिजाइन गरेर बनाइएको बन्द नाटकजस्तो हुँदैन । यसको पहिलो चुनौती त दर्शक जम्मा गर्नु हो ।

गाउँलेहरू खेतबारीमा व्यस्त हुन्छन् । उनीहरूलाई कामबाट निकालेर नाटक हेर्न कन्भिन्स गर्नु अर्को चुनौती हो । उनीहरूले नाटक हेरेकै हुँदैनन् । त्यस्ता दर्शकलाई नाटक देखाएर अनेक मुद्दाहरूमाथि बहस गर्नु आफैँमा चुनौती हो । यी चुनौतीहरूलाई जितेर नाटक देखाउन पाउँदा पवित्रालाई आनन्द लाग्छ ।

कचहरी नाटक सडक नाटकमा जस्तो संवादै संवाद पनि हुँदैन । संवाद बढी भएमा कचहरी नाटक प्रभावकारी पनि हुँदैन । बन्द नाटकमा जस्तो स्टेज, लाइभ म्युजिक, लाइट लगायत केही हुँदैन ।

‘हामी गाउँमै भएका वस्तुहरू राखेर कसरी आकर्षण ल्याउने भनेर योजना बनाउँछौँ । गाउँको दैनिक जीवनमा जनावरको भूमिका हुन्छ । बाख्रा, कुखुराहरूसँग नजिक हुन्छन् गाउँलेहरू । कुर्सी टेबलहरूलाई कसरी संवादमय बनाउने भनेर काम गर्छौँ,‘ पवित्रा सुनाउँछिन्, ‘यदि समुदायको मान्छेलाई नाटकमा बाँध्ने हो भने उनीहरूको अट्याचमेन्ट भएको कुरालाई जोडेर नाटक बनाउनुपर्छ ।’

त्यसैले रंगमन्चमा प्रवेश गर्न खोजिरहेको नयाँ भाइबहिनीलाई पवित्राको सुझाव छ, ‘थिएटरमा काम गर्न तयार साथीहरू जो जो हुनुहुन्छ, आउनुस् । तर, तीन महिना अभिनय सिकेर सिनेमामा जान्छु, अन्त भविष्य खोज्छु भनेर आउनुभयो भने चाहिँ काम छैन । सिनेमामा जाने कुरा स्वतन्त्रताको कुरा भयो । तर, यही क्षेत्रमा भविष्य खोज्न चाहनुहुन्छ भने धैर्यता र लगनशीलता चाहिन्छ । म त यति भन्छु कि रंगमन्चमा भविष्य छ ।’

०००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *