तस्बिरमा यस्तो देखियो टुँडिखेलको फूलपाती बढाइँ – Nepal Press

तस्बिरमा यस्तो देखियो टुँडिखेलको फूलपाती बढाइँ

काठमाडौं । बडादशैँ अन्तर्गत फूलपातीका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगाएत सहभागी थिए । समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो ।

सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा तथा तोपबाट बढाइँ गरेको थियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो ।

यसैबीच गोरखा दरबारबाट पठाइएको फूलपाती वसन्तपुरस्थित दशैँघरमा बाजागाजासहित भित्र्याइएको छ ।

गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *